हाम्रो मुलुक नेपालमा वार्षिक करीब अढाई हजार महिलाले आत्महत्या गर्छन् । अर्थात् हरेक दिन सातजना महिलाले आत्महत्या गरिरहेका हुन्छन् । महिलाहरूमा हुने आत्महत्याको मुख्य कारण घरेलु हिंसा भनिएको छ । अविवाहितभन्दा विवाहित महिलाको सङ्ख्या अत्यधिक छ । वार्षिक आत्महत्या गर्नेमध्ये करीब ९० प्रतिशत विवाहिता छन् । नवविवाहित युवती साथै सन्तान जन्मिसकेका, बालबच्चा हुर्किसकेका महिलाहरूसमेत घरेलु हिंसामा पर्ने गरेको तथ्याङ्क प्रहरी अनुसन्धानबाट खुलेको छ । बालविवाह, अनमेल विवाह, अन्तरजातीय विवाह, दाइजो, शिक्षाको कमी, छोराछोरीमा विभेद, पति तथा घरपरिवारमा जाँडरक्सी, धूमपान वा मद्यपानको सेवन, आँखा लगाउने र लाञ्छना लगाउने सङ्कीर्ण सोचलगायतका कारण महिलामाथि घरेलु हिंसा हुने गरेका छन् । घरेलु हिंसाका कारण महिलाले आत्महत्या गरेका घटना विश्वका सबै मुलुकमा हुन्छन् । यसमा पनि विशेषगरी हाम्रो मुलुक नेपाल र हाम्रो छिमेकी मुलुक भारतको परिवेश झन्डै एकै प्रकृतिको छ । केही पहिले भारतको नेशनल क्राइम रेकड्र्स ब्युरो (एनसिआरबी)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्यहाँ वार्षिक सरदर २२ हजार ३७२ जनाभन्दा धेरै गृहिणीले आत्महत्या गर्छन् । उक्त तथ्याङ्क दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एकजना गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ ।

महिलाहरूलाई आत्महत्या गर्न बाध्य पार्ने मुख्य कारण घरेलु हिंसा रहेको मानसिक स्वास्थ्यविज्ञहरूको निष्कर्ष छ । अधिकांश आत्महत्या पारिवारिक समस्या वा विवाहसम्बन्धी विषयसँग जोडिने गरेका छन् । हालै गरिएको अर्को एक सर्भेमा ३० प्रतिशत महिलाले पतिबाट चरम हिंसा खेप्नुपरिरहेको बताएका थिए । उनीहरूले माइतीले विवाह गरेर अर्काको हातमा सुम्पिसकेको कारण माइतीघरमा आफूहरूको स्थान नरहेको र पतिको घर गरेर खान सक्ने अवस्था पनि नरहेको भन्दै आत्महत्याको बाटो रोज्न चाहेको बताएका थिए ।

धेरैजसो महिला कानूनले तोकेको उमेर पुग्दानपुग्दै विवाह गर्छन् । उनीहरू बुहारी र पत्नी बनेर घरमा खाना पकाउने, सरसफाइ गर्ने, घाँस–दाउरा गर्ने, घरपालुवा जनावरको हेरचाह गर्ने, आफूभन्दा ठूलो साइनोमा पर्ने परिवारका सदस्यको सेवा, सत्कार गर्ने, आफूभन्दा सानाको सुसारेको भूमिका निर्वाह गर्ने गर्छन् । फेरि उनीहरूमाथि नै अनेकथरी प्रतिबन्ध लगाइन्छ । पढेलेखेकै बुहारी भएपनि घरपरिवारले नोकरी वा व्यापार, व्यवसायको अनुमति नदिएसम्म आर्थिक अधिकारबाट वञ्चित रहनुपर्छ । विवाह गरेपछि उनीहरूको पढ्ने सपनाको कुनै अर्थ रहँदैन, विवाहपूर्व आफ्नो जिन्दगीका बारेमा देखेका मीठा सपनाहरूले नै उनीहरूलाई गिज्याउन थाल्छन् । कुनै पनि छोरीचेलीका लागि उसको भावनालाई बुझ्ने घरपरिवार परेन भने उसको जिन्दगी अर्काको निर्देशनमा चल्नुपर्ने एउटा निर्देशन पालकको रूपमा परिणत हुन्छ । यसले बिस्तारै निराशा छाउँछ र आफ्नो अस्तित्व नै यातना बन्न थाल्छ । यो अवस्थामा माइती पक्षले पनि बेवास्ता ग¥यो र पुनस्र्थापनाको पहल भएन भने आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् । यस सन्दर्भमा हालै भारत झारखण्डको एक पिताले समाजको लागि उदाहरणीय कार्य गरेका छन् । साहसी पिता प्रेम गुप्ताले आफ्नी विवाहिता छोरीलाई ससुरालीमा भएको हिंसा तथा दुव्र्यवहारबारे थाहा पाएपछि ब्यान्ड बाजा, आतिशबाजीसहित लावालस्कर लिएर ज्वाइँको घर पुगी छोरीलाई माइतीमा फिर्ता ल्याए । उनले ज्वाइँविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेका छन् । छोरीचेलीको आत्महत्या रोक्ने नै हो भने हरेक पिता प्रेम गुप्ता बन्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here