• बैधनाथ श्रमजीवी

हामी सबैलाई थाहा भएकै कुरा हो मानिस जति सामाजिक प्राणी हो, त्यति नै जिज्ञासु प्राणी पनि हो । आफ्नो वरपर देखिने सबै प्राकृतिक घटनाप्रति मानिस जिज्ञासु रहँदै आएको छ । यही जिज्ञासाले गर्दा मानिसको दिमाग अन्य प्राणीको भन्दा विकसित हुँदै कुनै पनि घटना हेरेर, सम्झेर त्यसबारे केही सोच्ने वा कल्पना गर्न थालेको हो । खासगरी वर्षा, बाढी पहिरो, आकाशीय बिजुली, चट्याङ, दिनरात, आगलागी, भुइँचालो, ज्वालामुखी विस्फोट, हुरीबतास, जाडो–गर्मी, जन्म, मृत्युलगायत घटनाहरू के हुन् ? कसरी घट्छन् ? यसको स्रोत के हो ? आदि प्रश्नको जवाफ मानिसले खोज्ने क्रममा आदर्शवाद र भौतिकवाद जस्तो विचार विकसित भएको हो ।

यति बेला हामी २१औं शताब्दीमा छौं । यो शताब्दीलाई विज्ञान र प्रविधिको युग भनिन्छ । झन्डै ३५ सय वर्षदेखि संसारभरि एकछत्र राज्य गर्दै आएको आदर्शवादको संस्कृतिमय समाजमा यतिबेला १९ प्रतिशत मानिस भौतिकवादी दृष्टिकोणले जीवन र जगत्को सवालमा उठ्दै आएका प्रश्नहरूको जवाफ दिने अवस्था सिर्जना भइसकेको छ । यस क्रममा नेपाली समाजमा पनि पहिलोपटक भौतिकवादी समाज सङ्गठितरूपमा देखा परेको छ । हुनत नेपाली समाजभित्र भौतिकवादी विचार भएका व्यक्तिहरू रहेको निकै लामो इतिहास छ । तर सङ्गठित रूपमा सङ्गठन खोलेको यो पहिलो हो । गएको असोज २६ र २७ गते चितवन जिल्लाको नारायणघाटमा भौतिकवादी समाज नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । हाम्रो देशमा केही वर्षयता सुनियोजित तरीकाले साम्प्रदायिक दङ्गा भड्काउन खोजेको हामी सबैले महसूस गरेकै हो । यस्ता धार्मिक दङ्गामा  संसारभरि लाखौं मानिसको जीवन र सम्पत्ति समाप्त भएको छ । भर्खरै इजरायलमा प्यालेस्टिनी हमास समूहले निकै लामो समयदेखि गर्दै आएको आक्रमणको निरन्तरतालाई दलाल पूँजीवादले धार्मिकताकै जामा पहिराएको देखिन्छ ।

यस घटनामा १० जनाभन्दा बढी नेपाली विद्यार्थीको मृत्यु हुनु दुःखद खबर हो । हाम्रो देशमा पनि दलालहरूले कब्जा गरेको दलाल पूँजीवादी व्यवस्था छ । यसले उत्पादनका सबै साधन बन्द गरेको छ । बेरोजगारीहरूलाई रोजगारको सट्टा राहदानी थमाएको छ । तिनै विदेशिएका झन्डै एक करोड युवाले पठाएको विप्रेषणले देश चलेको छ । सांस्कृतिकरूपमा अन्धविश्वास, रूढिवाद र आदर्शवादले बलियो जरो गाडेको छ । वास्तवमा अन्धविश्वास नै हाम्रो संस्कृतिको मुख्य धारा बनेको परिप्रेक्ष्यमा भौतिकवादी विचार के हो, भौतिकवादी समाज कस्तो हुन्छ, आउनुस् यसबारे थोरै चर्चा गरौं ।

यो ब्रह्माण्डमा भएको सबैकुरा गतिशील छ, त्यसैले यो संसार परिवर्तनशील छ । वस्तुभित्र रहेको आन्तरिक गतिकै कारण प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । यस्तोमा केही प्रश्न उठ्छ–

क) संसारमा हुने विकास र परिवर्तनका स्रोत के के हुन् ?

ख) तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ?

ग) सांसारिक परिघटनाहरूका कारण के हुन् ?

घ)  कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या र विश्लेषण थाल्नुपर्छ ?

कुनै पनि विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त प्रश्न निकै महत्व राख्छ । किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू पनि गलत हुन जान्छ । संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या, विश्लेषण गर्ने दुईटा आधारभूत धारणा (सिद्धान्त) छन्–

१) भौतिकवाद

२) आदर्शवाद ।

भौतिकवाद र आदर्शवाद एकअर्काका पूरै विपरीत धारणा हुन् । यसको बीचमा आधारभूत भिन्नताको प्रश्न हो– हाम्रोवरिपरिको भौतिक संसार र आत्मा, विचार, मनमा कुन प्राथमिक हो भन्ने प्रश्न हो ।

यसमा भौतिकवाद भौतिक संसारलाई प्राथमिक मान्छ भने आदर्शवाद आत्मा वा मनलाई प्राथमिक मान्छ । भौतिकवादले सांसारिक परिघटना तथा प्रक्रियाहरूलाई भौतिक कारणसित सम्बन्धित पारेर तिनको व्याख्या गर्ने गर्छ भने आदर्शवादले त्यसलाई कुनै अभौतिक तत्वसित (मन, आत्मा, चेतना, विचार), कुनै आध्यात्मिक कारणसित (परमात्मा, ईश्वर, अलौकिक शक्ति) सम्बन्धित पारेर त्यसको व्याख्या गर्न खोज्छ । भौतिकवादले प्रकृतिमा भौतिक तत्वलाई आधार, प्रस्थानबिन्दु बनाएर सम्बन्धित प्राकृतिक परिघटनाको व्याख्या गर्छ भने त्यसको ठीक उल्टो, आदर्शवादले कुनै आध्यात्मिक वा पारलौकिक तत्वलाई आधार बनाएर सम्बन्धित परिघटनाको व्याख्या गर्छ । साररूपमा भन्ने हो भने भौतिकवादी धारणा अनुसार संसारका सारा चीज भौतिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् । त्यसको उल्टो, आदर्शवादी धारणा अनुसार संसारका सारा चीज आध्यात्मिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् ।

धार्मिक दृष्टिकोण राख्ने व्यक्तिहरू उक्त प्रश्नको जवाफमा के भन्छन् भने संसारको सृष्टिकर्ता ईश्वर हुन् र त्योभन्दा पहिले त्यसको अस्तित्व थिएन । आदर्शवादीहरूको जवाफ पनि त्यस्तै प्रकारको छ र तिनीहरू के भन्छन् भने प्रकृतिभन्दा माथि कुनै अलौकिक शक्ति, मन, आत्मा वा हेगेलको शब्दमा, “परम विचार अवस्थित छ र संसारको अस्तित्व त्यसकै कारणबाट भएको हो ।” उपरोक्त दुईटा धारणामा एउटा साझा कुरा छ र त्यो के भने उनीहरू कुनै असांसारिक शक्तिलाई, कुनै मानसिक तत्वलाई विश्वको सृष्टिकर्ता मान्छन् । तिनीहरूको धारणा अनुसार संसारमा जे जति घटना घट्छन्, ती सबका आधार र कारक तत्व उपरोक्त शक्ति हुन् । भौतिक तत्व प्राथमिक होइन । मन, चेतना, विचार प्राथमिक हुन् भन्ने आदर्शवादी धारणा रहेको छ । भौतिकवादीहरूको धारणा उपरोक्त धारणाको पूरै विपरीत छ । भौतिकवादी धारणा अनुसार भौतिक संसारको सिर्जना कुनै असांसारिक शक्ति वा कुनै विचारले गरेको होइन, बरु त्यसको अस्तित्व मानिसको अस्तित्व रहनुभन्दा अघि मात्र होइन, कुनै पनि जीव हुनुभन्दा धेरै पहिलेदेखि रहेको थियो र धेरैपछि मात्र पृथ्वीमा जीवनको उत्पत्ति भएको र जीवन विकासको क्रममा मानिसको उत्पत्ति भएको थियो । हामी जसलाई मन, संवेदना, चेतना, विचार आदि भन्छौं, ती त खास ढङ्गबाट सङ्गठित भौतिक तत्वको ज्यादै उच्च विकास, मानवीय मस्तिष्कका उपज हुन् । तसर्थ मानिसको उत्पत्ति हुनुभन्दा धेरै पहिले विनाजीव तत्वको स्थितिमा रहेको भौतिक संसारलाई मन, चेतना, आदिको उत्पत्ति ठान्नु सरासर गलत र झूट हो र कसैले त्यस्तो सोच्छ भने त्यो रहस्यवादभन्दा केही होइन । बरु त्यसको उल्टो तथ्य के हो भने तत्व चेतनाको आधार र स्रोत हो र भौतिक तत्वले चेतनालाई निर्धारित गर्छ । उपरोक्त वास्तविक तथ्यप्रति अर्थात् चेतना मनभन्दा बाहिर र त्यसबाट बिलकुल स्वतन्त्ररूपमा बाह्य संसार तथा प्राकृतिक चीजहरूको अस्तित्व भएका मान्यता नै भौतिकवादको सबैभन्दा आधारभूत तत्व हो । यसरी भौतिकवादले भौतिक तत्वको अस्तित्व र त्यसको विकासमा कुनै अलौकिक तत्व वा कुनै विचारको हस्तक्षेपलाई पूरै अस्वीकार गर्छ ।

मानिसहरूको सामाजिक जीवनका दुईटा महत्वपूर्ण पक्ष छन्–

क) भौतिक पक्ष (भौतिक जीवन)

ख) मानसिक पक्ष (मानसिक जीवन)

क)भौतिक पक्ष (भौतिक जीवन)– मानिसहरू आफ्नो जीवन निर्वाहका लागि आवश्यक चीजहरू पैदा गर्छन् र सो कार्यमा लाग्दा उनीहरूका बीच निश्चित आर्थिक सम्बन्धहरू स्थापित हुन्छन् । खासगरी वस्तुहरूका उत्पादन, वितरण तथा विनिमय हुँदा ती सम्बन्धहरू स्थापित हुन्छन् । त्यसका साथै, तिनीहरू जनसङ्ख्याको पुनरुत्पादन गर्ने कार्यमा पनि लाग्छन् । साधारण भाषामा भन्ने हो भने समाजमा मानिसहरू काम गर्छन् र जीवन निर्वाह गर्छन्, छोराछोरी जन्माउँछन् । जीवनका आवश्यकताहरूको उत्पादन गर्छन् र उत्पादित वस्तुहरूको विनिमय र वितरण गर्छन् । उपरोक्त कामहरू गर्दा उनीहरूका माझमा निश्चित आर्थिक–सामाजिक सम्बन्धहरू बन्छन् । यो नै समाजको भौतिक जीवन हो, जसलाई हामी सामाजिकसत्ता भन्ने गर्छौं ।

ख) मानसिक पक्ष (मानसिक जीवन)– यस अन्तर्गत समाजका सामाजिक विचार, धारणा तथा दृष्टिकोणहरू, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानूनी विचारहरू, दार्शनिक धारणाहरू, कला तथा साहित्यिक कृतिहरू आदि पर्छन् । यो समाजको मानसिक जीवन हो, जसलाई हामी सामाजिक चेतना भन्छौं ।

प्रकृतिमा भौतिक तत्व र मन, सत्ता र चेतनाको सम्बन्धमा सत्ता प्राथमिक र चेतना गौण हुन् र पहिलोले दोस्रोलाई निर्धारित गर्छ भन्ने भौतिकवादको आधारभूत सिद्धान्त हो ।

यसरी भौतिकवाद र आदर्शवादबारे स्पष्ट भइसकेपछि एउटा समस्या के देखिन्छ भने सिद्धान्तको रूपमा भौतिकवादलाई स्वीकार गर्ने तर समाजभित्र चलिआएको आदर्शवादी मूल्य मान्यता, चाडपर्वविरुद्ध नलाग्ने तथा अन्धविश्वास, रूढिवाद, आत्मा– परमात्मा, पूर्वजन्म–पुनर्जन्म, भाग्य, स्वर्ग–नर्क, तन्त्रमन्त्र, धामीझाँक्री, बोक्सी, छुवाछूत, पूजापाठ, होम–हवन जस्ता अवैज्ञानिक संस्कृति र परम्पराको त्याग गर्नुको सट्टा त्यसैमा गर्वको अनुभूति गर्ने अवस्था भत्काउन वास्तविकरूपमा भौतिकवादीहरूले छुट्टै आफ्नो संस्कार (जन्मदेखि मृत्युसम्मका), उत्सव आदिको विकास गर्न जरुरी छ । यतिबेला आदर्शवादी दृष्टिकोणले गर्दा हाम्रो समाजमा दाइजोप्रथा, जात व्यवस्था, छुवाछूत, बालविवाह, अन्धविश्वास, रूढिवाद आदिलाई भौतिकवादी समाजले मात्रै विस्थापित गर्न सक्छ । हिजोआज समाजमा देखिएका सबै प्रकारका हिंसाहरू, साम्प्रदायिक दङ्गाहरूको पछाडि मुख्य कारक तत्वको रूपमा आदर्शवाद नै रहेको कुरा सबैले बुझेकै यथार्थ हो । निकृष्ट राजनीतिक महत्वाकाङ्क्षालाई पूरा गर्ने क्रममा संसद्वादी भासमा चुर्लुम्म डुबेका राजनीतिक दलहरूले यस्तो धार्मिक सद्भाव खलबलाउने गतिविधिको तहमा रहेको सजिलै देख्न सकिन्छ । यस्ता सबै प्रकारका हिंसाहरू, पाखण्डहरूबाट सभ्य तथा मानवतायुक्त प्रकृतिमैत्री समाज भौतिकवादी दृष्टिकोणले मात्रै बनाउन सक्छ भन्ने कुरा ढिलोचाँडो सबैले एक दिन बुझ्नुपर्ने हुन्छ ।

वास्तवमा हामीले नाङ्गो आँखाले हेर्दा स्थिर जस्तो लाग्ने कुनै पनि कुरा स्थिर छैनन् । ब्रह्माण्डमा कुनै पनि वस्तु स्थिर हुनै सक्दैन । सबै वस्तु गतिशील छ । यही गतिशीलताले गर्दा ब्रह्माण्ड सन्तुलित छ । तपाईं नै सोच्नुस्, जब हाम्रो पृथ्वी लगभग १६ सय किलोलिटर प्रतिघण्टाको गतिमा आफ्नो धुरीमा घुमिरहेको छ । पृथ्वीले प्रत्येक घण्टा लगभग एक लाख आठ हजार किलोमिटरको गतिमा सूर्यको चक्कर लगाइरहेको छ । यस्तोमा पृथ्वीमा कुनै पनि कुरा कसरी स्थिर (गतिहीन) रहन सक्छ ? त्यसैगरी, हामीले देखिरहेको हाम्रो सूर्य लगभग सात लाख किलोमिटर प्रतिघण्टाको गतिमा आकाशगङ्गाको चक्कर लगाइरहेको छ र आकाशगङ्गा लगभग २५ लाख किलोमिटरको गतिमा प्रतिघण्टा ब्रह्माण्डमा हिंडिरहेको छ । यतिमात्रै होइन स्वयम् सम्पूर्ण ब्रह्माण्ड ६७.५ किलोमिटरको गतिमा प्रतिसेकेन्ड फैलिरहेको छ । अब तपाईं सोच्नुस् कसरी यो ब्रह्माण्डमा कुनै पनि कुरा गतिहीन हुन सक्छ ?

तर भौतिकशास्त्रको यो नियमविपरीत संसारभरिका आदर्शवादी दर्शनहरूले लामो समयदेखि मानव समाजलाई यसरी प्रशिक्षित गरेर ल्यायो कि ईश्वर (साकार–निराकार) कहिले पनि जन्मेका होइनन् र यो कहिले समाप्त पनि हुनेछैनन् । अर्थात् त्यो अलौकिक चमत्कारी शक्ति अजन्मा हो । यो कुरा सम्पूर्णरूपमा अवैज्ञानिक छ । यो भौतिकशास्त्रको नियमविपरीत छ । यो ब्रह्माण्डमा हामीले देख्ने गरेका सबै कुरा चाहे त्यो अति सूक्ष्मस्तरमा होस् अथवा अति विशाल, सबै कुरा एउटा निश्चित समयक्रममा विकास भएको हो र एउटा निश्चित समयक्रमपछि त्यसको अन्त्य हुनैपर्छ । तर यो सिद्धान्तको विपरीत आदर्शवाद उभिएको हुनाले भौतिकवादीले सबै प्रकारका काल्पनिक ईश्वरीय सत्ताको अस्तित्वलाई सम्पूर्णरूपमा खारेज गर्छ । भौतिकवादीहरू स्वर्ग, नर्क, आत्मा, परमात्मा, तन्त्रमन्त्र, भूत, प्रेत, पिचास, टुनामुना, धामीझाँक्री, बोक्सी, पूर्वजन्म, पुनर्जन्म, मोक्ष जस्ता सबै आदर्शवादी तथा आध्यात्मिक धारणा, विचार, सोच, दृष्टिकोणहरूलाई सम्पूर्णरूपमा खारेज गर्छ । साथै भौतिकवादीहरू संसारका सबै कुरा गतिमा देख्छ । ब्रह्माण्ड र यसभित्रका सबै कुरा गतिशील छन् । गतिले गर्दा नै निरन्तररूपमा ब्रह्माण्डमा नयाँनयाँ पिण्डहरूको निर्माण, विकास र विघटन भइरहन्छन् ।

भौतिकवादीहरूले गतिलाई तीनवटा रूपमा हेर्छन्–

क) अजैविक गति

ख) जैविक गति

ग) सामाजिक गति ।

अतः ब्रह्माण्डको गतिशीलताको कारण कुनै पनि बाहिरी चमत्कारिक शक्ति नभई त्यसभित्रको आन्तरिक संरचनाले (अन्तर्विरोध) गर्दा हुन्छ भन्छन् भौतिकवादीहरू । यस्तो अवस्थामा कुनै पनि दैवी शक्तिको परिकल्पना गर्नु आफैंमा हास्यास्पद हुन जान्छ । त्यसैले भौतिकवादीहरू कुनै पनि ईश्वरजस्तो काल्पनिक कुराले ब्रह्माण्डको सृष्टि, उत्पत्ति वा रचना गरेको कुरालाई खारेज गर्दै ईश्वर, आत्मा वा परमात्मा मानिसहरूले नै प्रकृतिभित्र जीवन व्यवहारमा देखिएका समस्या समाधान गर्न तथा विभिन्न प्रश्नका उत्तर दिन बनाएका भावनात्मक तथा आस्थामुखी कल्पना हुन् भन्छन् । वास्तवमा पहिलेका मानिसहरूमा विज्ञानको अभावले गर्दा पृथ्वी तथा पृथ्वीबाट देखिने सम्पूर्ण पिण्डको उत्पत्तिको बारेमा कुनै अदृश्य शक्तिले सृष्टि गरेको हो भनी कल्पना गर्नु स्वाभाविक नै थियो । तर आजको आधुनिक मानव समाजले विकास गरेको विज्ञान र प्रविधिको आलोकमा हिजोका कल्पनाहरू भताभुङ्ग हुन पुगेका छन् । मानवनिर्मित वायजर वन तथा हवल यानहरूले ब्रह्माण्डमा हुँदै गरेका अनेकौं घटनाहरूलाई पृथ्वीबाट हेर्न सम्भव बनाइदिएको छ । अहिलेसम्मको जानकारी अनुसार ब्रह्माण्डमा प्रतिसेकेन्ड लगभग १२० ब्लेकहोल जन्मिन्छन् । त्यसैगरी,  लगभग १२०० तारा प्रतिसेकेन्ड ब्रस्ट हुन्छन् । यतिमात्रै होइन, प्रतिसेकेन्ड लगभग ६०००० ताराहरू जन्मिनुका साथै  लगभग ६० लाख नयाँ ग्रह बन्छन् । तर ब्रह्माण्डमा कुनै पनि वायुमण्डल नभएको कारणले हामी ठूलोठूलो विस्फोट हुँदा पनि आवाज सुन्न सकिरहेको छैनौं । त्यसैगरी, प्रतिसेकेन्ड लगभग १००० किलोमिटर यात्रा आकाशगङ्गाले ब्रह्माण्डमा पार गर्छ र लगभग ५०० मिटर टाढा पूरै ब्रह्माण्ड फैलिरहेको छ । २७ किलोमिटर एन्ड्रोमिडा ग्यालेक्सी मिल्किवे ग्यालेक्सीको नजीक आइरहेको छ । प्रत्येक सेकेन्डमा ७४९०० किलोमिटर यात्रा प्रकाशले गरिसक्छ । तर हामीलाई लाग्छ ब्रह्माण्डमा कुनै गतिविधि नै हुँदैन । अझै आदर्शवादीहरूलाई लाग्छ, यो ब्रह्माण्डमा ईश्वरको इच्छा नभए एउटा पात पनि हलिदैन । के यो ज्ञान आजको आधुनिक मानवको लागि सही ज्ञान हो त ?

निस्सन्देह यो सम्पूर्णरूपमा झूटो ज्ञान हो । वास्तवमा यो ज्ञान नभई केवल अन्धविश्वास हो । यतिबेला आदर्शवाद मनोवैज्ञानिकरूपमा पूरै मानव समाजलाई ईश्वरमाथि निर्भर रहने बनाएको छ । परनिर्भरताभित्र स्वतन्त्रताको कुनै गुन्जायस हुँदैन । त्यहाँ केवल दास्ता र गुलामी मात्रै रहन्छ । त्यसैले राज्यले कुनै निश्चित धर्म अपनाएर वा कुनै निश्चित धर्मलाई बढावा दिएर आफ्नो शोषणको साम्राज्यलाई यति लामो समयसम्म टिकाउन सफल भएको छ । समाजको विकासक्रममा सामन्तवादभन्दा पूँजीवाद शुरूवातमा निकै प्रगतिशील रहेको भए तापनि धर्मको चरित्रलाई बुझेपछि आफ्नो चरित्र त्याग गर्दै धर्मको पृष्ठपोषकको रूपमा देखिएको हो । तर आदर्शवादको ठीक उल्टो भौतिकवादी क्रान्तिकारी र विद्रोही स्वभावले युक्त देखिन्छ । जहाँ आदर्शवाद यथास्थितिको बलियो पक्षपाती देखिन्छ, त्यहीं भौतिकवाद अग्रगामी तथा परिवर्तनकारी देखिन्छ । यसले मानवजीवनको बारेमा मात्रै सोच्दैन बरु सम्पूर्ण प्रकृति तथा ब्रह्माण्डकै हितको बारेमा प्रकृतिमैत्री तथा ब्रह्माण्डमैत्री भएर चिन्तन गर्छ । हामीले बुझ्नैपर्ने गाँठी कुरा के हो भने आदर्शवाद सधैंभरि प्रतिक्रियावादी तथा अनुदारवादीहरूको झन्डा रहेको छ किनभने त्यसले विद्यमान वर्गीय तथा मानवीय सम्बन्धलाई रहस्यमय र धूमिल पार्छ, सामाजिक यथार्थताको गलत र काल्पनिक व्याख्या गर्छ । त्यस कारण आदर्शवादले शोषक शासक वर्गहरूको हितको रक्षा गर्न खोज्छ । तसर्थ यथास्थिति कायम राख्न आदर्शवाद स्वाभाविकरूपमा विद्यमान शोषण व्यवस्थाका लागि कामलाग्दो टेवा बनेको छ । अर्काेतिर भौतिकवाद सधैंभरि समाजमा आमूल परिवर्तन चाहनेहरू, क्रान्तिकारी वर्ग तथा तत्वहरू र नौलो समाजको निर्माण गर्न खोज्नेहरूको झन्डा रहेर आएको छ । उदाहरणका लागि प्राचीनकालमा यो प्राचीन व्यापारिक वर्गको र मध्ययुगीनकालमा उदीयमान सामन्तविरोधी पूँजीपति वर्गको झन्डा रहेको थियो भने वर्तमान युगमा सर्वहारा वर्गको वैचारिक झन्डा रहेको छ । वास्तवमा भौतिकवादले सामाजिक वर्गहरूबीचको सम्बन्ध र मानवीय सम्बन्धहरूको वास्तविक रूप र चरित्रलाई स्पष्ट पार्छ । वर्गीय समाजमा वर्ग सङ्घर्ष सामाजिक विकासको मूल कारक तत्व रहेको तथ्यलाई खुलस्त पार्छ । शोषण र उत्पीडनबाट मुक्तिको बाटोलाई आलोकित गरेको हुनाले भौतिकवाद आलोचनात्मक र क्रान्तिकारी छ र साँचो भन्ने हो भने यो नै आजसम्मको क्रान्ति र ऐतिहासिक अग्रगमनको दर्शन हो । यसको अभावमा मानव समाजमा समृद्धि, विकास, समानता तथा मानवताको कुरा गर्नु भ्रमको खेती गर्नुबाहेक अरू केही होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here