प्रस, वीरगंज, ८ भदौ/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महिलाहरूलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् ।

वुमन स्किल सेन्टरको १०औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उनले महिलालाई लक्षित गरेर वुमन स्किल सेन्टरले गर्दै आएको कामको प्रशंसा गरे । उनले महानगर महिलाहरूको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने कार्यमा वुमन स्किल सेन्टरसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले नामको मात्र तालीम दिने कार्य नगरी महिलाहरूलाई वास्तवमा आत्मनिर्भर पार्ने गरी कार्यक्रम ल्याउन सुझाए । नगरप्रमुख सिंहले महानगरको सामाजिक विकास महाशाखामा ४० प्रतिशतसम्म कमिशन लिएर तालीम, प्रशिक्षण जस्ता कार्यहरू गराउने गरेको सुनेको र यही कारणले प्रतिफल नपाएको हुन सक्ने बताए । उनले स्किल सेन्टरलाई वास्तविकरूपमा महिलाहरूलाई टेवा पुग्नेगरी तालीम, प्रशिक्षणको योजना ल्याउन आग्रह गर्दै सो कार्यमा आफूले सघाउने बताए ।

वुमन स्किल सेन्टरकी अध्यक्ष चञ्चला दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्ष सुबोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, आन्तरिक राजस्व कार्यालय, वीरगंजकी कर अधिकृत कोनिका झा, संस्थाकी पूर्वअध्यक्ष विशेश्वरी शाह, निभा दास, नूतन सरावगीलगायतले वार्षिकोत्सव सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । संस्थाकी सबनम श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा डा सुषमा तिवारी द्विवेद्वीले स्वागत गरेकी थिइन् ।

सोही कार्यक्रममा वुमन स्किल सेन्टरमा आबद्ध स्व ममता राजकर्णिकारको सम्झनामा तीनजना अपाङ्गलाई नगरप्रमुख सिंह, मल्लिका ताम्राकार र पूजा सरावगीले एक/एक थान ह्वील चेयर प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here