प्रस, वीरगंज, १७ भदौ/

वीरगंज महानगरपालिका कार्यालयले आइतवार वीरगंज–२३ इटियाहीमा सडकसम्बन्धी विवादलाई सहमतिमा टुङ्गो लगाएको छ ।

सघन शहरी कार्यालयले हरपतगंजदेखि गण्डक नहरसम्म ३२ फिटको कालोपत्र सडक निर्माण गरिरहेकोमा सो सडकखण्डमा विवाद देखिएको थियो ।

विवादका कारण सडक निर्माण कार्य रोकिएकोले आज वडाध्यक्ष अवधकिशोर कुशवाहा, जग्गाधनीहरू मुन्नीलाल यादव, सन्तराउत अहिर, महानगरको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, नगरप्रमुखका सल्लाहकार हरि पोखरेल, नगरप्रहरी प्रमुख हरिप्रसाद भुसालसहितको टोलीबीच सहमति भएपछि निर्माण अवरुद्ध सडकखण्डमा ह्युमपाइप जडान गरिएको थियो ।

ह्युमपाइप जडान नहुँदा सो सडकखण्डबाट सवारीसाधनहरूको आवतजावत ठप्प भएको थियो । यो सडकखण्डमा सघन शहरी कार्यालयले ३२ फिट चौडा कालोपत्रे सडक बनाउने योजना पनि छ । यसअघि महानगरले यो सडकखण्डमा कालोपत्र सडक विस्तारका लागि वडा नं २२ मनियारमा रहेका पक्की घरहरू एक्साभेटर लगाएर हटाएको थियो । सघन शहरी कार्यालयले यो सडकखण्डमा ठेक्कामार्फत करीब रु २७ करोडको लागतमा कालोपत्र सडक निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here