जकार्ता, २२ साउन/सिन्ह्वा
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतीकरण गर्ने अभ्यासको संयुक्तरूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आशियान)को ४३औं शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भएको भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङले संयुक्त भार बाँडफाँडको सिद्धान्तका आधारमा विकासोन्मुख देशहरूको ऋण समस्यालाई सक्रियताका साथ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।
चिनियाँ प्रधानमन्त्री लीले विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई प्रभावकारीरूपमा बढाउनु आवश्यक भएको बताए ।
यसैबीच, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले ४३औं आशियान शिखर सम्मेलनले दक्षिणपूर्वी एशियाली देश र तिनका साझेदार माझ सकारात्मक ऊर्जा प्रवाह गरेको बताएका छन् ।
“पछिल्ला तीन दिनमा हामीले १२ वटा शिखर सम्मेलन, ९० वटा दस्तावेज, आशियान साझेदारहरूसँग ठोस सम्झौता मात्र गरेनौं, सम्मेलनका क्रममा मैले उपस्थित सबैबाट सकारात्मक ऊर्जा प्रवाह भएको महसूस गरें । म विश्वासका साथ भन्न सक्छु कि आशियानलाई शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र बनाउने भावनालाई सुदृढ बनाउँछ,” राष्ट्रपति विडोडोले भने ।
राष्ट्रपति विडोडोले लाओ जनवादी लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोने सिफान्डानेलाई आशियानको अध्यक्षताको प्रतीक हथौडी हस्तान्तरण गरे । आशियानको अध्यक्षता लाओसमा सरेसँगै आगामी वर्ष उक्त देशमा सङ्गठनको ४४औं शिखर सम्मेलन आयोजनाको दायित्व सोही देशको हुनेछ । रासस