प्रस, वीरगंज, १७ भदौ/
नारायणी अस्पताल, वीरगंजमा मिर्गौलारोगीको उपचारका लागि २१ वटा डायलासिस मेशीन छन् ।
अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले २१ वटा डायलासिस मेशीनमध्ये अहिले १२ वटा सञ्चालनमा रहेको बताए । उनले बिरामीको चाप नभएकोले सबै मेशीन सञ्चालनको आवश्यकता नपरेको बताएका छन् । २१ वटामध्ये छवटा मेशीन पुराना भइसकेकाले र अहिले १५ वटा मेशिन नयाँ रहेको उनले बताए ।
छवटा पुराना मेशीनमध्ये पाँचवटा नेपाल सरकारबाट र एउटा दाताबाट प्राप्त भएको सूचना अधिकारी सिंहले बताए । अहिले चालू अवस्थामा रहेका १५ वटै डायलासिस मेशीन सरकारबाट प्राप्त भएका हुन् । अहिले दैनिक तीन सिफ्टमा मेशीन सञ्चालनमा रहेका र बिरामी सङ्ख्या बढेको खण्डमा थप जनशक्ति परिचालन गरी २१ वटै मेशिन सञ्चालनमा ल्याउन सकिने उनले बताए ।
आकस्मिक कक्षमा पनि डायलासिस सेवा
नारायणी अस्पतालको आकस्मिक कक्षमा पनि अहिले आकस्मिक डायलासिस सेवा सञ्चालन गरिएको सूचना अधिकारी डा सिंहले बताए । उनले आकस्मिक कक्षमा सेवा लिन आएका बिरामीहरूको आकस्मिक डायलासिस गर्नुपरेमा सोही कक्षमा डायलासिस सेवा दिनेगरी व्यवस्था मिलाइएको बताए । आकस्मिक सेवा २४सैं घण्टा उपलब्ध भए सरह डायलासिस सेवा पनि सोही अनुसार उपलब्ध हुने उनले बताए ।
बिरामीहरूको गुनासो
नारायणी अस्पतालमा डायलासिस गराउने बिरामीहरूले सेवा लिन जाँदा अहिले गर्मीयाममा निकै अप्ठेरो महसूस हुने गरेको बताएका छन् ।
१५ वटा नयाँ डायलासिस मेशीन जडित कक्ष वातानुकूलित नभएको उनीहरूले गुनासो गरेका छन् । वातानुकूलित यन्त्र जडान रहेको तर सञ्चालनमा नरहेको बिरामीहरूले बताए । उनीहरूले एकजना बिरामीको डायलासिस गर्दा कम्तीमा चार घण्टा समय लाग्ने गरेको तर वातानुकूलित यन्त्र सञ्चालनमा नरहेको र पङ्खाहरू पनि राम्ररी नचल्ने गरेको उनीहरूले बताए । अस्पतालका सूचना अधिकारी डा सिंहले आफूलाई यसबारेमा सूचना नभएको र चाँडै वातानुकूलित मेशीन मरम्मत गरिने बताए ।