ओमप्रकाश चौधरी, सेढवा, २६ भदौ/
साउन र भदौ महीनामा वर्षा बढी भएकोले अहिले भूमिगत पानीको सतह बढेको छ । बोरिङ, चापाकल तथा सुकेका पानीका मुहानबाट पानी आउन थालेका छन् ।
ठोरी गाFउँपालिका–५ का अध्यक्ष अष्टबहादुर लोप्चनका अनुसार ६० फिटसम्म गहिरो जडान गरिएका बोरिङहरूमा अहिले सजिलै दमकलबाट पानी तान्न सकिएको बताए । जमीनमुनि पानीको सतह बढ्न थालेपछि अहिले सुकेका चापाकलहरूबाट पनि पानी तान्न सकिएको वडाध्यक्ष लोप्चनले बताए । यसभन्दा अगाडि वर्षा नभएर भूमिगत पानीको सतह घट्दा यस क्षेत्रमा दर्जनौं चापाकल सुकेका थिए भन्ने बोरिङहरूबाट पानी तान्न १०/१५ फिट गहिरो इनार खनी दमकल वा समरसेबल जडान गरी पानी तान्नुपरेको वडाध्यक्ष लोप्चनले बताए ।
यता थरुहट क्षेत्रमा जडान गरिएका धाराहरूमा स्वतः पानी आउन थालेका छन् । १२५ देखि १८० फिट गहिरो जडान गरिएका धाराबाट सामान्य अवस्थामा पानी आउन थालेको स्थानीयले जनाएका छन् । वर्षा नभएर यी सबै धारा सुकेका थिए । त्यस्तै, सुकेका वा पानी कम भएका पानीको मुहानमा पानी बढेका कारण किसानहरू खुशी भएका छन् । किसानहरूले ती पानीका स्रोतलाई परम्परागत तरीकाबाट बाँध बाँधी सिंचाइका लागि सदुपयोग गर्न थालेका छन् । करीब डेढ महीना अगाडि लामो समयसम्म यहाँका चापाकल, मुहानहरू सुकेर पिउने पानीको पनि समस्या भएको थियो ।