• श्रीमन्नारायण

दक्षिण एशियाली मुलुक पाकिस्तान विगत लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिंदै आएको छ । आर्थिक दुरवस्थाबाट त्रस्त यो देश चरम महँगीको अवस्थाबाट पनि गुज्रिरहेको छ । चर्को महँगीका कारण आम जनताको जीवनयापन कष्टकर हुँदै गएको छ । तर जनताको समस्याबाट राजनीतिक दलका नेताहरूलाई खासै वास्ता रहेको देखिंदैन । पाकिस्तानका राजनीतिज्ञहरूको ध्यान पनि नेपालकै नेताहरूजस्तो केवल चुनाव केन्द्रित रहेको छ । आउँदो नयाँ वर्षको जनवरीमा त्यहाँ आम चुनाव हुन गइरहेको छ । सफल क्रिकेट कप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खान विगत केही महीनादेखि जेलमा राखिएका छन् भने एक अन्य पूर्वप्रधानमन्त्री र त्यहाँका वरिष्ठ राजनीतिज्ञ नवाज शरीफ २१ अक्टोबरमा स्वदेश फर्केका छन् । तीनपटक देशका प्रधानमन्त्री रहिसकेका नवाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खानबीच नै आउँदो आम निर्वाचनमा सोझो प्रतिस्पर्धा हुने निश्चित छ । पाकिस्तान पिपुल्स पार्टीले चुनावलाई त्रिकोणात्मक बनाउने प्रयास गर्नेछ तर यसले फेरि पनि तेस्रो स्थानमैं चित्त बुझाउने निश्चित छ । पाकिस्तानको राजनीतिमा त्यहाँको सेना, धार्मिक नेता र राजनीतिक दलहरूलाई तीनवटा कोण अथवा केन्द्र मानिन्छ । सेना र धार्मिक नेताको समर्थनविना कुनै पनि देशमा लामो समय सरकार चलाउन नसक्ने परम्परा त्यहाँ कायम छ । आउँदो चुनावपश्चात् पनि उपरोक्त दुईको भूमिका नै निर्णायक साबित हुने निश्चित छ । यद्यपि हाल यताका दिनमा धार्मिक नेताहरूको सक्रियता बाह्यरूपमा कमै देखिएको छ तर तिनको भूमिका र सम्भावित सक्रियतालाई तत्कालै खारेज गर्न सकिंदैन ।

भूतपूर्व प्रधानमन्त्री नवाज शरीफ करीब चार वर्ष लामो स्वनिर्वासनमा लन्डनमा थिए । पाकिस्तानको सर्वोच्च अदालतद्वारा गएको १९ अक्टोबरमा भ्रष्टाचारसम्बन्धी मामिलामा पक्राउ पर्नबाट केही समयका लागि राहत प्रदान गरिएसँगै उनलाई स्वदेश फर्किने बाटो खुला भएको हो । यसभन्दा अघि पनि उनी निर्वासनबाट स्वदेश फर्केका हुन् । विगतको आगमनको तुलनामा यसपटक उनको आगमनले विशेष चर्चा पाउनुको मुख्य कारण अहिले पाकिस्तान आर्थिक मोर्चामा असफल साबित भइरहेको छ । भूतपूर्व प्रधानमन्त्री इमरान खानसित पनि यस समस्याको समाधान थिएन, न नवाज शरीफका भाइ र निवर्तमान प्रधानमन्त्री शहबाज शरीफसित नै यस समस्याको समाधान थियो । नवाज शरीफ अनुभवी राजनीतिज्ञ हुन् र आर्थिक मामिलामा पनि नजीकबाट हेर्दै आएका छन् तसर्थ आफ्नो पुरानो अनुभव, सम्पर्क र मित्रताको उपयोग गरेर पाकिस्तानलाई आर्थिक सङ्कटबाट बाहिर ल्याउन सक्लान् भन्ने एउटा झिनो सम्भावना देखिन्छ । नवाज शरीफ प्रतिद्वन्द्वी राष्ट्र भारतसित पनि सुमधुर सम्बन्ध कायम राख्न चाहन्छन् । उनी यसपटक पाकिस्तान फर्केलगत्तै यसको सङ्केत पनि दिएका छन् । भारतसितको दुई पक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरेकै कारण पाकिस्तानका तत्कालीन प्रधानसेनापति जनरल परवेज मुशर्रफले उनलाई अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । पाकिस्तानको ७६ वर्ष लामो राजनीतिक इतिहासमा सेना प्रमुखले शासनसत्तामा कब्जा जमाएपछि स्वेच्छाले मात्रै सत्ता त्याग गरेका अथवा निधनपश्चात् मात्रै पद त्याग गरेको उदाहरण छ । केवल परवेज मुशर्रफ मात्रै यस्ता सैनिक शासक भए जसले अदालतको आदेशबाट अपमानित भएर पदत्याग गर्नुपर्यो । भ्रष्टाचार र हत्यालगायत अनेकौं मुद्दा झेल्नुपर्यो र देशबाहिर निर्वासनमा जानुपर्यो । सम्भवतः उनको निधन पनि विदेशमैं भयो । नवाज शरीफको एउटा खास विशेषता यो पनि हो कि प्रत्येक पाँच वर्षपछि पाकिस्तानी जनता उनलाई आफ्नो समर्थन दिने गर्दछ ।

भारत स्वतन्त्र भएपछि सन् १९४७ मा अङ्ग्रेजहरू भारतबाट स्वदेश फर्किन लाग्दा भारत विभाजनको बीउ छरेर गएका थिए । मुसलमानहरूको निम्ति छुट्टै देश पाकिस्तान गठन भएको थियो जबकि हिन्दूहरूको निम्ति भारत देश रहने भयो । भारतले आफ्नो देशमा सबै धर्म मान्नेलाई समानताको अधिकार प्रदान गर्यो र देशलाई धर्मनिरपेक्ष घोषित गर्यो, जबकि धर्मको आधारमा मुसलमानहरूको निम्ति बनेको छुट्टै देश पाकिस्तान, भाषाको आधारमा आफै फस्न गयो र पूर्वी पाकिस्तान जहाँ बङ्गालीहरू थिए, उनीहरूलाई उर्दू राष्ट्रभाषा मन परेको थिएन र पाकिस्तानको शासनसत्तामा पञ्जाबीहरूको निर्णायक र महत्वपूर्ण भूमिका मन परेको थिएन । बङ्गाली भाषालाई राष्ट्रभाषाको मान्यता दिनुपर्ने माग गर्दै बङ्गालीहरूले चलाएको मुक्ति आन्दोलनले अन्ततः छुट्टै देशको निर्माण गर्यो । पाकिस्तानको निम्ति यो ठूलो क्षति थियो । त्यसपछि पाकिस्तानले भारतको नियन्त्रणमा रहेको कश्मीरलाई आफ्नो देशमा मिलाउने राष्ट्रको प्रमुख नीति बनाउने काम गर्यो तर हालसम्म भारतको नियन्त्रणमा रहेको कश्मीरलाई आफ्नो भूभागमा मिलाउन त टाढाको कुरा, उल्टै पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर पनि उसको हातबाट फुत्कने सम्भावना बढ्दै गएको छ किनभने स्थानीय जनता नै स्वतन्त्रताको पक्षमा देखिएको छ । पाकिस्तानको बलुचिस्तान, सिन्ध र सीमा प्रान्त (तालिबानहरू बसोवास रहेको क्ष्Fेत्र)बाट पनि स्वतन्त्रताको माग उठ्ने गरेको छ । नवाज शरीफजस्ता परिपक्व नेताले यस समस्याको कसरी समाधान गर्ने हुन् ? त्यो त समयले नै बताउला ।

भारत–पाकिस्तान दुई पक्षीय व्यापार पुनः सञ्चालन नहुँदा भारतलाई त खासै फरक परेको छैन तर आम पाकिस्तानीको भान्सादेखि दैनिक प्रयोजनमा समेत भारतीय उत्पादनले आफ्नो उपस्थिति अनिवार्य बनाएको थियो । दुई देशबीच व्यापार प्रभावित हुँदा पाकिस्तानमा ती सामग्री निकै महँगो भएका छन् । सोझो व्यापारमा भारतीय सीमा भएर सस्तोमा आयात हुने सामान युएईको बाटो पाकिस्तान आउँदा त्यो दोब्बर–तेब्बर महँगो साबित हुने गर्दछ । नवाज शरीफले भारतसित सकारात्मक सम्बन्ध बनाउने प्रयास गर्नेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित उनको सुमधुर सम्बन्ध पनि रहेको छ । मोदीको शपथ ग्रहणमा उनी नयाँ दिल्ली गएका थिए भने मोदी पनि नवाज शरीफको जन्मदिनमा पाकिस्तान पुगेका थिए तर यो कुरा पाकिस्तानका केही स्थायी प्रतिष्ठानलाई मन परेको थिएन । अब भारतको नियन्त्रणमा रहेको कश्मीर सधैंको निम्ति भारतको अभिन्न अङ्ग भइसकेको छ ।

भारतीय संविधानको धारा ३७० र ३५ (ए)मा संशोधनसँगै कश्मीर समस्याको स्थायी समाधन पनि भएको छ । पाकिस्तानले पनि यस यथार्थलाई बुझिसकेको हुनुपर्छ । नवाज शरीफ आउँदो चुनावपश्चात पाकिस्तानको प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ । किनभने इमरान खानसित आर्थिक चुनौतीसित मुकाबिला गर्ने प्रस्ट भिजनको अभाव छ । हुनत इमरान खानले पनि भारतसित राम्रFे सम्बन्ध बनाउने चाहना राखेका थिए तर यस कुराको अनुभूति उनले गर्दासम्म धेरै ढिलो भइसकेको थियो । अधिकांश दक्षिण एशियाली देशहरू अहिले गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेका छन् । राजनीतिक दर्शन र नारा मात्रले जनताको आवश्यकता पूरा हुँदैन । धरातलमा काम भएको हुनुपर्छ । आउँदो जनवरीमा पाकिस्तानमा हुने आम निर्वाचनमा पाकिस्तानी जनताले इमरान खानलाई मौका दिन्छ कि नवाज शरीफलाई चौथोपटक प्रधानमन्त्री बन्ने अवसर दिन्छ त्यो हेर्न बाँकी छ ।

नवाज शरीफ पहिलोपटक सन् १९९० मा प्रधानमन्त्री बनेका थिए तर सन् १९९३ मा उनलाई राष्ट्रपतिले पदमुक्त गरे । हुनत सर्वोच्च अदालतले उनलाई पुनः बहाल ग¥यो तर पार्टीको आन्तरिक द्वन्द्वका कारण फेरि राजीनामा गरे । सन् १९९७ देखि १९९९ सम्म उनी प्रधानमन्त्री रहे तर सन् १९९९ मा जनरल परवेज मुशर्रफले १० वर्षको निम्ति निर्वासनमा पठाए । सन् २००७ मा सउदी अरबबाट पाकिस्तान फर्के । सन् २०१३ देखि २०१७ सम्म चौथोपटक प्रधानमन्त्री बने तर सन् २०१६ मा पनामा पेपर लिकमा नवाज शरीफ र उनका परिवारका सदस्यले लन्डनमा अफशोर कम्पनीमार्फत लक्जरी अपार्टमेन्ट हासिल गरेको समाचार प्रकाशित भएपछि सन् २०१७ मा सर्वोच्च अदालतले उनलाई अयोग्य घोषित गर्दै सात वर्षको जेल सजाय दिएको थियो । सन् २०१९ मा उपचारको लागि उनी लन्डन गएका थिए र त्यहाँबाट फर्केर आएका छन् । नवाज शरीफमाथि तोशाखाना मामिला, अलि अजिजिया र एभवफिल्ड भ्रष्टाचारको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here