• डा शिवशंकर यादव

पाठकवृन्द, गताङ्कमा मूड अथवा चित्तवृत्ति विकृतिको परिचय, वर्गीकरण र लक्षणहरूबारे हामीले जानकारी पाएका थियौं । आज पालो त्यसको कारण र निवारणको हो । तर त्यसभन्दा पहिले वर्गीकरणमा नअटाएका केही छिटपुट चित्तवृत्ति विकृतिको संक्षिप्त विवेचना गर्न आवश्यक छ, ती चित्तवृत्ति विकृति निम्नलिखित हुन् :

१. मिक्सड एन्जाइटी डिप्रेसिभ डिजार्डर अर्थात् मिश्रित चिन्ता र उदासीको अवस्था : यसको नामले नै के बुझाउँछ भने यसमा चिन्ता र उदासी दुवै रोगीमा एक साथ हुन्छन् । हामीले चिन्ता र उदासी दुवैलाई एउटै हो जस्तो भनी दिन्छौं तर त्यसो होइन । जब यी दुवै एकसाथ हुन्छन्, तब रोगीको व्यथा र असमर्थता झन् बढी मुखरित हुन्छ ।

२. मास्क्ड डिप्रेसन अथवा छोपिएको उदासी : यसमा मूडमा वा अनुहारमा कुनै गडबडी नै देखिंदैन र खाली शारीरिक गडबडी मात्र देखिन्छ । रोगी आएर भन्छ कि मेरो पेट दुखिरहेको छ, टाउको दुखिरहेको छ आदि इत्यादि । खोजी गर्दा चिकित्सकले के पाउँछ भने रोगी त डिप्रेसनको स्थितिमा छ । यहाँ आएर केवल दुखाइको मात्र निदान गरियो भने रोगी ठीक हुँदैन । एन्टिडिप्रेसेन्ट चलाइयो भने पेटको दुखाइ पनि बन्द हुन्छ । यस्ता रोगी मदिरा खान बढी प्रवृत्त हुन्छन् ।

३. डबल डिप्रेसन अर्थात् दोहोरो उदासी : यहाँ बुझ्नुपर्ने कुरा यो हो कि यसमा दुईटा डिप्रेसन होइन बरु न्यूरोसिस र डिप्रेसन सँगसँगै छ । यस कारण यसलाई डबल डिप्रेसन भनियो । यो एक्कासि र कडा रूपमा प्रकट हुन्छ र यसको उपचार पनि कठिन हुन्छ ।

४. एग्रिटेटेड डिप्रेसन अथवा विक्षुब्ध चित्तवृत्ति विकृति : यसमा रोगीको चित्तमा धेरै खलबली मचेको हुन्छ । यस कारण यसले यो नाम पाएको हो । यो डिप्रेसनको धेरै कडा रूप हो र केवल एन्टिडिप्रेसेन्ट औषधिले मात्र काम गर्दैन । यसको साथमा एन्टिसाइकोटिक औषधि पनि दिइन्छ ।

५. सिजनल अथवा मौसमी डिप्रेसन : यो बढी महिलामा हुन्छ । यो यस्तो डिप्रेसन हो, जो हर वर्ष एउटै मौसममा देखिन्छ । बाँकी मौसममा रोगी बिल्कुल ठीक र सामान्य हुन्छ । अक्सर के देखिएको छ भने डिप्रेसिभ इपिसोड त जाडोमा देखिन्छ तर मैनियाको इपिसोड गर्र्मी मौसममा देखिन्छ । दिनको लम्बाइ कम र प्रकाश कम भएको असर हाइपोथैलेमसमा हुन्छ र डिप्रेसन घटित हुन्छ । यसमा रोगीको उपचार प्रकाश थेरापीले गरिन्छ । यसमा अत्यधिक बेचैनी, थकान, धेरै निद्रा, कार्बोहाइड्रेटयुक्त खाना खाने इच्छा हुनु आदि हुन्छ । जसले गर्दा वजन बढेर जान्छ, जबकि यसको ठीकविपरीत मैनियामा हुन्छ र वजन कम हुन्छ ।

६. सेकेन्ड्री डिप्रेसन : यसको नामैले थाहा लाग्छ कि मुख्य कुरा त अरू हुन्छ, जसले डिप्रेसन गराउँछ । जसरी अल्कोहलले डिप्रेसन गर्छ । त्यस्तै, अन्य कतिपय औषधिले पनि डिप्रेसन गर्छन् ।

अब आउनुस् यो हेरौं कि कुन कुन कारणले हुन्छ चित्तवृत्ति विकृति–

कारण : वास्तवमा भन्ने हो भने कुनै निश्चित कारणको यसबारेमा अहिलेसम्म कुनै जानकारी छैन । यस कारणले यसबारे कतिपय सिद्धान्तको विवरणमा जानुपर्छ, जसले यसको व्याख्या गर्छ । यी सिद्धान्तहरू निम्नलिखित छन्–

१. जैविक वा बायोलजिकल सिद्धान्त
२. साइकोसोसल वा मनोसामाजिक सिद्धान्त
१. जैविक सिद्धान्त : यसमा निम्नलिखित सिद्धान्त पर्छन्–

क) जेनेटिक हाइपोथेसिस अथवा गुणसूत्र परिकल्पना : यसको अनुसार रोगको निर्धारण मानिसको जिनमा नै हुन्छ । यदि आमाबुबालाई छ भने छोराछोरीहरूमा रोग हुने सम्भावना बढी हुन्छ ।

ख) बायोकेमिकल अथवा जैव रसायन सिद्धान्त : यस सिद्धान्तलाई पनि मान्नै पर्छ । यस अनुसार मानिसको जैव रसायनको मात्रामा गडबडीले डिप्रेसन हुन्छ । यो सिद्धान्त ठीक किन भनियो भने मैनियामा कैटेकोलामाइनको स्तर बढेको र डिप्रेसिभ फेजमा घटेको पाइएको छ । कैटेकोलामाइन पनि थुप्रै हुन्छन् तर मुख्यरूपले नरइपिनेफ्रिन, डोपामिन र सिरोटिनिनको स्तर नै जिम्मेवार हुन्छ । यस कारण मैनियाको उपचारमा कैटेकोलामाइन घटाउने र डिप्रेसिभ स्टेजको उपचारमा कैटेकोलामाइन बढाउने औषधिबाट सफलतापूर्वक उपचार गर्न सकिएको छ ।

ग) न्युरोइन्डोक्राइन अथवा स्नायु हार्मोन सिद्धान्त : मूडमाथि हार्मोनले निकै प्रभाव पारेको देखिन्छ । थायरायड हार्मोन अधिक भयो भने मानिस बढी गफाडी भएको र कम भएमा एकदम सुस्तःमनस्थितिको देखिन्छ । त्यस्तै, कतिपय चिकित्सकले डिप्रेसनको इलाज टेस्टोस्टेरोनले पनि सफलतापूर्वक गरेको देखिएको छ । यसको मतलब यो भयो कि पुरुष हार्मोनको कमीले पनि निश्चितरूपमा डिप्रेसन हुन्छ । यही कुरा स्त्री हार्मोनको लागि पनि सही छ ।

घ) निद्राको सिद्धान्त : अत्यधिक कम सुतियो वा अत्यधिक बढी सुतियो भने पनि डिप्रेसनको कारण बनेको देखिएको छ । निद्रा त्यो अवस्था हो, जसले सम्पूर्ण शरीरको मरम्मत गर्छ । त्यही भएन भने गडबडी त अवश्यम्भावी छ । तर निद्राको ओभरफ्लो पनि त्यस्तै खराब हुन्छ, जसरी बाइकको मोबिल ओभरफ्लो भएर बाइक बिग्रिन्छ ।

च) ब्रेन इमेजिङबाट देखिएको तथ्य : मूड डिजार्डरमा के देखिएको छ भने ब्रेनको भेन्ट्रिकिल फैलिएको हुन्छ । अर्को शब्दमा यो पनि भन्न सकिन्छ कि जसको भेन्ट्रिकिल फैलिएको हुन्छ, त्यसलाई मूड डिजार्डर हुने सम्भावना बढी हुन्छ । यसको अतिरिक्त यो पनि देखिएको छ कि प्रिफ्रोन्टल र सिन्गुलेट कार्टेक्स तथा कौडेट न्युक्लियसमा अधिक रक्तप्रवाहले पनि मूड डिजार्डर गराउँछ ।

२. मनोसामाजिक सिद्धान्त : यसमा तीनवटा कुरा आउँछन्–

क) साइकोएनालिटिक अथवा मनोविश्लेषकीय सिद्धान्त : के देखिएको छ भने यौनेच्छा कम गर्ने औषधि दिइयो भने मैनिया कम हुन्छ तथा यौनेच्छा बढाउने औषधि प्रयोग गरियो भने डिप्रेसन कम हुन्छ । यसको मतलब यो भयो कि यदि तपाईंको यौनजीवन गडबड छ भने तपाईंमा डिप्रेसन हुन सक्ने सम्भावना बढी हुन्छ । मनोविश्लेषकले खोतलेर रोगीबाट यो थाहा पाउँछ र त्यस कारण यसलाई साइकोएनालिटिक सिद्धान्त भनियो ।

ख) स्ट्रेस अथवा तनाव : प्रायः हामी सबैलाई थाहा छ कि तनावपूर्ण जीवन कस्तो खराब हुन्छ भनेर । सायद मानवजीवनको सबैभन्दा बढी उपक्रम यसै तनावबाट छुटकारा पाउनको लागि नै हुन्छ । अतः तनावपूर्ण जीवन वा कुनै घटनाले निश्चितरूपले मूडमा खराबी ल्याउँछ ।

ग) कग्निटिभ एन्ड बिहेबियरल अथवा चेतना र व्यवहारको सिद्धान्त : चेतना दुई प्रकारको हुन्छ– निगेटिभ र पोजेटिभ । हामी सबैलाई थाहा छ कि सुखी जीवन व्यतीत गर्नको लागि पोजेटिभ चित्त अथवा सकारात्मक सोच आवश्यक छ । अन्यथा मानिस निगेटिभ चिन्तनको भूलभूलैयामा यसरी हराउँछ कि त्यहाँबाट निस्कने उपाय कठिन हुन्छ । यस्तोमा मूड डिजार्डर नहुने कुरै आउँदैन । त्यसैले के देखिन्छ भने मूड डिजार्डर जति पोजेटिभ सोचले निको हुन्छ, त्यति औषधिले पनि हुँदैन । पोजेटिभ सोचको मतलब यो हुन्छ कि जे छ त्यसलाई स्वीकारेर अगाडि बढ्ने । निगेटिभ सोचको मतलब हुन्छ कि जो पनि छ उसको मीनमेख नै निकालिरहने र असन्तुष्ट रहिरहने ।

उपचार : मूड डिजार्डरको उपचार दुई स्तरमा गरिन्छ– सोमेटिक अथवा शारीरिक र २. साइकोसोसल अथवा मनोसामाजिक ।

१. सोमेटिक शारीरिक : विभिन्न प्रकारका एन्टिडिप्रेसेन्ट औषधिहरू छन्, जो चिकित्सकले निर्धारित गर्छन् । कडा खालको डिजार्डरमा आजभोलि लिथियमको पनि प्रयोग गरिन्छ । ती औषधिको नाम र मात्राको विवरण चिकित्सकले उपलब्ध गराउँछन् । यसको अतिरिक्त एन्टिसाइकोटिकको पनि प्रयोग गरिन्छ तथा केही एक्स्ट्रा मूडलाई स्थिर पारिराख्ने औषधि पनि प्रयोग गरिन्छ, जसमा सोडियम भाल्प्रोएट मुख्य छ ।

२. मनोसामाजिक उपचार :
क) व्यावहारिक थेरापी : जसमा रोगीलाई थुप्रै काम सिकाइन्छ र गराइन्छ ।

ख) ग्रुप थेरापी : जसमा आठ/दश मानिसको एउटा समूह बनाइन्छ, उनीहरू समयसमयमा मिलेर आपसमा गफगाफ र छलफल गर्छन् ।

ग) फेमिली थेरापी : परिवारका हरेक सदस्यलाई रोगीको प्रकृतिबारे बताएर उसप्रति कस्तो व्यवहार र सहानुभूति प्रकट गर्ने भन्ने तरीका सिकाइन्छ ।

घ) साइकोएनालिसिसः यसमा सधैं रोगीको मनोविश्लेषण गरिन्छ । यसको मतलब यो हो कि पटकपटक रोगीको विगतका घाउहरू पत्ता लगाउने र त्यसपछि रोगीलाई हौसला प्रदान गर्ने । यी सबैले उपचारमा सहयोग गर्छन् ।

बाइपोलर गडबडी उमेरको तेस्रो दशकमा र युनिपोलर गडबडी पFँचौं तथा छैटौं दशकमा देखिन्छ । मैनिया तीनदेखि चार महीनासम्म र डिप्रेसन चारदेखि छ महीनासम्म हुन्छ । मैनिया दुईदेखि तीन महीना र डिप्रेसन चारदेखि छ महीनाको उपचारले काबुमा आउँछ । यसमा के देखिएको छ भने ४० प्रतिशत रोग तीन महीना, ६० प्रतिशत रोग छ महीना र ८० प्रतिशत रोग एक वर्षको उपचारमा ठीक हुन्छ । बाँकी १५ वा २० प्रतिशत क्रोनिक अवस्थामा रहन सक्छ तर त्यति कडा रूपमा रहन सक्दैन । देख्नमा यो पनि आएको छ कि ७५ प्रतिशत रोग पाँच वर्षपछि फेरि पलाउँछ । जसरी उमेर बढ्दै जान्छ, त्यसरी मैनिया र डिप्रेसनको प्रकट हुने बीचको अवधि पनि कम हुँदै जान्छ । यो चक्र कसैकसैमा एक वर्षमा चारचोटि हुन सक्छ, जसलाई रैपिड साइक्लिक भनिन्छ । डिप्रेसनले हृदयरोग पनि निम्त्याउन सक्छ र इम्युनिटीलाई पनि घटाउँछ । यस कारण यो वास्तविकभन्दा पनि बढी मृत्युको कारण बन्छ । तर यसको उपचारको नतीजा सिजोफ्रेनियाभन्दा धेरै राम्रो हुन्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here