प्रस, पोखरिया, १५ कात्तिक/

पोखरिया नगरपालिकाको खुला स्थानमा शौच गरेको आरोपमा पक्राउ परेका छजनालाई रु एक/एक हजार जरिवाना गरिएको छ ।

देश खुला दिसामुक्त घोषणा भएको छ वर्ष बितिसक्दा पनि पोखरियाका स्थानीयवासीले जथाभावी दिसापिसाब गर्दै आएका छन् । पोखरिया नगरपालिकाले खुला दिसामुक्त क्षेत्र अभियान प्रभावकारी कार्यान्वयनका लागि निगरानी गर्दा खुला दिसापिसाब गर्ने छजनालाई पक्राउ गरेको हो ।

पोखरिया नपाका सरसफाइ संयोजक विनोद पाण्डे नेतृत्वको नगरप्रहरी र इलाका प्रहरी कार्यालय, पोखरियाको टोलीले अनुगमनको क्रममा खुला स्थानमा दिसापिसाब गर्ने पोखरिया वडा नं १, ५, ६ र ७ बाट छजनालाई पक्राउ गरेका थिए । उनीहरूलाई जनही रु एक/एक हजार जरिवाना गरी छाडिएको नगरप्रमुख प्रद्युम्न चौहानले बताए । उनले खुला स्थानमा दिसापिसाब गर्नेहरूको साँझ–बिहान निगरानी भइरहेको बताए ।

पर्साका सबै स्थानीय तहमा शौचालय निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा पनि ठोरी गाउँपालिकाबाहेक अधिकांश स्थानीय तहका जनता खुला स्थानमा दिसापिसाब गर्ने प्रवृत्ति बढेको छ ।

स्थानीय तहले यस प्रकारको निगरानी र सचेतना नदिंदा खुला स्थानमा दिसापिसाब गर्ने प्रवृत्ति बढेको एकजना सचेत नागरिकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here