– डा शिवशङ्कर यादव

पाठकवृन्द ! गताङ्कमा नार्सिसिस्टिक पर्सनालिटी डिजार्डरसम्म पुगेका थियौं। अब त्यसपछि–

७ ः भावनात्मक अस्थिर व्यक्तित्व विकार वा इमोशनली अनस्टेबल पर्सनालिटी डिजार्डर ः जसरी यसको नामले नै थाहा हुन्छ कि यो भावुकताको बिमारी हो, जसमा भावुकताले व्यक्तिमा एउटा संवेग पैदा गर्छ, जसको वशीभूत मान्छे परिणामको कुनै विचार नगरी कार्य गर्छ। यो दुई प्रकारको हुन्छः इम्पल्सिभ र बोर्डरलाइन टाइप। इम्पल्सिभमा मानिस आफ्नो आलोचना सहन गर्नै सक्दैन। आलोचनाको विरोधमा यस्तो शक्तिशाली इम्पल्स पैदा हुन्छ, जसलाई रोगीले आफ्नो वशमा पार्न सक्दैन। त्यो संवेग क्रोधावेशमा बदलिन पुग्छ, जसले गर्दा मानिसले हिंसात्मक र थर्काउने खालको व्यवहार गर्छ। बोर्डरलाइनमा अस्थिर भावुकता त हुन्छ नै, मानिसको छवि, लक्ष्य र उसको सेक्सलगायत सबै लक्षण अस्पष्ट र विशृङ्खलित हुन्छ। यसमा मानिस लामो समयसम्म खालीपन महसूस गर्छ। कडा र अस्थिर खालको सम्बन्धले मानिस घरीघरी समस्यामा पर्छ। रोगी आत्महत्या र विनाकारण अरूलाई नोक्सान पु–याउन उद्धत रहन्छ। बोर्डरलाइनका लक्षण निम्नलिखित छन्ः उल्लेखनीय र हरदम कायम रहने पहिचानको गडबडी र जीवनको ठूलो मुद्दामा पनि उल्लेखनीय अनिश्चितता। उद्दण्ड, अस्थिर र आवेगात्मक क्रियाकलाप। अस्थिर आवेग रूप बदलेर क्रोधमा विस्फोट हुन्छ। यसमा मानिस खालीपन महसूस गरेर एक्लै बसिरहन्छ। यसको अलावा आफैंलाई नोक्सान गर्ने प्रवृत्ति, आत्महत्या र दुर्घटनातिर बढी झुकाव पनि हुन्छ। यसको उप–प्रकारः गतिशील सिजोफ्रेनिया र स्युडो अथवा झूटो न्युरोटिक सिजोफ्रेनिया पनि आउँछ, जुन पहिले सिजोफ्रेनियाको उप–प्रकार मानिन्थ्यो। यिनैलाई आजकाल बोर्डरलाइन पर्सनालिटी डिजार्डरको उप–प्रकारमा राखिएको छ। यसमा नार्सिसिस्टिक र एन्टिसोशल पर्सनालिटी डिजार्डरका लक्षण पनि मिसिएको हुन सक्छ। यसको उपचारमा पनि त्यही साइकोएनालिटिक साइकोथेरापी र सपोर्टिभ साइकोथेरापी गरिन्छ। यसमा रोगीमा अक्सर कडा खाले डिप्रेशन देखिन्छ, जसको लागि एन्टिडिप्रेसेन्टले कसैकसैमा राम्रो काम गर्छ।

८. एभ्वायडेन्ट पर्सनालिटी डिजार्डरः यसलाई एंक्सियस पर्सनालिटी डिजार्डर पनि भनिन्छ किनभने यसबाट ग्रसित मानिसमा चिन्ता र परेशानीको लक्षण पनि देखिन्छ। यहाँ पनि निम्नलिखित लक्षणहरूमा कुनै तीनको उपस्थिति आवश्यक छः व्यापक र निरन्तर तनाव र भय, यो विश्वास कि सामाजिकरूपले अनुचित, अनाकर्षक र निम्न स्थानमा छु, आलोचित र सामाजिक बहिष्करणमा पर्ने कुराप्रति पूर्वधारणा बनाइरहने। जबसम्म कसैले रुचाउने वाचा गर्दैन, तबसम्म जनसमक्ष उपस्थित हुन नचाहने, असुरक्षाको भावनाले जीवनवृत्ति सीमित पार्ने, असुरक्षा, असहमति र बहिष्करणको डरले सामाजिक कार्य, नोकरी र व्यापारको उपेक्षा, जसले गर्दा व्यक्तिगत सम्बन्धमा उल्लेखनीय कमी हुने आदि।

यस्तो अवस्थामा आलोचना र बहिष्कारको डरप्रति रोगी बढी संवेदनशील हुन्छ। जबसम्म रोगी निश्चित हुँदैन कि उसको आलोचना हुँदैन, तबसम्म सम्बन्ध बनाउने काममा ध्यान दिंदैन। यसलाई वास्तवमा इन्फेरियरिटी कम्प्लेक्सको सङ्क्षिप्त रूप भन्न सकिन्छ। यसको उपचारमा व्यक्तिगत र ग्रुप साइकोथेरापी तथा व्यवहार थिरेपी मुख्य हुन्।

९. डिपेन्डेन्ट वा गुलाम पर्सनालिटी डिजार्डरः

यसको नामले नै ध्वनित हुन्छ कि यसमा रोगी अरूको गुलाम वा मुखापेक्षी हुन्छ। यसका निम्नलिखित लक्षण हुन्, जसको निदानका लागि तीन चीजको उपस्थिति अनिवार्य हुन्छ, यथाः आफूसम्बन्धी निर्णयमा पनि अरूलाई मन्जुरी दिने। अत्यावश्यक जरुरतको परिपूर्तिको लागि पनि अरूको सहयोग खोज्ने र आफ्नो इच्छापूर्तिका लागि अरूलाई अनुनय–विनय गर्ने। जनताको मागमा अनिच्छुक रहने र अपहेलना गर्ने। एक्लै बस्दा असुरक्षाको भयले असहज महसूस गर्ने। निकट सम्बन्धी जो रोगीको देखभाल गर्छ, उसले छोडिदिन्छ भन्ने पूर्वअनुमान गरेर भयभीत हुने। अरूको सल्लाह र बारम्बार विश्वास नदिलाए दैनन्दिनको निर्णय पनि लिन नसक्ने आदि। यसमा मानिसको कुनै पनि प्रस्तुति धेरै असहाय र अक्षम हुनुका साथै उसको उत्साहमा प्रशस्त कमी देखिन्छ। यसमा एभ्वायडेन्ट र नार्सिसिस्टिक पर्सनालिटी डिजार्डरका लक्षण पनि मिसिएका हुन्छन्। रोगीले अरूसँग सम्बन्ध बनाए पनि उसको परिणाम दण्डात्मक हुन्छ। यसको उपचार व्यक्तिगत र ग्रुप थेरापी तथा व्यवहार थेरापी तथा सकारात्मक प्रशिक्षण नै हो। यसमा उपचारले राम्रो परिणाम दिन्छ। 

१०. अब्सेसिभ कम्पल्सिभ पर्सनालिटी डिर्जाडर ः

यसलाई एननकास्टिक डिजार्डर पनि भनिन्छ। एननकास्टिक ग्रीक शब्द  एननकास्टोसबाट आएको हो, जसको अर्थ हुन्छ फोर्सफुल वा बढी बल लगाउने। यसको मतलब यसको रोगीमा कडा लक्षण देखिन्छ, जसमध्ये कुनै तीन हुनु आवश्यक हुन्छ, यथाः आवश्यकताभन्दा बढी शङ्कालु र सावधान रहनु। कुनै नियम, सूचीक्रम वा समयसूचीप्रति पूर्वाग्रह राख्नु। आवश्यकताभन्दा बढी शुद्धता खोज्नु जसले गर्दा कुनै पनि काम पूरा हुँदैन। आफूलाई अत्यधिक विवेकवान् ठान्ने, अत्यधिक संशयशील र अनावश्यक पूर्वाग्रही हुने जसले गर्दा सुखद सम्बन्धमा पनि रोकावट आउँछ। अत्यधिक मिथ्याभिमान तथा कुनै पनि सामाजिक समारोहमा टाँसिइरहन जिद्दी गर्ने। जिद्दीपन र कठोरता। अरूले उसको तरीका प्रयोग गरेको छ भने जिद्दी गरेर विनाकारण काम गर्न स्वीकृति नदिने। यो अब्सेसिभ कम्पल्सिभ डिजार्डरले ग्रसित व्यक्तिमा र धेरैजसो पुरुषमा देखिन्छ, जसमा कडा डिप्रेशनले पनि च्यापेको हुन्छ। यसमा रोगीको इन्साइट उपस्थित हुने हुँदा उपचार गराउन आफैं चिकित्सककहाँ आउँछ। यसको उपचार साइकोएनालिसिस र ग्रुप थेरापी हो।

११. पैसिभ एग्रेसिभ डिजार्डर अथवा निष्क्रिय क्रोधावस्था र व्यक्तित्व विकृतिः

निष्क्रिय क्रोध भनेको के हो ? एउटा महिला लोग्नेसँग रिसाउँछे तर पिट्न थाल्छे बच्चाहरूलाई। सासू बुहारीसित रिसाउँछे तर थर्काउन थाल्छे छोरीलाई। गाँधी विद्रोह त अङ्ग्रेजको गर्छन् तर अनशन बस्छन् आफ्नै शरीरविरुद्ध। शिक्षकले प्रधानाध्यपकको रिस कक्षाका विद्यार्थीलाई कुटेर निकाल्छ। कर्मचारी आफ्नो माग मुर्मुरिएर, काममा ढिलासुस्ती देखाएर पूरा गराउन खोज्छ। पति–पत्नीबीच बोलचाल बन्द छ। कुनै कुरा आफूले नभनेर छोराछोरीबाट भन्न लगाउँछन्। यही हो निष्क्रिय आक्रामकता, जसमा एग्रेशन वा आक्रामकतालाई भित्रै दबाएर व्यक्त गरिन्छ। यस प्रकारको विवरण सर्वप्रथम १९६७ मा आर स्पिलेजले उद्घाटन गरेका थिए। यसलाई पर्सनालिटी डिजार्डरमा सूचीबद्ध गरिएको छैन तर हो पर्सनालिटी डिजार्डर नै। यसका निम्निलखित लक्षण छन्ः निरन्तर र उलेख्यरूपले आफ्नो माग पूरा गराउन परोक्ष प्रतिरोध गर्ने। जानीबुझी अटेर गर्ने, आफूलाई अक्षम देखाउने, विलम्ब र ढिलासुस्ती गर्ने, अन्यायिक विरोध गर्ने, बिर्सेको ढोङ गर्ने आदि लक्षणलाई आफ्नो लक्ष्यप्राप्तिको औजार बनाउने। यी लक्षणलाई डिपेन्डेन्ट पर्सनालिटी डिजार्डरका लक्षणले छोपेको हुन सक्छ। यसका साथै यस्ता रोगीमा सेकेन्ड्री डिप्रेशन पनि हुन्छ। सपोर्टिभ, ग्रुप थेरापी र सीप तथा सकारात्मक प्रशिक्षण यसको उपचार हो।

पाठकवृन्दले सम्झना गर्नुपर्ने बेला आएको छ कि गताङ्कमा उपरोक्त सबै स्पेसिफिक पर्सनालिटी डिजार्डरका प्रकारको वर्णन गरियो। अब दोस्रो प्रकारको वर्णनमा आउनुस्, जसको नाम हो एन्ड्युरिङ वा खप्न सक्ने पर्सनालिटी डिजार्डर। यसको वर्णन र प्रकार स्पेसिफिकजस्तो ठूलो छैन। यसमा मानिस पहिलेदेखि कुनै पनि पर्सनालिटी डिजार्डरबाट ग्रसित हुँदैन, बरु उसको परिवर्तित चालढाल कुनै विप्लव, भयानक विपत्ति वा लामो समयसम्म तनावमा रहेपछि मात्र हुने पर्सनालिटी डिजार्डर हो, जसले पहिलेदेखि रोग नभएका मानिसलाई पनि ग्रस्त पार्छ। यो मानसिक रोगमा नयाँनयाँ सूचीबद्ध भएको डिजार्डर हो। क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here