प्रस, निजगढ, १५ कात्तिक/

कलैयामा कात्तिक १३ गते सोमवार दिउँसो १ बजे गोली हानी कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चालक गुड्डु भनिने सोही वडा घर भएका ३५ वर्षीय रूपेश सर्राफको हत्या घटनाबारे सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरेको छ ।

उक्त घटनामा एकजना युवती मुख्य योजनाकारसहित पाँचजना सहयोगीलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय, बारा प्रमुख एंव प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं ६ मदर्साटोल बस्ने २२ वर्षीय राधा गुप्ता, सोही टोल बस्ने वर्ष ३४ का जालिम अख्तर, सोही उपमहानगर वडा नं ९ रामपुर बस्ने वर्ष २६ का रियाज अन्सारी, भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने वर्ष २३ का चन्दन कुमार, भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला वडा नं १२ बस्ने वर्ष २३ का अभिनवकुमार राजपूत रहेको प्रउ काफ्लेले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

घटनाको मुख्य कारण मृतक सर्राफको अभियुक्त राधा गुप्तासँग विवाहेत्तर प्रेम सम्बन्ध र इबी रहेको जनाउँदै पक्राउ परेकी मुख्य अभियुक्त राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग (विवाहित) प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र मृतक सर्राफबीच तीव्र विवाद भई झगडा भएको देखिएको पत्रकार सम्मेलनमा बारा प्रहरीले जानकारी दिएको थियो ।

यस घटनामा भारतीय सार्पशुटर भारत मोतिहारी जिल्ला दर्पाथाना १ सुक्लहिया बस्ने वर्ष २५ का सुजितकुमार सिंह, सोही ठाउँ बस्ने वर्ष २४ का चञ्चल पाण्डे, वर्ष २२ का मनीषकुमार सहनी, वर्ष २० का कामेश्वर सहनी खुल्न आएको र उनीहरू फरार रहे पनि भारतीय प्रहरीसँग समन्वय गरी खोजी कार्य तीव्र पारिएको प्रउ काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घटनाका मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने मुख्य अभियुक्त राधा गुप्ता रहेको र पक्राउ परेका अन्य चारजना सहयोगी रहेको बारा प्रहरीले जनाएको छ ।

तीन महीनाअघि पनि मृतक सर्राफमाथि ज्यानै लिने गरी हमला गर्ने प्रयास भएपनि घटनामा संलग्न अभियुक्तहरू सफल नभएपछि यही कात्तिक १३ गते सोमवार गोली प्रहार गरी सर्राफको हत्या गर्न सफल भएको अनुसन्धानबाट खुलेको जनाउँदै घटनास्थलबाट प्रहरीले चार थान गोलीका खोका बरामद गरेको जानकारी दिइएको थियो ।

मृतक सर्राफ कलैयास्थित एक मिठाइपसलबाट मिठाइ खरीद गरी आफ्नो ना.५३प ९१२८ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहमा एक अज्ञात व्यक्तिले छाती र घाँटीमा प्रहार गरेको गोली लागी गम्भीर घाइते भएका सर्राफलाई तत्कालै उपचारका लागि कलैया प्रादेशिक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंजस्थित वयोधा अस्पतालमा उपचारको क्रममा सोही दिन दिउँसो ३ बजे मृत्यु भएको थियो ।

यस घटनामा थप पक्राउ परेपछि र अनुसन्धानबाट थप अझै खुल्न आएमा पत्रकार सम्मेलन गरी जानकारी दिने प्रउ काफ्लेले पत्रकारहरूलाई बताए ।

रूपेशका परिवारजनद्वारा आन्दोलन गर्ने चेतावनी

बाराको कलैयामा गत सोमवार गोली हानी हत्या गरिएका रूपेश सर्राफका परिवारजनले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रूपेश र आफूहरूको चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

प्रहरीले हत्यामा संलग्नमध्येका पाँचजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेलगत्तै मृतक रूपेशका दुईजना दाजुले पत्रकारहरूसँग कुरा गर्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका हुन् ।

प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पाँचजना अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसँगको प्रेम सम्बन्धका कारण रूपेशको हत्या भएको जानकारी गराएका थिए ।

तर पत्रकारहरूसँगको कुराकानीमा मृतक रूपेशका दाजु सुबोध सर्राफले युवतीसँगको प्रेम सम्बन्धका कारण भाइ रूपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झूटो रहेको जिकिर गरे । उनले पक्राउ परेकी राधा गुप्तासँग आफ्नो भाइ रूपेशको कुनै प्रेम सम्बन्ध नरहेको दाबी पनि गरे । प्रहरीले भनेजस्तो रूपेशको त्यस्तो चरित्र नभएको उनले बताए । सुबोधले भने, “प्रहरीको अनुसन्धानप्रति हामीलाई चित्त बुझेको छैन । मेरो भाइको चरित्रबारे औंला उठाउने कुनै ठाउँ नै छैन ।” प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रूपेश र आफ्नो परिवारको चरित्र हत्या गरेको गुनासो उनले गरे । रूपेशलाई गोली हान्ने अपराधी चारजनामध्ये अहिलेसम्म एकजनालाइ पनि पक्राउ गर्न नसकेको प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए ।

बाल एकता बोर्डिङ स्कूलका प्रबन्ध निर्देशकसमेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेकामध्ये दुईजना युवक निर्दोष रहेको र प्रहरीले झूटो आरोपमा उनीहरूलाई फसाएको बताए । उनले भने, “मेरो विद्यालयका दुईजना कर्मचारी निर्दोष छन् । उनीहरूलाई यातना दिएर लिएको बयान गलत छ ।”

हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया–६ की २२ वर्षीया राधा गुप्ता आफ्नो विद्यालयमा सात महीना पहिले लेखापालमा कार्यरत रहँदा उनको गलत गतिविधि देखिएपछि विद्यालयबाट निकालेको सुबोधले बताए । त्यसयता रूपेशसँगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी उनले गरे ।

पक्राउ परेका निर्दाेष आफ्ना दुई कर्मचारीलाई रिहा नगरे र गोली हान्ने अपराधीलाई पक्राउ नगरिए आफूहरू प्रहरीविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here