प्रस, पोखरिया, ३० कात्तिक/
नेपाली काङ्ग्रेस नगर कार्यसमितिले बिहीवार पोखरियामा दीपावली तथा छठको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सांसद अजय चौरसियाले कोरोनाकालपछि देश अहिले सङ्कटको घडीबाट गुज्रिरहेको बताए । उनले तानाशाही पञ्चायती व्यवस्थालाई परास्त गरी देशमा लोकतन्त्र स्थापना भएको बताए । उनले सङ्घीयता र देशको रक्षाको लागि नेका सदैव तत्पर रहेको बताए ।
कार्यक्रमका अन्य वक्ताहरूले गठबन्धन ठगबन्धन भएकोले आगामी दिनमा नेकाले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिए । उनीहरूले करोडौं मूल्यका सुन तस्करी हुने देशमा गरीब जनताले सीमापारिबाट घरायसी प्रयोजनका सामान ल्याउँदा दुःख पाउनुपर्ने विडम्बना रहेको बताए । वक्ताहरूले किसानलाई मलखाद, बीउबिजन दिन बजेट नभए पनि पालिका प्रमुखहरूले सवारीसाधनमा लाखौं खर्च गरिरहेका, वनभोज, वैवाहिक कार्यक्रम, भ्रमण आदिमा व्यस्त भएर जनताका समस्या सुन्ने नगरेको बताए ।
नगर अध्यक्ष रामबाबू चौहानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, प्रदेश सांसदद्वय जनार्दन सिंह क्षत्री र श्याम पटेल, जिल्ला उपसभापति रामनारायण कुर्मी, पटेर्वासुगौली गापाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, विवेक चौरसिया, नितेन्द्र साह, दीपनारायण रौनियार, ललन द्विवेदी, जसपाका नेता खलिल मियाँ, माओवादीका नगर अध्यक्ष पन्नालाल पटेल, वडाध्यक्ष विजय गैरे, लछुमन साह, किशोरी साह, परमानन्द कुर्मी, प्रहरी उपरीक्षक डा लालबाबू गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शुभलाल साहले गरेका थिए ।