नरेश यादव, पर्सागढी, १३ भदौ/
वीरगंज महानगरपालिका–३१ मा रहेका नौवटा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि सन्तोषजनक नरहेको र सुधारका लागि महानगरपालिका उदासीन देखिएको वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले आरोप लगाएका छन् ।
उनले आफ्नो वडामा दुई मावि, एक निमावि र छवटा प्रावि गरी नौवटा सामुदायिक विद्यालय रहेका तर शैक्षिक गतिविधि सन्तोषजनक नदेखिएको बताए ।
उनले महानगरका ३२ वटै वडामध्ये एउटै वडामा नFैवटा विद्यालय भएको आफ्नो मात्र वडा रहेको तर यहाँको शैक्षिक गतिविधि सुधारमा आफ्नो मात्र प्रयास पर्याप्त नभएको र महानगरपालिकाले यसमा चासो नदेखाएको आरोप लगाएका छन् । उनले वडाका दुईवटा विद्यालयमा स्थापनाकालदेखि एकैजना व्यक्ति हालसम्म डेढ दशकभन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको बताए ।
आदर्श बालविकास आधारभूत विद्यालय २०६६ सालमा स्थापना भएको र सोही बखतदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुलेमान अन्सारी रहेको उनले बताए । उनले विव्यसले अहिलेसम्म सार्वजनिकरूपमा कार्य नगरेको, माइन्युट बूकमा मात्र बैठक र समिति गठन भएको आरोप लगाए । यसैगरी, सोही वडामा २०६६ सालमा स्थापित उन्नति प्राविमा शेख समिम अख्तर अन्सारी, रामजानकी आधारभूत विद्यालय बेल्वामा अनिरुद्ध दहित र लक्ष्मीनारायण मावि, कोनियामा पनि नवलकिशोर यादवका परिवारका मानिसहरू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दै आएका वडाध्यक्ष यादवले बताए ।
उनले शिक्षक भर्नालगायत विद्यालयका गतिविधिमा आर्थिक तथा सामाजिक प्रभाव पार्ने नियतले आधिपत्य जमाएर बस्ने चलन हालसम्म जारी रहेको बताए । वडाध्यक्ष यादवले यसबारेमा नगरप्रमुख राजेशमान सिंह र शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णको ध्यानाकर्षण गराउँदै आएको तर कुनै सुधार नभएको बताए ।
उनले एउटै वडामा नौवटा विद्यालय र एउटै गाउँमा दुईवटा विद्यालय सञ्चालनमा रहेका तर त्यहाँ विद्यार्थीहरू हाजिरी रजिस्टर बमोजिम कहिले नदेखिएका, शिक्षकहरू पनि कहिले समयमा नआउने, आएको केही बेरमैं बाहिरिने, अध्यापन नगराउने जस्ता समस्या रहेको बताए । आफूले विद्यालय अनुगमन गर्दा कहिले शिक्षकहरू समयमा नआएका, विद्यार्थीहरू त्यत्तिकै खेलेर बसेका, रजिस्टरमा पाँच सय सङ्ख्या देखिए पनि विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी नदेखिएका उनले आरोप लगाए ।
उनले एउटा विद्यालयमा कक्षा १ देखि ५ सम्ममा ५० जना विद्यार्थी मात्र भेटिएका तर रजिस्टरमा भने पाँच सय विद्यार्थी उपस्थित रहेका देखाइएको उनले बताए । महानगरको शिक्षा महाशाखाले निमावि र प्राविका प्रअहरूलाई सरुवा गरी शिक्षामा सुधार ल्याएको दाबी गरे पनि सरुवा भएका प्रअहरू पुरानै विद्यालयमा फिर्ताको तयारीमा रहेको बुझिन आएको उनले बताए ।
आधारभूत विद्यालय बेल्वा प्रसौनीका प्रअ हासिम अन्सारीको माईस्थान विद्यापीठ माविमा सरुवा भएकोमा अहिले पुनः उनलाई पुरानै विद्यालयमा सरुवाको चिठी बनेको जनाइएको छ । आधारभूत विद्यालय बेल्वा प्रसौनीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ४० लाख बजेट आएकोले प्रअ अन्सारी सरुवा भएर आउन खोजेको बुझिन आएको छ ।