प्रस, परवानीपुर, ९ भदौ/
काठमाडौं चावहिलकी यमुना बस्नेत एक महीनादेखि वीरगंज आसपासमा भौंतारिरहेकी छन् । उनी पतिको खोजीमा पर्सा र बाराका विभिन्न स्थानमा एक महीनादेखि भौंतारिंदै छिन् ।
३९ वर्षीय उनका पति जीवन बस्नेत दुई महीनाअघि काठमाडौंबाट सुमोमा वीरगंज आएका थिए । सोही बखतदेखि उनी सम्पर्कमा नआएको र प्रहरीले पनि खोजी गर्न नसकेपछि थाकेर वीरगंज आएको यमुना बताउँछिन् । जीवन असार २ गते सुमोबाट वीरगंज आएका थिए । उनी काठमाडौंमा क्याफे चलाउँथे र सोही क्याफेका लागि सामान खरीद गर्न भनी उनी वीरगंज आएको पत्नी यमुना बताउँछिन् ।
उनले पर्सा र बाराका विभिन्न स्थानहरू एक महीनामा घुमेको र सीमावर्ती भारतको रक्सौलमा पनि पुगेर खोजी गरेको तर पत्ता नलागेको बताइन् । उनले पतिका बारेमा कसैलाई जानकारी भए नजीकको प्रहरी अथवा आफूलाई ९८०३०६९७३३ मा जानकारी गराउन अपील गरेकी छन् ।