प्रस, निजगढ, ७ भदौ/
कालोपत्रे सडक काल हो कि गन्तव्य पुग्ने सहज मार्ग । सवारीसाधनमा गन्तव्यमा जाने जो कोही यात्रीहरू पनि सायद मनमनै सोच्न विवश हुन्छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग भनिए पनि राजमार्गका सडक, पुल, पुलेसाहरूको अवस्था कस्तो हुनुपर्छ भन्ने यथार्थतालाई अहिलेसम्म पनि सरकारले गम्भीरतापूर्वक व्यवस्थित गर्न ध्यान दिएको पाइँदैन । राजमार्गका सडकमा बर्सेनि वर्षात्को बेला सडक बीच र किनारामा गहिरा खाल्डाखुल्डीहरू परेका हुन्छन् । यसको बेलैमा मरम्मतसम्भारमा सरोकारवाला निकायहरू सडक डिभिजन कार्यालय र पुल विभाग कार्यालयको ध्यान पटक्कै गएको पाइँदैन । त्यसैले दुर्घटनाका विभिन्न कारणहरूमध्ये यी प्रमुख र सहायक दुवै कारण बन्न सक्ने अवस्थालाई नकार्न सकिंदैन ।

बारामा पछिल्लो दुईवटा यात्रुवाहक बस दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् भने ५० जनाभन्दा बढी यात्री गम्भीर घाइतेसँगै शारीरिक अङ्गभङ्ग भएका छन् ।

२०८० भदौ ७ गते बिहीवार राति करीब २ः३० बजे रात्रिबस पल्टिंदा छजनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा गरी सातजनाको मृत्यु भएको छ भने, तीनजना गम्भीरसहित १९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१–ख ७९९४ नम्बरको यात्रुवाहक रात्रिबस पल्टिंदा बसमा सवारमध्ये सातजनाको मृत्यु भएको मधेस प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले जनाएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको अमलेखगंज–हेटौंडा सडकखण्डको बारास्थित चुरियामाई मन्दिरदेखि करीब एक सय मिटर दक्षिण सो दुर्घटना भएको जनाइएको छ । सो बस सडकबाट करीब १२ मिटर तल चुरिया खोलामा खस्दा बसमा सवार सातजना यात्रीको मृत्यु हुन गएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरी लोहारपट्टी बस्ने ४१ वर्षीय विजयलाल पण्डित, भारत राजस्थान बस्ने ६७ वर्षीय बहादुर सिंह, भारत राजस्थान बस्ने ६५ वर्षीया मीरा देवी, पहिचान नखुलेका एकजना पुरुष र तीनजना महिला गरी सातजनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ ।

सो रात्रिबस दुर्घटना भएको जानकारी पाउनासाथ ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगी घाइतेहरूको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । सो दुर्घटनामा तीनजना गम्भीर घाइतेसहित १९ जना घाइतेको हेटौंडास्थित सरकारी अस्पतालमा उपचार भइरहेकामा दुईजना घाइते डिस्चार्ज भएका बारा प्रहरीले जनाएको छ ।

रातभरि अविरल वर्षा, सो सडक क्षेत्र पहाडी भूगोल भएकोले पनि घटनास्थल पुगेका सुरक्षाकर्मीहरूलाई घाइते यात्रुहरूको उद्धार गर्न कठिनाइ भएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताए । सो दुर्घटना के कति कारणले भएको हो भन्ने अहिले यकीन नभएको मधेस प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

सो बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेकाले अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

अहिलेसम्मका सवारीसाधन दुर्घटनामा मानवीय त्रुटि, यान्त्रिक गडबडी, ट्राफिक नियमको उल्लङ्घन, अनूकुल मौसम, सडकको अवस्था, छाडा चौपाया, वन्यजन्तु सडक वारपार गर्दालगायतका कारणहरू पाइएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बताए ।

त्यसैगरी, गत वर्ष २०७९ असोज २१ गते बिहान बाराको अमलेखगंजस्थित तीन र चार नम्बर पुलबीचको मोडमा रात्रिबस सडकबाट करीब ३० मिटर तल खस्दा घटनास्थलमा आठजना र उपचारका क्रममा १० जना गरी १८ जनाको मृत्यु भएको थियो । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको त्यस बस बाग्मती प्रदेश ०६–००१ ख ०११० नम्बरको थियो । बसमा करीब ५० जना सवार थिए ।

सवारीसाधन दुर्घटना बढेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अग्रसरतामा राजमार्गस्थित अमलेखगंज सडकमा दक्ष मेकानिक टोली, चालकहरूको स्वास्थ्य चेकजाँचसम्बन्धी क्याम्प नै सञ्चालन गरी दुर्घटना न्यूनीकरणको प्रयास भएको थियो । तर पनि गम्भीर प्रकृतिको दुर्घटना अझै रोकिएको छैन ।

दुवै दुर्घटना बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगंजको पहाडी र भिरालो क्षेत्रमा भएको हो । मधेस प्रदेशभित्रका राजमार्ग र भित्री सडकहरूमा दुर्घटनाको अवस्था गम्भीर बन्दै गइरहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here