हिन्दूहरूको ठूला चाडपर्व सकिएको छ। दशैं, तिहार र छठ हालै सकिएको हो। यसो त हिजो हरिबोधनी एकादशी थियो। तुलसी पूजा अर्थात् ठूलो एकादशीको रूपमा हिन्दूहरूले तुलसीको पूजा गरेर पर्व मनाए। छठ पूजा सकिएको चौथो दिन हिजो हिन्दुहरूले तुलसीमठ रङ्गरोगन गर्ने, विभिन्न धार्मिक नारा लेख्ने, अनि तुलसीमठलाई साजसज्जा पारेर बेलुकी तुलसीको पूजा गरेर ठूलो एकादशी मनाए। दशैं, तिहार र छठ पर्व ठूलो उत्साह र उमङ्गका साथ मनाउने गरिन्छ। अब आउने पर्वहरू मकर सङ्क्रान्ति र फागु पूर्णिमा हुन्। माघ र फागुन महीनामा पर्ने यी चाडहरू आउन अहिले केही महीना बाँकी छ। पर्वले मानिसहरूमा ऊर्जा प्रदान गर्छ। सधैंभरि कामकाजमा अल्झिएकाहरूलाई पर्वले आनन्द प्रदान गर्छ। पर्व भनेको परिवार मिलनको एउटा अवसर पनि हो।

प्रायःजसो मानिसहरू रोजगारको लागि गाउँबाट शहर, शहरबाट विदेश जाने क्रम बढ्दो छ। बेरोजगारी समस्याले हाम्रा देशका लाखौं युवा अहिले वैदेशिक रोजगारमा गएका छन्। हिमाल, पहाड, तराई सबै क्षेत्रबाट रोजगारका लागि विदेशिने क्रम बढ्दो छ। देशमा रोजगार नपाएर घरपरिवार चलाउन नसक्ने अवस्थाका वैदेशिक रोजगारमा जानुको अर्थ बुझिन्छ तर यसको अलावा शुरूदेखि नै नेपालका हुनेखानेहरू विदेश जाने र त्यहीं घरजम गरेर बस्ने क्रम पनि निकै बढेको छ। अहिले जति जनसङ्ख्या देशमा छ, त्यसको आधा जति भारतमा र त्यसको आधा अन्य देशमा छन्। भारतमा बस्ने ९० प्रतिशत नेपाली रोजगारको खोजीमा गएका हुन्। भारतबाहेकका देशहरूमा नेपाली युवा रोजगारमा जाने क्रम विगत केही दशकदेखि निकै बढेको छ। देशमा रोजगार गुमेको र नयाँ रोजगारका अवसरहरू नपाएपछि विदेशिने क्रम बढेको हो भने अर्काे श्रमको उचित पारिश्रमिक नपाउनु र यहाँ पाउने पारिश्रमिकको तुलनामा विदेशमा बढी पाउनु पनि कारण हो। पछिल्लो समयमा तराई क्षेत्रबाट पनि विदेशिने क्रम बढेको छ। यसअघि हिमाल र पहाडबाट औसतमा बढी मानिसहरू विदेशिने गर्थे। तर यहाँ बसेर जतिसुकै परिश्रम गर्दा पनि लछारपाटो नलागेको तर विदेश गएकाहरूले भने मासिकरूपमा पठाउने रकमबाट घर खर्च, बालबच्चाको अध्ययन अनि गरगहना, जग्गालगायतका सम्पत्ति पनि जोडिने भएपछि पछिल्लो समयमा तराईबाट पनि वैदेशिक रोजगारका लागि मलेशिया, कतार, दुबई, साउदी अरबलगायतका देशहरूमा जाने क्रम बढेको हो।

अदक्ष जनशक्ति यी देशहरूमा श्रमका लागि गइरहेका छन् भने दक्ष जनशक्ति अध्ययन, भ्रमण भिसाको नाममा अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडालगायतका देशहरूमा जाने क्रम पनि उत्तिकै छ। नेपालमा छात्रवृत्तिका लागि तँछाडमछाड गर्ने अनि विदेशमा लाखौं लाख खर्चिएर विश्वविद्यालयहरूमा नाम दर्ता गराउने नेपाली शैलीबाटै प्रस्ट हुन्छ कि उनीहरू अध्ययन कम रोजगारका लागि गइरहेका छन्। हो, यसरी विदेशमा रोजगारका लागि बस्नेहरूको लागि अहिले चाडपर्व मिलन समारोह बनेको छ। कोही कुन चाडमा त कोही कुन चाडमा बिदा मिलाएर परिवारसँग भेटघाट र रमाइलो गर्न आइपुग्छन्। चाडपर्वमा परिवार मिलन र खुशियाली जीवन व्यतीत गरेरै थोरै समयका लागि पनि आनन्दको अनुभूति गरेर फेरि आफ्नो कर्मथलोमा पुग्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here