प्रस, परवानीपुर, ११ असोज/
चिकित्सकमाथि आक्रमणको विरोधमा बिहीवार नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगंजले विरोध र्याली निकालेको छ । नारायणी अस्पताल वीरगंजबाट निस्किएको र्याली नगर परिक्रमापछि घण्टाघरमा पुगेर कोणसभा गरिएको थियो ।
कोणसभामा वक्ताहरूले हेटौंडा, पोखरालगायत विभिन्न ठाउँमा चिकित्सकमाथि बढिरहेको आक्रमणको घटनाले चिकित्सकहरू त्रसित भएको बताए । चिकित्सक वक्ताहरूले अहिलेको समयमा निर्भीक भएर उपचार सेवा दिन सक्ने अवस्था नभएकोले चिकित्सकहरूको सुरक्षाको प्रत्याभूति राज्यले गराउनुपर्नेमा जोड दिए । उनीहरूले कानूनी राज्यमा कानूनी आधारमा कुनै पनि विवाद टुङ्गो लगाउनेतर्फ राज्य लाग्नुपर्ने बताए । उनीहरूले राज्यले सुरक्षाको प्रत्याभूति नगराएसम्म आफूहरूको आन्दोलन नरोकिने सङ्घ नारायणीका अध्यक्ष डा मनोजकुमार गुप्ताले बताए ।
चिकित्सकको सुरक्षाको लागि सरकारले विगतमा गरेको सम्झौता ‘जेल विदाउट वेल’को लागि सरकारले कानून बनाउनुपर्ने सङ्घका सचिव डा नौसाद हकले बताए ।
कोणसभामा डा उदयनारायण सिंह, डा प्रमोद सर्राफ, डा अजय यादव, डा अखिलेश्वर झा, डा प्रमिला गुप्ता यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।