हाम्रो मुलुकमा नयाँ विद्युत्गृह सञ्चालनमा आउने र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रम जारी छ । यस क्रममा २५ मेगावाटको सेती जलविद्युत् आयोजना पनि परीक्षण उत्पादनको तयारीमा पुग्यो । आउने मङ्सिर महीनाबाट उक्त आयोजनाले बिजुली उत्पादन गर्ने भएको छ । बिजुली थप उत्पादन भएको खबरले मात्रै पनि नेपाली उपभोक्तामा एउटा छुट्टै किसिमको खुशी महसूस हुन्छ । उत्पादनभन्दा माग बढी भएकोले लोडसेडिङ हुने गरेको गहिरो छाप बसेको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ धानेको हाम्रो मुुलुक लोडसेडिङमुक्त घोषणा भएको सात वर्ष पुग्दैछ । विसं २०७३ लक्ष्मी पूजाको दिन लोडसेडिङमुक्त मुलुक घोषणा भएको हो । उक्त वर्ष दीपावलीको अवधिमा काठमाडौंलगायत मुलुकका महŒवपूर्ण शहरहरूमा बिजुली कटेन । मधेसका अधिकांश क्षेत्रमा बत्ती निभेन । त्यतिबेला उपभोक्तालाई घनघोर अँध्यारो युगबाट उज्यालोमा प्रवेश गरेको अनुभूति भयो । कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सिङ्गो मुलुक नतमस्तक भयो ।

हुन पनि त्यो वर्ष निर्देशक घिसिङलगायत विद्युत् कर्मचारीहरू रातदिन नभनी खटेका थिए । लोडसेडिङमुक्त गरिने कुरा पहिले नै बाहिरिसकेको हुँदा प्राधिकरणका लागि प्रतिष्ठाको विषय बनेको थियो । यसले उनीहरूमा दबाबका साथै नयाँ कामको लागि उत्साहपूर्ण ऊर्जा थियो । पहिलो चरणमा काठमाडौंमा लोडसेडिङ अन्त्य गर्ने भनेर दशैंदेखि नै अभ्यास गरिएको थियो । त्यसका लागि सबै हिसाबले तयारी थियो । प्राधिकरणले आफ्ना उत्पादनहरू सबै पूर्ण क्षमतामा चलाए । उनीहरूसँग रहेको १० मेगावाटको डिजेल प्लान्ट पनि चलाइयो । ट्रान्सफर्मर, सबस्टेशन तयारी अवस्थामा थिए । धेरै सबस्टेशनको क्षमता पनि अपग्रेड गरियो । फिडरहरू ठाउँ–ठाउँमा ओभरलोड हुने र बिजुली अवरुद्ध हुने देखिएपछि त्यसलाई तुरुन्त परिवर्तन गरियो । घोषणाको दिन कार्यकारी निर्देशक घिसिङ अधिक समय रुम्जाटारस्थित भार सम्प्रेषण केन्द्रमा थिए । त्यहाँबाट देशभरिको विद्युत् माग र आपूर्तिको व्यवस्थापन हुन्छ । भार सम्प्रेषण केन्द्रबाट कहाँ–कहाँबाट कति विद्युत् वितरण भइरहेको छ, के के भइरहेको छ, लोड कहाँ पुग्यो, कहाँ ओभरलोड हुँदैछ, सबै थाहा पाउन सकिन्छ । तिहारको बेला कहीं पनि बत्ती गएन । यस क्रममा विभिन्न ठाउँका नोलाइट क्षेत्रमा गएर गुनासो र अवस्थाबारे पनि जानकारी लिने काम कार्यकारी निर्देशक आफैंले गरे । महाराजगंजमा एक ठाउँको ट्रान्सफर्मरमा फ्युज गएको रहेछ । त्यो फ्युज तुरुन्तै हालियो र सेवा सुचारु गरियो । 

यो प्रसङ्ग किन जोडियो भने आखिर जाँगर चलाएर गर्ने हो भने सम्भव रहेछ भन्ने हो । अहिले दिनमा १० पटकभन्दा बढी लाइन कट्छ । कुनै एक ठाउँ होइन कि मुलुकभरिकै अवस्था एउटै हो । माग धेरै भएपछि ओभरलोडको कारण लाइन कटेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । लाइन ट्रिप हुँदा उत्पादन स्थलको विद्युत् सेवा पनि स्वतः अवरुद्ध हुने भएकोले धेरै ठाउँमा बिजुली कट्न सक्छ । पटकपटक बिजुली अवरुद्ध हुँदा विद्युत्बाट चल्ने उपकरण एवं सामग्रीहरू बिग्रने, जलेर नष्ट हुने गरेका छन् । अहिले यहाँका उपभोक्ता दोहोरो मारमा परेका छन् । पुरानो, कम क्षमताका ट्रान्समिटर तथा उपकरणहरू परिवर्तन गरेर पूर्ण क्षमताको नयाँ जडान गर्नुपर्छ । यसको निम्ति सत्तामा बस्नेहरूको चेत खुल्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here