प्रस, वीरगंज, २६ असोज/
वीरगंज महानगरपालिकाले घण्टाघरदेखि पावरहाउस चोकसम्मको फोरलेन मुख्य सडक मरम्मत कार्य शुरू गरेको छ । निवर्तमान नगरप्रमुख विजय सरावगीको पालामा दुई किलोमिटर कालोपत्र सडक रु दुई करोडको लागतमा निर्माण भएको थियो ।
हालै निर्माण भएको सो सडक तीन दशकअघि सडक विभागले निर्माण गरेको एकखण्ड सडकको तुलनामा कमसल बनेको कारण ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । यसैगरी, महानगरका इन्जिनीयरहरूको प्राविधिक त्रुटिका कारण महानगरले बनाएको सडक पहिले निर्मित सडक विभागको सडकभन्दा अग्लो भएपछि फोनलेन सडकको १४ वटा युटर्नमा वर्षाको पानी जमेर खाल्डाखुल्डी भएका छन् । यसका साथै त्रुटिपूर्ण डिभाइडर निर्माणका कारण सडक विभागको सडकका केही ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनेका र सोको मरम्मत नहुँदा सवारी दुर्घटनाको सम्भावना बढेको छ ।
मुख्य सडकको घण्टाघरदेखि पावरहाउस चोकसम्मको फोरलेन सडकमा खाल्डाखुल्डी भएको भनी जनगुनासो बढेपछि मरम्मतसम्भार मङ्गलवारदेखि शुरू भएको छ । खानेपानीको हाहाकार भएको बखत मुख्य सडकका थुप्रै ठाउँमा सडक भत्काएर पाइपलाइन जडानको लागि महानगरले स्वीकृति दिएको थियो । सो स्थान पनि अहिले खाल्डाखुल्डी परेको छ, जसले गर्दा सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।
त्यस्तै, महानगरका ३२ वटै वडामा नयाँ सडकहरू पनि भत्काइएको अवस्थामा छन् । भर्खरै निर्माण भएका कालोपत्र, कङ्क्रिट ढलान सडक पनि महानगरले पानीको हाहाकार भएको बेलामा भत्काउन इजाजत दिएको थियो । अहिले ती ठाउँहरूमा पनि मरम्मतसम्भार गरिएको छैन । यसै पनि महानगरले निर्माण गर्ने कालोपत्र सडक गुणस्तरीय नहुने र एक वर्ष पनि मुश्किलले टिकाउ हुने गरेको छ ।
यस्तो अवस्थामा खानेपानी संस्थानको पाइपलाइन जडानका लागि महानगरले वडास्तरमा सडक कटान गर्न इजाजत दिएपछि सडकको दुरवस्था भएको हो ।