प्रस, वीरगंज, २९ साउन/
पर्सामा मिटरब्याजी (अनुचित लेनदेन)सम्बन्धी मुद्दा हेर्ने कार्यमा राजनीतीकरण बढेको छ ।
राजनीतिका कारण मुख्य दोषीहरू विभिन्न बहाना बनाइ छलफलमा भाग नलिने र भाग लिएपनि बखेडा बनाइ समय बिताउने गरेका मिटरब्याजी पीडितहरूको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा दैनिक हुने छलफलमा न्याय दिनुभन्दा झारो टार्ने कार्य भइरहेको प्रभाकर गुप्ताले आरोप लगाए । पछिलो समय जुन तरीकाले मिटरब्याजीहरूलाई तह लगाउँदा डरत्रास थियो, अहिले हट्दै गएको उनले बताए । उनले छलफलमा आउने र मुद्दाहरूको टुङ्गो पनि समयमा लाग्दै आएकामा अहिले प्रहरी र कर्मचारीहरूका कारण यो मुद्दा मजाक सरह बनेको आरोप लगाए ।
ठूला मिटरब्याजीहरूको पक्षमा ठूला नेताहरूको प्रत्यक्ष हस्तक्षेप बढेको र आरोपीहरू छलफलमा नआएर नेताहरू आउने र पीडकहरू बजारमा घुमिरहेका पाइएको बताइएको छ । मिटरब्याजीमा अहिले बिचौलियाहरूको दबदबा बढेको र उनीहरूकै सेटिङमा कार्य भइरहेको जिप्रकाका एकजना कर्मचारीले बताए ।
गत जेठ २४ गतेदेखि पर्सामा मिटरब्याजीबिरुद्ध कारबाही प्रक्रिया अगाडि बढेकामा अहिलेसम्म ३०१ जनाको मुद्दा फछ्र्योट भएको छ । एक हजार ३२१ जना पीडितले निवेदन दर्ता गराएका छन् भने ५३९ वटा निवेदनमा अहिले नियमितरूपमा छलफल भइरहेको बताइएको छ । उजूरीकर्तामध्ये अधिकांश अहिले जिप्रकामा हाजिर बजाएर फर्कने गरेका छन् । पीडक भनिएकाहरूले प्रहरी, प्रशासनको फोन नउठाउने, प्रहरीमार्फत आरोपीलाई हाजिर गराउन र पक्राउ पुर्जी सम्बन्धित प्रहरी चौकीले बेवास्ता गर्ने कार्यले अहिले मिटरब्याजीविरुद्धको कारबाही प्रभावकारी नभएको आरोप छ ।