हाम्रो मुलुकका विभिन्न समस्यामध्ये बेरोजगारी समस्या प्रमुख समस्याको रूपमा छ । सामान्यतया कुनै पनि काम गर्न योग्य, काम गर्ने इच्छा र तत्परता देखाउँदा देखाउँदै पनि उसले काम गर्ने अवसर पाउँदैन भने त्यसलाई बेरोजगारी भनिन्छ । अर्थात् शारीरिक तथा मानसिकरूपमा काम गर्न सक्षम, उमेर पुगेको तर पारिश्रमिक प्राप्त हुने काम नपाएका जनशक्ति नै बेरोजगारी हो । नेपालको कुल जनसङ्ख्यामा आर्थिकरूपले क्रियाशीलहरूको सङ्ख्या ५६ प्रतिशत मात्रै छ । क्रियाशीलमध्ये प्रतिवर्ष युवा करीब पाँच लाखको हाराहारीमा रोजगारको खोजीमा निस्कन्छन् । देशभित्र नगण्य अवसर प्राप्त हुने भएकाले उनीहरूको गन्तव्य वैदेशिक रोजगार हुने गरेको छ । नेपालका लाखौं ऊर्जाशील युवालाई बेरोजगारी सङ्कटले घेर्दै लगेको छ । बेरोजगारीको बढ्दो सङ्कटले युवापुस्तालाई चौतफीरूपमा अप्ठ्यारो पार्दै छ । जीवनमा के के गरौंला भन्ने आकाङ्क्षा, उर्लंदो सिर्जनशीलता र दृढ सङ्कल्प बोकेका नेपाली युवाहरू उपयुक्त रोजगारको खोजीमा अनेक कठिनाइको सामना गर्दै विदेशमा भौंतारिन बाध्य छन् ।
नेपालको समग्र बेरोजगारी दर १०.६ प्रतिशत छ । १५ देखि २९ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर १९.४ प्रतिशत छ । युवा बेरोजगारीको यो तस्बिरले समस्या सम्बोधन गर्न तत्काल ठोस र प्रभावकारी कदम चाल्न अबेर हुन लागिसकेको छ भन्ने देखाउँछ । आजसम्म सत्तामा जो आए पनि नेपाल सरकार रोजगार अभावको चुनौती सम्बोधन गर्न असफल छ । प्रत्येक निर्वाचन चक्रमा राजनीतिक दलहरूले निकै ठूलठूला वाचा गरेका थिए । तर कसैले पनि बेरोजगारीको चुनौतीसँग जुझ्न र उक्त मुद्दामा केन्द्रित भएर ठोस योजना अगाडि सार्न सकेनन् । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको जतिसक्दो छिटो हल गरिनुपर्छ । यो समस्या समाधान गर्नुपर्ने दायित्व सरकारको हो । सरकारलाई सहयोग गर्नु हरेक नेपालीको नागरिक दायित्वभित्र पर्छ । आज हाम्रो मुलुकभित्र लाखौं लाख शिक्षित युवायुवतीहरू बेरोजगार छन् । कैंयन क्षमतावान् युवाजनशक्ति स्वदेशमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भएका छन् । मुलुकमा जतिसुकै विप्रेषण भित्रिए पनि युवा जनशक्तिलाई विदेश पठाएर देशको विकास कहिल्यै हुन सक्दैन ।
हाम्रो मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्नका लागि सरकारले रोजगार सिर्जना गर्ने स्पष्ट नीति निर्माण गर्न सक्नुपर्छ । निजी र सरकारी क्षेत्रसँगको सहकार्यमा मुलुकमा लगानीको वातावरण तयार पार्नुका साथै रोजगारका सम्भावित अवसरहरूको सिर्जना गर्नुपर्छ । त्यसैगरी, सरकारले लगानीमैत्री वातावरण बनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारका क्षेत्रहरूको विस्तार गर्न सकिन्छ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्न सके अत्यधिकरूपमा स्वरोजगार सिर्जना हुन सक्छ । उद्योग, व्यापार, पर्यटन, निर्माण आदि क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ । जलको अधिकतम उपयोग, जङ्गल र जडीबुटीको संरक्षण, विकास र उपयोग गर्दै स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ । यसरी उपलब्ध स्रोत र साधन अधिकतम परिचालन गर्नुपर्छ । उद्यमशीलता तथा स्वरोजगारिता प्रवद्र्धनका कार्यक्रमहरूलाई स्थानीयस्तरसम्म वितरण गरिनुपर्छ ।