प्रस, निजगढ, ६ असोज/
निजगढ नगरपालिका–१२ थलीमा पूर्णअपाङ्गता भएकी बालिकालाई जबरजस्ती करणी गर्ने एक वृद्धलाई शुक्रवार राति प्रहरीले रतनपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही वडा रामथलीका ६४ वर्षीय सोमबहादुर लुम्बा रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
हिंड्डुल गर्न, बोल्न नसक्ने पूर्णअपाङ्गता भएकी बालिका एक्लै घरमा भएको मौका छोपी वृद्ध लुम्बाले बालिकासँग जबरजस्ती गरेको प्रहरीसमक्ष स्वीकारेको प्रहरी अनुसन्धानबाट खुलेको इप्रका, निजगढका प्रमुख एवं प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए ।
यता सो घटनामा संलग्न अभियुक्तलाई हदैसम्मको कानूनी कारबाही गर्न मेचीमहाकाली संयुक्त बुहारी आवाज, बाराकी अध्यक्ष चन्द्रिकाकुमारी मगरसहित पदाधिकारीहरूले शनिवार इप्रका, निजगढका प्रनि श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
बालबालिका, वृद्धवृद्धा, असहाय, अपाङ्गलगायतका नागरिकहरूको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी समाज र राज्यको रहेको उक्त ध्यानाकर्षणपत्रमा उल्लेख छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरी हदैसम्मको कारबाही प्रक्रिया अघि बढाइने प्रनि श्रेष्ठले बताए । पीडित बालिकाको थप उपचार वीरगंजस्थित अस्पतालमा भइरहेको छ ।