• राजेश मिश्र

 ‘भ्रष्टाचार’ निकै प्रचलित शब्द हो । संस्कृत भाषाको शब्द ‘भ्रष्ट’बाट भ्रष्टाचार (नाम) र ‘भ्रष्टाचारी’ (विशेषण) शब्दको उत्पत्ति भएको हो । भ्रष्ट, भ्रष्टाचार वा भ्रष्टाचारी शब्दको भावार्थ अपवादबाहेक अति सामान्य मानिसलाई पनि बुझ्न कठिन हुँदैन ।

 “हेलो…, कहाँ पुर्याइदिउँ, हजुर ?” प्रतिउत्तरमा “घरमा जानु र मैडमलाई दिनुहोला, । फेरि त्यतिभन्दा कम हुनुभएन, है ?”

शायद भ्रष्ट र भ्रष्टाचारीहरूबीच यसैगरी संवाद हुँदोहोला वा पद, प्रतिष्ठा अनुसार फरक किसिमबाट । कसले, किन, कति र केबापत दियो ? भन्ने प्रश्नहरूको उत्तर अतिरिक्त अवैध काम गराउने, गर्ने तथा मध्यस्थकर्ता वा सीधैं पात्रलाई प्रभावमा पार्ने व्यक्तिबाहेक अरूलाई थाहा हुने कुरै भएन ।

भ्रष्ट साहेबहरूको घरमा आगमन हुँदा मैडमहरूले अवश्य सोध्दो होलिन्– “हे प्राणनाथ १ सधैं आउने त्यो व्यक्तिले आज फेरि चार बन्डल पैसा दिएर गयो । केबापतको पैसा हो ?” प्रतित्तउरमा भ्रष्ट पतिदेवले भने– “हे मेरी प्यारी ! मेरो मध्यस्तकर्ता उहीं त हो नि । आज फेरि नियमले नहुने एउटा काम गरेबापत सहयोग राशि पुर्याइदिएको हो ।” त्यसपछि लक्ष्मीप्राप्तिसँगै भ्रष्ट शरीर प्रसन्न मुद्रामा थरीथरीका किनमेलदेखि मधुशालासम्म पुग्दो होला ।

 “म भ्रष्टाचारी हुँ, म नियमले गर्न नमिल्ने काम गर्छु, म भ्रष्ट छु,” भन्ने कुरा भ्रष्टाचारमा लिप्त भ्रष्टाचारीहरूलाई आत्मबोध नहुने त कुरै नहोला । यद्यपि भ्रष्टाचारजन्य कार्य जघन्य कुकृत्य हो भन्ने कुरा पनि थाहा नहुने कुरा होइन । त्यस कारण भ्रष्टाचारीहरूले अति निकटतम सम्बन्धमा गाँसिएकी अर्धाङ्गनीसँग समेत कुकृत्य गरी आर्जन गरेको राशि भन्न लाज लाग्दो होला । त्यसैले सहयोग राशि पाएको भन्दो होलान् । भ्रष्टाचार गर्न लाजशरम नहुने । तर भ्रष्टाचार गरेको भन्न किन लाज हुने ? किनभने आफूले मान्ने धर्म वा कानून वा कुनै पनि सद्मार्गी व्यवस्थाले उपमार्ग प्रयोग गरी भ्रष्टाचार गर्ने अनुमति दिंदैन ।

भ्रष्टाचारका अनेकौं प्रकार र विधिहरू छन् । प्रकार भन्नाले राजनीतिक भ्रष्टाचार, प्रशासनिक भ्रष्टाचार, न्यायिक भ्रष्टाचार, शैक्षिक भ्रष्टाचार, स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, विकास निर्माणमा भ्रष्टाचार आदि अनेक प्रकारहरू छन् । त्यसैगरी, विधि भन्नाले घूसखोरी, जबरजस्ती चन्दाजन्य धन्धा, ब्ल्याकमेल, अख्तियार र विवेकाधिकारको दुरुपयोग, न्यायाधीशद्वारा पक्षपातपूर्ण निर्णय र कालाबजारीका साथै सत्ताको दुरुपयोग आदि इत्यादि विधिहरू छन् ।

कुनै पनि प्रकार वा विधिबाट गर्ने अवैध आर्जन नै भ्रष्टाचार हो । मानिस असत्य वचन बोल्छ तर फटाहा कहलाउन चाहँदैन । त्यसैगरी, भ्रष्टाचार गर्छ, तर भ्रष्टाचारी कहलाउन चाहँदैन । अनैतिक कर्तव्य गर्ने पात्र समाजमा नैतिकवान् छवि प्रदर्शन गर्ने मनोविज्ञानले ग्रसित हुन्छ । जसरी मानिसहरू चिया पिउँदा जिब्रो पोल्ने डरले प्रत्येक चुस्कीलाई फुकेर पिउँछन्, त्यसरी नै भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने क्रममा एक/एक पाइला सावधानीपूर्वक हिंड्छन् ।

प्रविधिको विकाससँगै भष्टाचारीहरूलाई बेनकाब गर्ने विविध यन्त्रहरू विद्यमान छन् । त्यस कारण घूस लिने कुपात्रहरूले घूसको रकम दिने कुपात्रको शर्टको बटम, कलम र काइँयो आदि प्रत्येक वस्तुमा क्यामरा हो कि भन्ने आशङ्काले ग्रस्त रहन्छन् । एकातर्फ घूस खाने खुशी हुन्छ भने अर्कोतर्फ उजागर हुन सक्ने त्रास पनि ।

सत्यपथबाट प्राप्त आर्जन र अवैध आर्जनमा धेरै भिन्नता हुन्छ । भिन्नताबारे एक उदाहरणबाट प्रस्ट गर्छु ।

एक बुबाले छोराको हातमा एक सयको नोट दिए । बुबाले उक्त रुपैयाँ पोखरीमा फाल्न छोरालाई आदेश दिएछन् । छोरा किञ्चित मात्र पनि चिन्तित भएन । उसले पैसा तुरुन्तै पोखरीमा फाल्यो । समयक्रमसँगै छोरा ठूलो हुँदै गयो । पारिवारिक जीवनमा आयो । जागीर गर्न थाल्यो । एक दिन बुबाले छोरासँग रु पाँचको नोट मागे । छोराले दियो पनि । बुबाले छोराको हातमा सोही नोट थमाउँदै पोखरीमा फाल्न आदेश दिए । छोरा सोच्नमग्न भयो । ऊ घोर चिन्तामग्न भयो । अन्ततः उसले पसिनाको कमाइ भएकोले पोखरीमा फाल्न नहुने भन्दै बुबालाई थरीथरीका उपदेशहरू दिन थाल्यो । भन्नुको तात्पर्य के हो भने विनाश्रमको पैसा त्यति महत्वपूर्ण लाग्दैन, जति श्रम गरेको पैसा महत्वपूर्ण हुन्छ ।

भ्रष्टाचारीहरूले अवैध आर्जन वैध कार्यमा पनि उपयोग गर्ने गर्छन् । उनीहरू अवैध क्रियाकलापमाथि वैध क्रियाकलापको लेप चढाउन माहिर हुन्छन् । श्रद्धाभाव र तनमनले सामाजिक कार्यमा लगनशील मानिसहरूको बीचमा कहिलेकाहीं भ्रष्टहरूको पनि उपस्थिति हुने गर्छ । उनीहरूले समाजमा शुद्ध आचारण प्रवाह हुनेगरी भ्रष्टाचारजन्य कर्तुतबाट आर्जित अर्थ–सामाजिक कार्यमा उपयोग गर्छन् । सामाजिक चश्मामा पुण्यको लेप चढाइसकेपछि आफूलाई चोखो ठान्छन् । भ्रष्टाचारको रोहबरमा मानवीय मनोविज्ञानले कहिल्यै पनि आफूलाई भ्रष्टाचारी कहलाउन चाहँदैन ।

भ्रष्टाचारी पनि सामाजिक र कानूनी गरी दुईथरीका हुन्छन् । सामाजिक अदालतको दृष्टिमा भ्रष्टाचारी प्रतीत हुने पात्र अप्रमाणित भ्रष्टाचारी हुन् । त्यसैगरी, भ्रष्टाचार मुद्दामा अदालतद्वारा सिद्ध व्यक्ति प्रमाणित भ्रष्टाचारी अन्तर्गत पर्छन् ।

रक्तचाप, मधुमेह, क्यान्सर आदि अनेक रोगले शरीर अशक्त भएझैं भ्रष्टाचारीहरूद्वारा हुने भ्रष्टाचारले देशको अर्थतन्त्र थला पर्छ । शारीरिक रोगको उपचार चिकित्सकले गर्छन् भने भ्रष्टाचारीहरूको उपचार केन्द्रको रूपमा प्रहरी, प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र र न्यायालय आदि अनेक निकायहरू विद्यमान छन् । यद्यपि भ्रष्टाचार उन्मूलन हुनुपर्नेमा उल्टो सङ्क्रमण तीव्र गतिमा फैलिनु विडम्बनापूर्ण छ । अदृश्य भ्रष्टाचारले अर्थव्यवस्थामा प्रत्यक्ष असर गर्छ । फलतः भ्रष्टाचारीहरूबाहेक बाँकी नागरिक अनेकौं प्रकारका दुःख र कष्टको सामना गर्न बाध्य हुन्छन् ।

मानिसको भ्रष्टाचारी प्रवृत्ति पत्ता लगाउने सर्वसुलभ पद्धति के होला भन्ने प्रश्न उठ्न सक्छ । केही सङ्केतहरू छन्, जसको माध्यमबाट मानिस भ्रष्टाचारी भए/नभएको पत्ता लगाउन सकिन्छ । आयस्रोत, पैतृक सम्पत्ति, पदमा विराजमान हुनु अघि र पछिको जीवनशैली आदि विविध सङ्केतहरूको माध्यमबाट पदधारी पात्र भ्रष्टाचारी भए/नभएको पत्ता लगाउन सकिन्छ ।

मानिस अदृश्यरूपमा भ्रष्टाचारमा लिप्त रहे तापनि मरणोपरान्त सदृश्य हुन चाहँदैन । हरसम्भव भ्रष्ट आचरणलाई लुकाउने प्रयत्न गरिरहन्छ । यहाँसम्म कि अदालतले प्रमाणित गरिसकेका पात्रहरू पनि कुरा काट्दै हिंड्छन्, तर स्वीकार गर्न चाहँदैनन् । यसको प्रमुख कारण हो, सामाजिक मानमर्दन ।

म भ्रष्टाचारी हुँ वा होइन ? आफूले आफैंसँग प्रश्न गर्नुहोस् । आयस्रोत कति छ ? पदधारण गर्नुअघि जीवनशैली कस्तो थियो ? पदधारण गरेपछि जीवनशैली कस्तो छ ? पत्नी र निकटस्थ परिजनको नाममा खरीद गरेको र खडा गरेका महल स्मरण गर्नुहोस् । घरको एसी, सोफा, पलङ्ग, दराज कुन स्रोतबाट आयो ? कुन प्रकारको आयबाट गाडी खरीद भयो ?

यदि उत्तरमा भ्रष्टाचारीको लेस मात्र पनि लक्षण आत्मबोध भइरहेको छ भने ‘म भ्रष्टाचारी हुँ’ भन्ने मन्त्र सुत्दा, उठ्दा, सभा, सम्मेलन वा कार्यस्थल, जहाँ र जुन अवस्थामा भएपनि हरपल स्मरण गरिरहनुहोस् । मानसिकता सकारात्मकतामा परिणत नभएसम्म, यो मन्त्र मस्तिष्कमा रहिरहनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here