प्रस, वीरगंज, ३ असोज/
नेपाल–भारतको सीमास्थित मितेरीपुलमा भारतको सीमा सुरक्षा बल (एसएसबी)ले चेकपोस्ट राखेपछि अहिले सो क्ष्Fेत्र प्रभावित भएको छ ।
विगतमा रक्सौल कस्टम पार गरिसकेपछि एसएसबीले चेकजाँच गर्दै आएकोमा आजदेखि मितेरीपुलमा चेकपोस्ट राखी चेकजाँच शुरू गर्न थालेको छ । केन्द्रको निर्देशन अनुसार भन्सारअगाडि चेकजाँच गर्नुपर्ने प्रावधान अनुसार एसएसबीले मितेरीपुलमा चेकपोस्ट राखी चेकजाँच गर्न थालेको हो ।
सो चेकपोस्ट स्थायी हो वा अस्थायी सोबारे केही नखुलाए पनि समाचार स्रोतका अनुसार नेपाल र चीनको सीमानाका तातोपानी खुलेपछि भारतविरुद्धको गतिविधि तीव्र हुने सम्भावना देखेर मितेरीपुलमा एसएसबीले कडाइ शुरू गरेको बताइन्छ ।
स्रोतका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा सजिलै आवागमन हुन थालेपछि अवैधरूपमा हातहतियार तथा नक्कली नोटको कारोबार हुन सक्ने सम्भावना देखेर एसएसबीले सो ठाउँमा कडाइका साथ चेकजाँच गर्न थालेको छ ।
पाकिस्तानबाट नेपालमा आउने व्यक्तिहरू सजिलै भारत प्रवेश गर्न सक्ने भएकोले एसएसबीले चेकजाँच बढाएको स्रोतको दाबी छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले भारतले चेकपोस्ट आफ्नो सीमामा राखेकोले यसबारे आफ्नो कुनै आपत्ति नरहेको बताए । उनले भारत भित्रिने व्यक्तिलाई बढी चेकजाँच हुने गरेको बताए ।