प्रस, वीरगंज, १३ भदौ/
वीरगंज महानगरपालिका कार्यालयले बुधवार अनुमतिविना सञ्चालित तीनवटा शैक्षिक संस्थामा सिल लगाएको छ । महानगरले जनाए अनुसार वीरगंज स्कूल अफ ल, बिजी बिज किड्स प्रि स्कूल र इम्पेरियल कलेज इजाजतविना सञ्चालनमा रहेको पाइएपछि आज महानगरको टोलीले तीनवटै शैक्षिक संस्थामा सिल लगाएको नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।

उनले अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्न नगरप्रमुख राजेशमान सिंहको निर्देशन रहेको र आज नियमन समितिले तीनवटा शैक्षिक संस्था इजाजतविना सञ्चालनमा रहेका पाइएपछि सिल गरेको बताए ।

उनले वीरगंज महानगरपालिका–१३ मा रहेको वीरगंज स्कूल अफ ल, वडा नं ११ स्थित इम्पेरियल कलेज र वडा नं ५ स्थित बिजी बिज किड्स प्रि स्कूलमा महानगरपालिकाले सिल लगाएको बताए । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले विद्यालय सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको थियो । जनसम्पर्क सल्लाहकार फुयाँलले वीरगंज स्कूल अफ ल र इम्पेरियल कलेज अन्य स्कूलका नाममा सञ्चालनमा रहेको र सञ्चालित स्थान पनि नमिलेको बताए । उनले सञ्चालित स्कूलहरू आफ्नो नाम र वडा अनुसार सञ्चालन हुनुपर्ने, वडा सार्दा सोही अनुरूपको स्थानान्तरणको इजाजत लिएको हुनुपर्नेमा सो नगरिएको पाइएको बताए । यसैगरी, बिजी बिज किड्स प्रि स्कूल भने इजाजतविनै सञ्चालनमा रहेकोले सिल गरिएको उनले जानकारी गराए ।

अनुगमनमा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडाध्यक्ष प्रदीप चौरसिया, हीरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईं, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here