प्रमोद यादव, पंचगावाँ, २९ साउन/
बहुदरमाई नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, डोकैला बहुअरीमा आठ कोठे विद्यालय भवनको उद्घाटन भएको छ ।

जिल्ला समन्वय समिति, पर्सा र बहुदरमाई नगरपालिकाको करीब आधा/आधा बजेट रु एक करोड तीन लाखको लागतमा बनेको विद्यालय भवनको जिसस, पर्साका सभापति निरञ्जन साह सोनार र बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले सोमवार संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिसस, पर्साका सभापति सोनारले शिक्षाको स्तर वृद्धि गर्न भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी विद्यालयमा चालू आवमा रु एक करोड सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । यसअघि यो भवन निर्माणका लागि जिससले रु ५८ लाख सहयोग गरेको थियो । उनले विद्यालयमा पठनपाठनको वातावरण सिर्जना गरिनुपर्ने र यसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयको सहयोग आवश्यक हुने बताए । नगरप्रमुख तेलीले नपाभित्रका सामुदायिक विद्यालयहरूको अनुगमन गरेर आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा जसपाका नेता विपिन यादवले विद्यालयलाई प्रविधिमैत्री शिक्षा, प्रविधिमैत्री वातावरण, प्रारम्भिक कक्षा व्यवस्थापन गरी शिक्षण सिकाइ गराउने, विद्यालयको वातावरण अनुशासित बनाउन शिक्षक जिम्मेवार भएर लाग्नुपर्ने सुझाव ।

प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले पालिकाबाट विद्यालयका लागि सबैखाले सेवासुविधा दिन प्रतिबद्ध रहेको बताए । उनले विद्यालयलाई आवश्यक सेवासुविधा दिंदै आएको र सोलाई निरन्तरता प्रदान गरिने बताए । उनले सामुदायिक विद्यालयबाट आशाप्रद उपलब्धि हासिल हुन नसकेको भनेर चिन्ता व्यक्त गरे । उनले शैक्षिक गतिविधि सुधारमा राजनीतिक हस्तक्षेप बढेकाले आफ्नो तहबाट सुधारका प्रयासहरू सहीरूपमा हुन नसकेको बताए ।

कार्यक्रममा जिससका उपसभापति पुरण पटेल, पूर्वप्रअ नागेन्द्र ठाकुरलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रअ अजय यादवले जग्गादाता, पूर्वप्रअहरू, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतलाई विद्यालय गतिविधिमा सहयोग गर्दै आएका हुँदा कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम नगरप्रमुख तेलीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here