राधेश्याम पटेल, परवानीपुर, २० असोज/
शुक्रवार बिहान वीरगंजमा भएको एकजना महिलाको हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको पर्सा प्रहरीले जनाएको छ ।
भारत, बिहार, सीतामढी नजीक रहेको रिगाको नाराहाकी स्थायी घर भई हाल वीरगंज–१ बजार छपकैया वडा कार्यालयको दक्षिणपट्टिको टोलमा बस्दै आएकी ४० वर्षीया पूनमदेवी सर्राफको हत्या घटनाको अनुसन्धान प्रहरीले तीव्र बनाएको छ ।
आइतवार घटनाको सम्बन्धमा सञ्चारकर्मीलाई पत्रकार सम्मेलन गरी जानकारी गराउने पर्सा पर्सा प्रहरीका प्रवक्ता प्रनाउ कुमारविक्रम थापाले जानकारी गराएका छन् ।
“अनुसन्धान अन्तिम चरणमा पुगेको छ,” उनले भने, “आइतवार घटनाको विस्तृत विवरण जानकारी गराउनेछौं ।” घटनाबारे भोलि पत्रकार सम्मेलनमा जानकारी गराइने प्रनाउ थापाले बताए । स्रोतका अनुसार घटनाको छानबीन लगभग पूरा भइसकेको र अभियुक्त पनि पत्ता लागिसकेकोले चाँडै अनुसन्धान टुङ्गो लाग्छ ।
पर्सा प्रहरीले हत्याको अभियोगमा वीरगंज–१ छपकैया कोल्डस्टोरेजनजीक घर भएका सुनील सर्राफलाई पक्राउ गरेको छ । सुनीलकै घरमा मृतक पूनमदेवी सर्राफले ब्युटिपार्लर सञ्चालन गर्दै आएकी थिइन् । घर साहुका छोरा सुनीलको कल डिटेलबाट उनी पूनमसँग निकै नजीक रहेको पुष्टि भएपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । व्यक्तिगत सम्बन्धका कारण हत्या भएको प्रहरीको आशङ्का छ । यसैबीच, पर्सा प्रहरीले बजार छपकैयास्थित शिवमन्दिरनजीकैको गल्लीबाट घटना प्रयोग गरिएको धारिलो हतियार बरामद गरेको छ । सो हतियारबारेमा प्रहरीले केही खुलाएको छैन । पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।
पर्सामा बढ्दै गएको आपराधिक घटनाले पर्सा प्रहरी अहिले तनावमा छ । १७ दिनभित्र दुईजना महिलाको हत्या घटनाले पनि पर्साको सुरक्षा व्यवस्थामा प्रतिकूल असर पारेको छ ।
पूनम सर्राफको शल्यपरीक्षण प्रतिवेदनमा हतियारले पटकपटक प्रहार गरी हत्या गरिएको जनाइएको छ । नारायणी अस्पतालमा भएको प्रारम्भिक शल्यपरीक्षण प्रतिवेदन अनुसार उनलाई धारिलो र बोधिलो हतियारले पटकपटक टाउकोमा प्रहार गरी मारिएको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा शल्यपरीक्षण गर्ने चिकित्सक डा अजित साहका अनुसार उनलाई धारिलो र बोधिलो हतियार वा कडा सतहमा टाउको ठोकाएर हत्या गरिएको छ । पूनमको कोठाको भित्ता प्लास्टर गरिएको छैन । शव बरामद गर्दा प्रहरीले सुत्ने कोठाको भित्ता पनि रक्ताम्य भएको बताएको छ । हतियार र भित्तामा टाउको लडाएर हत्या गरिएको आशङ्का गर्न सकिन्छ । साथै, हत्याअघि बलात्कार भए/नभएको बारे भेजाइनाको स्वाब नमूना जाँचको लागि काठमाडौंको फोरेन्सिक प्रयोगशालामा पठाइएको छ । शल्यपरीक्षणपछि शव परिवारजनलाई जिम्मा लगाइएको र पूनमका पति गगनदेव साह, छोराछोरी वीरगंज आइसकेकाले आइतवार दाहसंस्कार गरिने जनाइएको छ ।