बलिराम शुक्ला, बिरुवागुठी, २६ भदौ/
पर्साको राष्ट्रिय वन अन्तर्गत रहेका खोलाहरूबाट दिनहुँ गिट्टी, बालुवाको अवैधरूपमा खुलेआम चोरी तस्करी हुँदासमेत सम्बन्धित निकाय मौन देखिएका छन् ।
वीरगंज महानगरपालिका अन्तर्गत भेडाहा खोला, पर्सागढी नगरपालिका अन्तर्गत कर्जनिहा र सिङ्गाही खोलाबाट दिनहुँ गिट्टी, बालुवाको चोरी तस्करी हुँदासमेत वनकर्मी र प्रहरी मूकदर्शक देखिएका छन् ।
ती खोलाहरूबाट दिनहुँ गिट्टी, बालुवा चोरी तस्करी गरी सबडिभिजन वन कार्यालय सबैया, सबडिभिजन वन कार्यालय बडनिहार र सो मातहत रहेका छतवनटाँडी वन कार्यालय, मनवा वन कार्यालय, मिलनचोक प्रहरी चौकी, बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीकै अगाडिबाट गिट्टी, बालुवा ओसारपसार हुने गर्छ ।
असार १ गतेदेखि बन्द भएका खोलाहरू पालिकाहरूले समयमा ठेक्का नलगाउँदा प्रहरी र वनकर्मीहरूलाई आर्थिक प्रलोभनमा पारी ट्याक्टरबाट दिनहुँजसो गिट्टी, बालुवाको तस्करी बढेको स्थानीयहरू बताउँछन् ।
प्रमोद यादव, पंचगावाँ/
पटेर्वासुगौली र जीराभवानी गाउँपालिका अन्तर्गत पर्ने भलुवाही खोला र सखुवाप्रसौनी तथा पटेर्वासुगौली गापा अन्तर्गत पर्ने जमुनिया खोलाबाट गिट्टी, बालुवा, ढुङ्गाको तस्करी बढेको छ ।
ढुङ्गा, गिट्टी, बालुवाको चोरी तस्करी वन कर्मचारी र प्रहरीको मिलेमतोमा हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् । स्थानीय तस्करसँग ढुङ्गा, गिट्टी, बालुवा दोब्बर मूल्यमा खरीद गर्नुपरेको पटेर्वासुगौलीका रामजनमप्रसाद थारूले बताए । गिट्टी, बालुवा, ढुङ्गा तस्करसँग किन्दा महँगो पर्ने र समयमैं नआउँदा निर्माण कार्य प्रभावित भएको सखुवाप्रसौनीका प्रभु यादवले बताए ।
यस विषयमा डिभिजन वन कार्यालय वीरगंजका प्रमुख सुभाषचन्द्र दासले ढुङ्गा, गिट्टी, बालुवाको तस्करी भइरहेको सूचना पाउनेबित्तिकै वन कर्मचारी पठाउने गरेको बताए ।