• सञ्जय मित्र

यात्रा आफैंमा उत्सुकता हो, जिज्ञासा हो । यदि हुटहुटी छ भने यात्राको हुती र समय त्यसैले मिलाउँदो रहेछ । यात्राको संयोग आफैं मिल्दो रहेछ ।

सर्लाहीका साहित्यकार पार्थमणि भट्टराईलाई भेट्न भनेर सारथि श्रीकृष्णलाई लिएर निस्कँदा मानसिक योजना थियो– सदरमुकाम मलङ्गवाका साहित्यकार रामचन्द्र महतो कुशवाहालाई भेट्दै फर्किने बेलामा बाटोमा साहित्यकारद्वय बिके मिश्र वा मनमोहन सिंह मनोहरलाई भेट्दै साँझसम्म गरुडा फर्किने । तर यत्तिको संयोग जुर्न सकेन । भट्टराई सरसित समय लिइसकेकोले पहिलो गन्तव्य स्वाभाविक हो, हरिवन हुने नै भयो ।

हरिवन बजारको मुख्य चोकमा उत्तरतिर जाने बाटोमा एउटा द्वार छ– कैलाशपुरी मन्दिर प्रवेशद्वार । यात्रुहरूको नजर सधैं यसमा परिरहन्छ । कुनै पर्यटकीय क्षेत्र छ भन्ने मनमा परिहाल्छ । मेरो मनमा पनि हरिवन पुग्दा सधैं यो स्वाभाविकता उम्रने गर्छ ।

हरिवन बजारमा पुगेपछि मोबाइल सम्पर्क गर्दा त्यही द्वार भएर पुरानो हरिवन बजार पुग्नुपर्ने र त्यहाँ पुगेर पाउरोटी कारखाना सोधेर पुग्न सकिने जानकारी आयो । पाउरोटी कारखाना भट्टराई सरकै रहेछ । कैलाशपुरी मन्दिर प्रवेशद्वार भएर प्रवेश गर्दै गर्दा मनमा अलिकति लाग्यो– कैलाशपुरी पनि डुल्न पाए हुन्थ्यो । यसलाई दबाएर राखें, अभिव्यक्त हुन दिइनँ किनभने समयलाई बग्न दिनुपर्छ ।

पुरानो बजारबाट उत्तरपूर्व जाने बाटोमा जानुपर्ने पहिले सङ्केत पाए अनुसार उतै लागियो । भट्टराई सर बाटोमैं उभिनुभएको रहेछ । सारथि श्रीकृष्णले चिने, अनि घरमा पुग्यौं ।

१ बजेर २० मिनेट हुँदा हामी भट्टराई सरको घरमा हुन्छौं । करीब साढे तीन बजेसम्म भाषा, साहित्य र संस्कृतिका बारेमा निरन्तर कुराकानी चलिरहन्छ । अत्यन्त अल्प छलफल हुन्छ, पारिवारिक विषयका । बीचबीचमा राजनीतिक चर्चा पनि हुन्छ । म आफूले राजनीति विषयमा लेख्न छाडेको दशकौं भइसकेको बताउँछु । हो, समसामयिक र ठाडो राजनीति मैले अखबारमा धेरै वर्ष पहिले नै लेख्न छाडिसकेको छु । छलफलकै क्रममा पछि जानकारी भयो– भट्टराई सर त चुरे भावर आन्दोलनका एक सिद्धान्तकार पनि हुँदोरहेछ । मनमा अलिक अमिलो पसेजस्तो भयो । हामीले केही पुस्तक साटासाट ग¥यौं । उहाँकी धर्मपत्नी अञ्जुदेवी भट्टराईले २०२९ सालमा लेख्नुभएको (सोही वर्ष प्रकाशित पनि) ‘रामु र श्यामुको बहादुरी’ बाल उपन्यास (पुनः प्रकाशित २०७९) पनि प्राप्त भयो । यो निकै ठूलो उपलब्धि थियो, उहाँको घरमा बसाइको ।

उमरले ७७ वर्ष पुगेका साहित्यकार भट्टराईसितको भेट विभिन्न कारणले महत्वपूर्ण रह्यो । मलाई लाग्छ, यस्ता भेटघाटले सम्बन्धित साहित्यकारको हौसला बढ्छ, मनोबल बढ्छ । साहित्यकारहरूबीच सौहाद्र्रता बढ्छ । एकअर्काको निकट पुग्न सजिलो हुन्छ । मैले पहिलोपटक भट्टराई सरलाई घरमैं भेटेको हुँ । यसअघि केहीपटक फोनमा कुराकानी भएको थियो ।

त्यहाँबाट निस्कने बेलासम्म यत्ति ढिलो भइसकेको थियो कि अन्यत्र कतै जानुपर्ने समय बाँकी थिएन । केही बेर केही विषयमा छलफल होला भन्ने सोचेका थियौं तर घण्टौं बितेको पत्तै भएन । अब घर फर्किन हतार भइसकेको छ । तर निस्कने बेलामा श्रीकृष्णजी सोध्छन्– यो कैलाशपुरी कति टाढा छ ?

मेरो अभ्यन्तरभन्दा पनि तीव्र इच्छा श्रीकृष्णभित्र रहेछ । ग्राभेल बाटो करीब अढाई किलोमिटर भनेर भट्टराई दम्पतीबाट जानकारी पाउनासाथ बिदा भएर निस्कन्छौं ।

मेरो हिसाबले समय छैन तर समय छैन भन्नु पनि मेरोलागि होइन, श्रीकृष्णको लागि हो । श्रीकृष्णलाई ससुराली पुग्नु छ, एउटा निम्तो मान्न । सन्ध्यालाई निमन्त्रण दिन सूर्य शीघ्रगामी भइसकेको सङ्केत गरिरहेको छ । पुरानो बजारबाट दक्षिण मोडिनुपर्नेमा उत्तर मोडिएपछि अबको हतार उत्सुकतामा बदलिन्छ । ज्ञात गन्तव्य तर अज्ञात यात्रा । लगभग दुर्ई किलोमिटर जति पिचैपिच बाइक गुडेपछि जङ्गल आइपुग्छ । अनि अगाडि बढ्दा खोंचतिर बढ्छ यात्रा । पूर्व र पश्चिम दुवैतिर चुरे र उत्तरतिर हल्का उकालिंदै बाइक गुडिरहेछ । साँच्चीकै प्राकृतिक सुन्दरताको आनन्द आइरहेको छ । प्रकृतिको यस प्रकारको आरोग्य काख सितिमिति पाइँदैन हाम्रोतिर । मानवसेवा आश्रम आइपुगेपछि बाटो अझ कठिन हुन्छ । पूर्णतया निर्माणाधीन बाटोमा बाइकलाई ज्यादै कठिन हुन थालेपछि म ओर्लन्छु र अलिकति पहाड चढ्दाको आनन्द लिन थाल्छु । श्रीकृष्ण अगाडि पुगिसक्छन् । पहाडको काखलाई कपेर बनाइएको घुमाउरो हल्का उकालो बाटो, अलिक छिटो हिंड्दै गर्दा स्वास्थ्यको आनन्द याद आउँछ ।

एकातिर महादेव खोला, खोलापारि चुरे डाँडो, पश्चिमतिर पनि चुरे र बीचको उच्च समस्थली थुम्कोमा छ, कैलाशपुरी । महादेव खोलामा झोलुङ्गे पुल बनाइएको छ । झोलुङ्गेबाट पारि पुग्न सकिन्छ तर पारि कुनै बस्ती भने छैन । सुन्दर वन र हरियालीले गदगद चुरेको आकर्षण आनन्ददायक छ । यहाँ एकजना गिरी थरका साधु छन्, जसको टाउकोभरि जटा भरिएका छन् । विगत १२ वर्षदेखि यही बसिरहेका छन् । उनलाई कुनै कुराको डर भने छैन ।

हामी नौलो मानिसलाई लाग्न सक्छ– यहाँ हिंस्रक वन्यजन्तुहरू आउँछन् होला । जिज्ञासामा गिरीबाबा भन्छन्– आउँदैन र देखेको छैन भनेपछि कुनै प्रश्न नै बाँकी रहँदैन । आउँछन्, भेट हुन्छन् भन्यो भने अनेक प्रश्न उब्जन्छन् ।

भाव बुझ्न सजिलो छ । फोकटमा कसैलाई किन बताउने । कतिजनालाई बताइरहने ? हामी त सोझै दर्शन र पूजाको नाममा मन्दिरलाई बाहिरबाटै हेर्ने हो । भित्र पस्न पनि पसेनौं । देख्छौं । आसपासमा पाँच/सात वटा मन्दिर छन् । मन्दिरहरूमा प्रस्तर मूर्ति वा शिलारूपी भगवान् तथा भगवतीहरू विराजमान छन् । अन्तर्हृदयमा सबैप्रति उच्च श्रद्धा र सम्मानभाव उम्रन्छन् । नतमस्तक हुँदै जान्छु । उता सूर्यले अत्याइरहेको छ । छिटो गर नत्र म तिमीहरूलाई पर्खिन्नँ भन्ने धम्की पनि दिइरहेको लाग्छ, दुर्ई पाइलो यताउति सार्दा डाँडामा लुकामारी गर्दै । अस्ताचलोन्मुख सूर्यको कारणले झन् रमाइलो बनाएको छ, यो ठाउँ । साँच्चै मनमा उत्सुकता र हतारको सम्मिश्रण भएको बखत नयाँ ठाउँ झन् नवदुलहीजस्तो लाग्न थाल्छ । अझ झोलुङ्गे चढ्न बाँकी नै छ ।

झोलुङ्गेको बीचमा पुगेर एकजना मानिस आनन्दले बसेर मोबाइल चलाइरहेका छन् । तल निकै गहिरो महादेव खोलामा पानीले हतार गरेको आवाज निरन्तर सुनिरहेको छ । कतैकतै वनमा चराले बात मारेको मधुर ध्वनि पनि आइरहेको छ । झोलुङ्गेको बीचमा पुगेपछि पो खोलाको उत्तरदेखि दक्षिणसम्मको सुन्दरता देखिन्छ । उत्तरतिर खोंचमा देखिने पहाडको उचाइले मनमा आनन्दको उचाइलाई र तल नदीको गहिराइले आनन्दको गहिराइलाई बढाउँदा आनन्दको उपत्यकामा मन रमाउँदा आफूले आफैंलाई बिर्सिएजस्तो हुन्छ । आहा १ चारैतिर पहाड र खोला अनि हरियालीको बीचमा शीतल पवनले स्फूर्ति प्रदान गरिरहँदा न धर्ती, न आकाशमा रहेको शरीरलाई आनन्दको चरमोत्कर्षमा पु¥याएको अद्भुत अनुभूति हुन्छ । लाग्छ, कैलाशपुरी साँच्चीकै आनन्दपुरी हो, सुखपुरी हो ।

यहाँ आउँदा अलिकति समय बोकेर ल्याउनुपर्ने रहेछ । खल्तीभरिको समय गफमैं बितेपछि उब्रेको समयले कतिबेर धान्ने ? समय रित्तिइसकेपछि मनमा हुन्छ– अलिकति मात्र पनि बाँकी हुँदो हो त एउटा कविता लेख्थें, यहीं बसेर । तर मोबाइलमा केही फोटा र केही सेल्फी लिएर समयको केही बिन्दुलाई स्मृतिको लागि कैद गर्छौं र सारथि श्रीकृष्णसहित हतारिन्छौं ।

बरहथवा आएपछि बडादशैंको टीकाको भोलिपल्टको एकादशी सम्झना गराउँछु, श्रीकृष्णलाई । सम्झेसम्म एकादशीको दिन शाकाहारी भोजन गर्ने गरेका छौं । शाकाहारी होटल खोज्दै अगाडि बढ्दै गर्दा २०८० कात्तिक ८ को यो बुधवार बरहथवाले अँध्यारोलाई स्वागत गर्ने तरखर गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here