प्रस, वीरगंज, २६ भदौ/

वीरगंज महानगरपालिका कार्यालयले भोलि बुधवारदेखि लागू हुनेगरी दैनिक ज्यालादारीका करीब छ सय कर्मचारीलाई हटाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले मङ्गलवार सूचना प्रकाशित गर्दै ३२ वटै वडा कार्यालयलाई स्थायी र करारबाहेकका  कर्मचारीहरूलाई भदौ २७ गते बुधवारदेखि कामकाजमा नलगाउन निर्देशन दिएका छन् । उनले भोलिदेखि स्थायी र करारबाहेकका कर्मचारीहरूलाई डोर हाजिरीमा खटाउने मानिसहरूले आफ्नो निजी सम्पत्तिबाट त्यस्ता कर्मचारीहरूको तलबभत्ता बेहोर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

वीरगंज महानगरपालिका कार्यालयमा गएको भदौ महीनामा नगरप्रमुख राजेशमान सिंहले पूर्वनगरप्रमुख विजयकुमार सरावगीको पालामा नियुक्त गरिएका दैनिक ज्यालादारी, करारका कर्मचारीहरूलाई अवकाश दिएका थिए । त्यसपछि महानगरपालिका कार्यालयमा असोज र कात्तिक महीनामा गरी करीब छ सयजना दैनिक ज्यालादारीमा मात्र कर्मचारीहरू नियुक्त गरिएका थिए । कार्यालय सहायक, कम्प्युटर अपरेटर, अमिन, ओभरसियर, इन्जिनीयर, सफाइकर्मी र नगरप्रहरीमा नियुक्त गरिएका थिए । यसरी नियुक्त गरिएका दैनिक ज्यालादारीका कर्मचारीहरूलाई आज एक्कासि हटाइएको हो । यी दैनिक ज्यालादारीका छ सय कर्मचारीमा महानगरपालिका कार्यालयको मासिक  एक करोड ३० लाखभन्दा बढी आर्थिकभार थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here