इजरायलमा रहेका नेपालीको उद्धार शुरू भएको छ । नेपाल एयरलाइन्सको विमानबाट शुक्रवार बिहान २५४ जना नेपाली काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद विमान लिएर इजरायल पुगेका थिए । इजरायलको दक्षिणी भाग तथा गाजा क्षेत्र सीमावर्ती किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेकाहरू सङ्कटमा परेका थिए । द्वन्द्वग्रस्त जोखिमयुक्त विभिन्न १६ स्थानबाट इजरायलको राजधानी तेल अविवमा स्थानान्तरण गरिएका नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याइएको हो । घटना भएको छैटौंं दिन पहिलो चरणको उद्धार भएको छ । पहिलो चरणमा उद्धार गरिएकामध्ये अधिकांश इजरायल सरकारले लागू गरेको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरू छन् । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार थप विमान पठाइने नेपाल सरकारले जानकारी गराएको छ । टिकट खर्च सरकारले बेहोर्ने नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र कृषि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये १० जनाको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ भने चारजना घाइते छन् । घाइतेमध्ये एकजना नेपाल फर्किएका छन् भने तीनजनाको उपचार इजरायलमा भइरहेको छ । इजरायल पुगेका विद्यार्थीहरूमध्ये एकजना विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात छ ।
विपिनलाई हमास लडाकूहरूले नियन्त्रणमा लिएर लगेको प्रत्यक्षदर्शी उनका साथीहरूले बताएका छन् । बङ्करमा आश्रय लिइरहेका १७ जना विद्यार्थी भएको ठाउँमा हमासले दुईवटा ग्रिनेड प्रहार गरेपछि एउटा ग्रिनेड विपिनले टिपेर हमासतर्फ नै फ्याँकिदिएको नेपाल आइपुगेका उनका साथीहरूको भनाइ छ । अन्य मुलुकका नागरिकहरूसँगै विपिन पनि हमासको कब्जामा परेका हुन् ।
उद्धार भर्खर शुरू भएको छ, सरकार सुस्ताउनुहुँदैन । तत्काल गर्नुपर्ने महत्वपूर्ण कामहरू धेरै छन् । सबैभन्दा पहिले अज्ञात रहेका विपिनको जीवनरक्षा गर्नु छ । हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाईमा १५ सयजनाभन्दा बढीको ज्यान गइसकेको छ । यसरी ज्यान गुमाउनेमा हमासले बन्धक बनाएका १५० जना रहेको र यसमा इजरायलीबाहेकका विदेशीहरू पनि रहेको बताइएको छ । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा रहेका प्यलेस्टाइनीहरूलाई २४ घण्टाभित्र गाजा छाडेर दक्षिणतर्फ जान निर्देशन दिएको छ । यो अवस्थामा हमासले बन्धक बनाएकाहरूलाई मानव ढालको रूपमा प्रयोग गर्ने प्रबल सम्भावना छ । यस कारण पनि जतिसक्दो छिटो हमाससँग सम्पर्क कायम गरी विपिनको जीवनरक्षाको लागि संवाद गर्न जरुरी छ । योसँगै इजरायलमा ज्यान गुमाएका १० जनाको शव नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउनुपर्नेछ । यसैगरी, इजरायलमा रहेका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी राख्ने र उनीहरूलाई निश्शुल्क उपचारको व्यवस्था मिलाउने साथै नेपाल फर्काउने कार्य अर्को महत्वपूर्ण काम हो । इजरायलमा करीब पाँच हजार नेपाली छन् । साथीहरूलाई आफ्नै आँखाअगाडि गोली हानेर मारेपछि मानसिकरूपमा कमजोर रहेका विद्यार्थीहरूको लागि मनोपरामर्श जरुरी छ । उद्धार कार्यमा सरकार लागिरहोस् भन्ने सबैको चाहना छ ।