प्रस, परवानीपुर, ३ असोज/

बाराको प्रसौनी गापाले संविधान दिवस धूमधामले मनाएको छ । गापाले प्रभातफेरी निकालेको थियो भने वृक्षारोपण गरेको थियो ।

गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा गापा अध्यक्ष विनोद जैसवालले २०७२ असोज ३ गते जारी भएको संविधानले नेपाली जनताको हकअधिकार सुनिश्चित गरेकोले यसलाई राष्ट्रिय पर्व सरह नै मान्नुपर्ने बताए । संविधान दिवसलाई कतिपय राजनीतिक दलले कालो दिवसको रूपमा मनाउने गरेकाले उक्त शैली ठीक नभएको बताए । संविधानकै अधिकार उपयोग गरी संसद्मा छिर्ने अनि तलबभत्ता लिने, सरकारी गाडी चढ्ने तर संविधानको विरोध गर्नु न्यायोचित नभएको उनले बताए ।

कार्यक्रममा गापा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंह, वडाध्यक्षहरू लालबाबू मुखिया बिन, ह्दयनारायण साह तेली, याकुब अन्सारी, सन्तोष साह कानूलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो ।

यसैगरी, राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७९ सालको माध्यमिक शिक्षा परीक्षामा पालिकाभरिमा उत्कृष्ट ग्रेड ल्याउने  खुटवाजब्दी माविकी छात्रा उषाकुमारी र बेगा साह माविका छात्र अभिषेक गुप्तालाई जनही एक/एक थान ल्यापटपसहित एक/एक थान साइकल पुरस्कार दिइएको थियो भने अन्य उत्कृष्ट चार/चार जना छात्रछात्रालाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो । साथै कक्षा ८ को परीक्षामा हरेक विद्यालयका पाँच/पाँच जना छात्रछात्रालाई जनही रु पाँच हजार पुरस्कार दिइएको थियो भने कक्षा १ देखि ९ सम्मका सबै विद्यालयका सबै कक्षाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई मनोबल बढाउन शैक्षिक सामग्री वितरण गरिएको थियो । गापा अध्यक्ष जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, बाराका उपसभापति चन्द्रिका उप्रेती, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले, सशस्त्र उपरीक्षक टोपबहादुर डाँगीलगायतको सहभागिता थियो ।

प्रस, निजगढ/

निजगढ नगरपालिकाको आयोजनामा संविधान दिवस झन्डोत्तोलन र दीप प्रज्वलन गरी मनाइएको छ । कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले कार्यालय परिसरमा बिहान झन्डोत्तोलन र साँझमा सामूहिकरूपमा दीप प्रज्वलन गरेका थिए । झन्डोत्तोलनमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख पुरीले लामो समयको सङ्घर्षपछि २०७२ असोज ३ गते जारी भएको संविधानको रक्षा गर्नु र यसका मूल मर्महरूलाई अक्षरशः पालना गर्नु राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, आम नागरिकको रहेको बताए ।

संविधानले हाम्रा धेरै हकअधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा जायज मागहरूलाई सम्बोधन गर्न सकिने भएकोले सबै पक्षलाई समेट्दै मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई कायम राख्नुपर्ने बताए ।

कार्यक्रममा निजगढ–४ बागदेवस्थित शहीद हीरालाल पार्क परिसर र निजगढ–८ बुद्धचोकमा राष्ट्रिय झन्डा फहराइएको वडाध्यक्ष विशन सापकोटा र स्वर्ण लामाले बताए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, कर्मचारी, स्थानीय सुरक्षा प्रमुख, पत्रकार लगायतको सहभागिता थियो ।

कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले गरेका थिए भने सञ्चालन अधिकृत रविन घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here