प्रस, निजगढ, ९ भदौ/
नेवारी भाषा, संस्कृति, सभ्यतालाई जोगाउन विभिन्न भूगोल, क्षेत्र, स्थानमा छरिएर बसेका नेवार समुदायहरू एकजुट हुनुपर्ने बाराका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले बताएका छन् ।

निजगढमा शनिवार आयोजित नेवाः देय् दबूको दोस्रो बारा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले कुनै समय नेवारी समुदाय नेपालमा व्यापारको क्षेत्रमा अग्रपङ्क्तिमा रहे पनि अहिले निकै कम हुँदै गएको बताए । आफ्नो पनि व्यापार, उद्योग, कलकारखाना रहेको बताउँदै उनले इतिहासको कुनै कालखण्डमा नेवारले नेपाललाई ऋण मोचन गरेको इतिहास रहेको दाबी गरे । सबैले आफूले जानेका, चाहेका व्यापार, उद्योग, कलकारखानालगायतका अन्य पेशामा अघि बढ्दै भाषा, कला, संस्कृति, सभ्यतालाई जोगाइराख्नुपर्ने र त्यसका लागि सबै नेवार एकजुट भएर अघि बढ्नुपर्ने बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुकला, बहुसंस्कृति, बहुपहिचान भएको साझा फूलबारी हो, संसारमा यसको महŒव बेग्लै रहेको भन्दै सांसद श्रेष्ठले अन्य जातजातिका भाषा, धर्म, कला, संस्कृति, सभ्यता, पहिचानलाई उत्तिकै आदरपूर्वक सम्मान गर्नुपर्ने बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै शिलान्यास हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । प्रधानमन्त्रीले हिजो वीरगंजमा यसबारेमा चर्चा गरेकाले शिलान्यास हुने कुरामा ढुक्क हुन सांसद श्रेष्ठले जिकिर गरे ।

नेवाः देय् दबू केन्द्रीय कार्यवाहक अध्यक्ष चन्द्रलाल राजभण्डारीले नेवारी भाषा, कला, संस्कृतिको संसारमा नै विशिष्ट स्थान रहेको बताउँदै राजा महेन्द्र बेलायत सम्मेलनमा जाँदा नेपालको राष्ट्रिय गान नेवारी हो भन्ने कुराको अझै पनि प्रमाण रहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशका सभासद त्रिलोकी चौधरी, निजगढका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष धनश्याम श्रेष्ठ, प्रदेश अध्यक्ष तिलकलाल श्रेष्ठ, समाजसेवी एकबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
नेवाः देय् दबूको दोस्रो बारा जिल्ला अधिवेशन तयारीका तदर्थ समिति संयोजक शिवराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मदन कंसाकारले गरेका थिए भने भाइकाजी श्रेष्ठ र विदुरलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबीच नेवाः देय् दबू दोस्रो बारा जिल्ला अधिवेशनबाट २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । शिवराम श्रेष्ठको अध्यक्षतामा गठित समितिको वरिष्ठ उपाध्यक्ष राजकुमार मानन्धर, उपाध्यक्ष राजन श्रेष्ठ, महिला उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, सचिव मदन कंसाकार, महिला सचिव किरण श्रेष्ठ, कोषाध्यक्ष कश्यप श्रेष्ठलगायत सदस्यहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here