प्रस, परवानीपुर, २ भदौ/
बाराको प्रसौनीमा निर्मित योग भवनको पूर्वमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका छन् ।

प्रसौनी गाउँपालिका–३ मा निर्मित पतञ्जलि योग भवनको शनिवार एक कार्यक्रमका बीच मधेस प्रदेशका पूर्वमन्त्री सोनलले उद्घाटन गरेका हुन् । प्रदेशसभा सदस्य सोनलको संसदीय विकास कोषको ३० लाख रुपैयाँको लागतमा निर्मित भवनको उद्घाटन गर्दै उनले वैदिक दर्शनको आधारमा योग सञ्चालन गरी सभ्य, सुसंस्कृत समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । योगले मानवलाई मानसिक र शारीरिकरूपमा मात्र नभई आध्यात्मिकरूपमा समेत स्वस्थ राख्नुका साथै सकारात्मक चिन्तनको विकास गर्ने उनको भनाइ थियो । भवन निर्माणले नियमित योग गर्नेहरूलाई सहजता हुने विश्वास व्यक्त गर्दै उनले भविष्यमा भवनमा थप सुविधाहरू बढाउनेतर्फ पहल गर्ने प्रतिबद्धता गरे ।

पतञ्जलि योग समितिका अध्यक्ष वीरेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, अधिवक्ता रामचन्द्र सिंह, प्रसौनी गापाका प्रमुख विनोद पटेल,पतञ्जलि योग समितिका पदाधिकारीलगायत स्थानीयहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here