राधेश्याम पटेल, परवानीपुर,२७ असोज/
संविधानसभा सदस्य एवं नेपाली काङग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाले अहिलेको अवस्थामा मिडियाको भूमिका अहम् हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एन्यूज टिभी वीरगंजको दोस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आदर्शनगर, पुरानो बसपार्कमा आयोजित वार्षिक उत्सव एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको अवस्थामा समाज र देशका विभिन्न समस्या उजागर गरी सही सूचना सही समयमा सर्वसाधारण समक्ष पुर्याई जनतालाई सुसूचित गर्ने एन्यूजको टिमलाई उनले शुभकामना तथा बधाई दिए ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति रूंगटाले एन्यूजले वीरगंजको टिभी पत्रकारितामा राम्रो गर्दै गएको चर्चा गर्दै युवा जोशले भरिएको टिमलाई सही दिशामा अघि बढाउन उनले आग्रह गरे ।
एन्यूज टिभीका प्रबन्ध निर्देशक पत्रकार अशोक तिवारीको सभापतित्व र पत्रकार राजेन्द्रसिंह नेपालीको सहजीकरणमा सम्पन्न समारोहमा नेपाली काङ्ग्रेसका पर्सा सभापति एवं प्रदेश सांसद जनार्दनसिंह क्षत्री, वीरगंज महानगरका उपमेयर इम्तियाज आलम, टिभीका सञ्चालक जगतनारायण साह रौनियार, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहलगायतको सहभागिता थियो । कार्यक्रममा गायक सुनील पंडित, अञ्जना तिवारीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वीरगंजका विभिन्न डान्स एकेडेमी र विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्ुतत गरेका थिए ।