नितेश कर्ण, वीरगंज, १४ भदौ/
सर्लाही जिल्लामा अनुचित लेनदेन मिटरब्याजसम्बन्धी उजूरीका ६५ जना फरार सूचीमा रहेका छन् ।
सर्लाहीमा १७ पालिका छन् र ती सबै पालिकाबाट मिटरब्याज सम्बन्धमा २८६ वटा उजूरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दर्ता भएका छन् । जसमध्ये १६७ वटा उजूरी छलफलबाट फछ्र्योट भएको र ६५ वटामा भने सम्बन्धित व्यक्ति छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका सो कार्यालयले जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको बताए ।
उनले उजूरी फछ्र्योट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउने गरेको तर छलफलमा पटक–पटक बोलाउँदा नआएका ६५ जनालाई फरार सूचीमा राखिएको उनले बताए ।
छलफलमा बोलाउँदा उपस्थित नहुने पक्षलाई कानूनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय, सर्लाहीले यसअघि जानकारी गराएको थियो । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार भइसकेको छ ।
सप्रजिअ घिमिरेले अहिले ३५ वटा उजूरी फछ्र्योट गर्न बाँकी रहेको बताए । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको उनले बताए । उनले मुद्दा अदालतमा विचाराधीन अवस्थाका उजूरीहरूमा भने छलफल नगराइएको जानकारी गराए ।