प्रस, पोखरिया, ३० कात्तिक/
चाडपर्वको समयमा ग्रामीण क्षेत्रमा तस्करी फस्टाएको छ । सुरक्षाकर्मीको मिलेमतोमा तस्करहरूले पर्साका ग्रामीण क्षेत्रबाट तस्करी गरिरहेका छन् ।
सीमा सुरक्षा गुल्म लहावरथकरी, पोखरिया, सीमा सुरक्षा गुल्म भिखमपुर, सीमा सुरक्षा गुल्म सुवर्णपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तथा मातहतमा रहेका बिओपी इन्चार्ज (प्रहरी निरीक्षक)हरूले आर्थिक प्रलोभनमा परेर तस्करीलाई छुट दिएको बताइन्छ ।
अहिले ग्रामीण नाकाबाट कपडा, काजु, धान, कबाडका सामान, किराना सामग्री, हार्डवेयर, मोबाइलका पाट्र्स, चिनियाँ स्याउलगायत विभिन्न वस्तुको तस्करी भइरहेको छ ।
सशस्त्र सीमा सुरक्षा गुल्म सुगौली (अलौं)को मातहत पर्ने अमरपट्टी बिओपी नाकाबाट ठूलो परिमाणमा कबाडका सामान सीमापारि जाने गरेको छ ।
त्यस्तै, जानकीटोला हुँदै कपडा, भैंसी, धानलगायत विभिन्न सामग्रीको तस्करी भइरहेको छ । त्यस्तै, भिस्वा नाकाबाट कपडा, किरानाका सामानको तस्करी भइरहेको छ ।
केही दिन पहिला बिओपी भिस्वाका प्रमुखले तस्कर सतरोहन साहको डेढ लाख मूल्यको कपडा बरामद गरे पनि ४० हजार घूस लिएर कम दामका कपडाको बढी मोल राखी केही कपडा भन्सार बुझाएको र केही कपडा तस्करलाई जिम्मा लगाएको बताइन्छ । त्यस्तै, प्रसौनीभाठा नाकाबाट तस्कर सर्वदेवले कपडा तस्करी गरिरहेका छन् भने सोही नाकाबाट प्लाइउडको पनि तस्करी भइरहेको छ ।
अमरपट्टी नाकाबाट टुना, सञ्जय, रूपेश, तारकेश्वरलगायत तस्करहरूले कपडा, धान, कबाड, रजनीगन्धाको तस्करीको लाइन पाएका छन् । अलौं नाकाबाट बटर, बर्थडे केक बनाउने क्रिम तथा त्यसको पाउडर, महँगा चकलेट, स्टेशनरी सामग्री, लुब्रिकेन्ट, हार्डवेयरजस्ता वस्तुको तस्करी हुने गरेको छ । त्यस्तै, एकजना तस्करले कबाडको नाममा ब्याट्री भारत तस्करी गरिरहेको समाचार स्रोतको दाबी छ ।