प्रस, वीरगंज, ४ असोज/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ज्येष्ठ नागरिक पार्क आधुनिकीकरण र सौन्दर्यीकरणको कार्य थालनी गर्ने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ, पर्साको ११औं साधारणसभा तथा विश्व अल्जाइमर्स दिवसको अवसरमा उनले ज्येष्ठ नागरिक सङ्घ, पर्साले वृद्धवृद्धाहरूको लागि सराहनीय कार्य गर्दै आएको बताए ।
वीरगंज–१५ लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तथा ज्येष्ठ नागरिक सङ्घ मधेस प्रदेशका संयोजक जगदीशप्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सङ्घका सचिव विनयराज गौतमले वार्षिक कार्यक्रम र कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले आर्थिक गतिविधिको प्रतिवेदन पेश गरेकामा सर्वसम्मत पास गरिएको थियो । साथै आगामी वर्षको कार्यक्रमसमेत अनुमोदन गरिएको थियो ।
यसैगरी, ज्येष्ठ नागरिक सङ्घ पर्साले ‘धेरै हतार पनि नगरौं, धेरै ढिलो पनि नगरौं’ नाराका साथ विश्व अल्जाइमर्स दिवस मनाएको छ । कार्यक्रममा डा श्यामसुन्दर दासले अल्जाइमर्स दिवसबारे जानकारी गराएका थिए । उनले ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर्सको समस्या हुने भएकोले समयमा उपचार गराउन सुझाव दिए ।
सङ्घका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सङ्घका सचिव विनयराज गौतम, स्वागत उपाध्यक्ष बैधनाथ कोइरी, धन्यवाद ज्ञापन डा अशोक दासले गरेका थिए ।