धर्मेन्द्र चौरसिया, पोखरिया, २१ भदौ/
पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवाखाजाको नाममा अनियमितता भएको पाइएको छ ।
सरकारले पछिल्लो समय कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवाखाजाको व्यवस्था गरेको छ । सोअनुरूप एकजना विद्यार्थीलाई रु १५ बराबरको खाजा विद्यालय सञ्चालन रहेको बखत व्यवस्था गर्नुपर्छ ।
सरकारले साताको छ दिन खुवाउने खाजाको पनि वर्गीकरण गरेको छ । एउटै खाजा सधैं दिन पाइँदैन तर यहाँका कतिपय विद्यालयहरूले नियमितरूपमा एकै प्रकारका खाजाहरू दिने गरेका छन् भने कमै विद्यालयहरूले मात्र दिनपिच्छे फरक तालिका अनुसार खाजा उपलब्ध गराउने गरेका छन् ।
अहिले दिवाखाजाका लागि पनि विद्यार्थीहरूको सङ्ख्या बढाउने गरिएको पाइन्छ ।
दिवाखाजा वितरण हुने कुनै पनि सामुदायिक विद्यालयहरूमा कक्षा ६ सम्मका विद्यार्थीहरूको हाजिरी रजिस्टर र उपस्थिति सङ्ख्यामा कम्तीमा २५ देखि बढीमा शतप्रतिशत फरक हुने गरेको छ ।
जुनसुकै बखत र जहिले पनि जाँदा रजिस्टरमा उल्लेख भए अनुसारको विद्यार्थी कक्षाकोठामा भेटिंदैनन् । यसको प्रमुख कारण हो दिवाखाजा । यसअघि छात्रवृत्ति, पुस्तक, स्टेशनरी, पोशाक आदिमा अनियमितताका लागि विद्यार्थी सङ्ख्या बढाइन्थ्यो तर अहिले ती सबैमा बिस्तारै–बिस्तारै कडाइ गरिंदै गएपछि अहिले विद्यार्थी सङ्ख्या बढाउनुको कारणमध्ये दिवाखाजा देखिएको छ । पोखरिया नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयहरूको हाजिरी तथ्याङ्क र कक्षाकोठाको गणना गर्ने हो भने त्यहाँ कहिल्यै हाजिरी रजिस्टर सरहका विद्यार्थीहरू भेटिंदैनन् ।
कक्षा ५ सम्म अध्यापन हुने नेरा दलित प्रावि पोखरिया–६ श्रीसियाको खाजा रजिस्टरमा विद्यार्थी सङ्ख्या १५० उल्लेख छ तर सो विद्यालयमा ३० जनाभन्दा बढी विद्यार्थीहरू कहिले भेटिंदैनन् । यही अवस्था पोखरिया नपा–४ मा रहेको नेरा आधारभूत विद्यालय सतवरियाको छ । बालविकासदेखि कक्षा ६ सम्म अध्ययन हुने यो विद्यालयमा दिवाखाजा खाने विद्यार्थी सङ्ख्या २३० छ, कुल विद्यार्थी सङ्ख्या भने २५० देखाइएको छ तर विद्यालयमा १३० जनाभन्दा बढी विद्यार्थी कहिले भेटिंदैनन् । यी दुई सामुदायिक विद्यालय उदाहरण मात्र हुन् १४ वटा पालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्था अपवादबाहेक यस्तै छ ।
सरकारले प्रतिविद्यार्थी रु १५ खाजाको व्यवस्था गरे पनि सो खाजा साप्ताहिकरूपमा उपलब्ध गराउनका लागि कार्यालय सहायक नियुक्त गरेको छैन, जसले गर्दा खाजा पकाउन पनि समस्या रहेको पोखरिया नगरपालिकास्थित नेरा आधारभूत सतवरियाका प्रधानाध्यापक रामबाबू चौहान बताउँछन् ।
उनले खाजा बनाउनका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको छैन, रु १५ मा सबैथोक व्यवस्थापनका लागि पनि समस्या भएको बताए । त्यसमा पनि खाजा बनेपछि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि तोकिएको छ तर त्यसैमा शिक्षक, कर्मचारी र अन्य कक्षाका बालबालिकाहरू पनि आउने गर्छन् । कसलाई रोक्ने समस्या हुन जान्छ ।
उनले दिवाखाजाका लागि छ दिनमा एक दिन दूध र सेवई, अर्काे दिन चना–आलु–भुजा, अन्डा–भुजा, बिस्कुट आदिको तालिका रहेको र यी खाजा रु १५ मा सम्भव नै नहुने बताए । यही व्यवस्थापनका लागि कसैले विद्यार्थी सङ्ख्या बढाएको हुन सक्ने उनले बताए ।