प्रस, निजगढ, ३० कात्तिक/

निजगढ नगरपालिका–८ बकैयाटोल खयरघारीमा सामान्य विवादपछि स्थिति तनावग्रस्त हुँदा प्रहरीले हवाई फायर गरी घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

केही दिनअघि सोही वडाका शिवप्रसाद दाहालको ८० बिघा खेतको धानको कुन्यूमा आगलागीबाट पराल जलेर नष्ट भएपछि कसले आगलागी गरेको भन्दै राति खोजी गर्ने क्रममा दाहालका २९ वर्षीय छोरा अगमप्रसाद दाहाल र राति देउसी हेरर दाहालकै घरको बाटो भएर घर फर्कंदै गरेका सोही वडा सुकुमबासीबस्ती खयरघारीका केही युवाहरूसँग भनाभन भएपछि सो घटनाले ठूलो रूप लिएको थियो ।

पहिले ती युवाहरूले दाहालमाथि बियरको बोतल प्रहार गरेपछि दाहालले सोही बोतल खोसेर अर्को पक्षका युवालाई प्रहार गर्दा २२ वर्षीय समीर तामाड्ढो घाटीमा गम्भीर चोट लागेपछि घटनाले उग्ररूप लिएको स्थानीयको भनाइ छ । बोतल प्रहार गर्ने दाहाल आफ्नै घरभित्र लुकेपछि घाइते समीर पक्षका भीड आक्रोशित हुदै ढुङ्गामुढा प्रहार गर्दा दाहालको पक्की घरका ढोका, सटर, झ्याललगायतमा क्षति पुगेको निजगढ प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी सहायक निरीक्षक रामचन्द्र यादव नेतृत्वको टोलीमाथि नै आक्रोशित स्थानीय जाई लागेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो । तत्कालै इप्रका, निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेसका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दिनेश शर्माको संयुक्त टोली पुगी स्थितिलाई नियन्त्रणमा लिएको थियो । एक सयभन्दा बढी स्थानीयले दाहालको घर घेर्दा स्थिति तनावग्रस्त बन्न पुगेको टोलका स्थानीय बताउँछन् ।

 “प्रहरीले एक खालको बस्तीमा भाइटीकाको दिन बिहीवार राति डेढ/दुई बजेसम्म कफ्र्यू जस्तै लगाएपछि बल्ल स्थिति नियन्त्रणमा आएको भन्दै आफू यहीं जन्मेर ५५ वर्ष पुगें । यो टोल, बस्तीमा यस्तो घटना कहिल्यै भएको थिएन,” उनले भने ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले राति नै सोही वडाको खयरघारीका २० वर्षीय निशान राई, १९ वर्षीय निश्चल राई र २९ वर्षीय अगमप्रसाद दाहाललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । अनुसन्धानको क्रममा प्रहरीले आज बिहान थप एकजनालाई नियन्त्रणमा लिएको छ । तिहारमा मादक पदार्थ सेवन गर्दा सामान्य भनाभन विवादमा परिणत भई हात हालाहाल र बियरको बोतल प्रहार गर्दा सामान्य विषयले ठूलो रूप लिएको प्रनि श्रेष्ठले बताए । घटनाको अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गरिने उनले बताए । घाइते समीरको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगंज लगिएको र हाल उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको निजगढ प्रहरीले जनाएको छ । घटनामा दुईजना प्रहरी सामान्य घाइते भएका निजगढ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here