• राजेश मिश्र

जनआवाज

तत्कालीन समयमा पोखरिया सानोे बजार थियो । बजारको मध्य भागमा अवस्थित शिवमन्दिर पोखरियाको मुख्य आकर्षण थियो र छ । उहिले न जनघनत्व बढी थियो, न जग्गा–जमीनको मोल नै । पुजारीको घर तत्कालीन श्रीसिया पञ्चायतमा थियो । पोखरियादेखि झन्डै तीन किमी दक्षिणतर्फ श्रीसिया गाउँ अवस्थित छ ।

मन्दिरको उत्तर–पश्चिम कुनामा सानो फुसको घरमा मुक्ति गिरी अथितका हजुरबुबा र उनको शेषपछि बुबा स्व रघुनन्दन गिरी एक्लै बस्थे र भक्तिभावका साथ शिवमन्दिरमा दैनिक पूजापाठ गर्थे । परिवारका सदस्यहरू श्रीसिया बस्थे । पुरनियाहरूका अनुसार स्व रघुनन्दन गिरी सरल र असल पुजारीको रूपमा चिरपरिचित व्यक्तित्व थिए । स्व गिरीको प्रशंसा गर्ने व्यक्तिहरू थुप्रै भेटिए । त्यसैगरी, त्यहीं व्यक्तिहरूले मुक्ति गिरी अथितको नियतमाथि प्रश्नचिह्न उठाइरहेका थिए ।

पुजारीको रूपमा मुक्ति गिरी अथितको उदय भएपछि उनी परिवारसहित शिवमन्दिरको प्राङ्गणमा बस्न थाले । बिस्तारै झुपडीको आकार विस्तार गर्न थाले । मुख्य सडकतर्फ उत्तर मुख भएका कोठाहरू भाडामा लगाए । त्यहीं कोठामा भिडियो चल्थ्यो । मुक्ति गिरी अथित, उनी शिवमन्दिरको केवल पुजारी भएको हैसियत शायद बिर्सिंदै गए । किनभने विसं २०५२ ताका नयाँ नापी आएपछि उनको नियत कुनियतमा परिवर्तन भएको देखिन्छ । दाताले भगवान्को नाममा अर्पण गरेको सम्पत्तिमाथि उनले आँखा लगाए । कुटिल प्रयत्न गर्न थाले । सर्वोच्च अदालतको फैसलामा उल्लिखित तथ्यहरूले गिरीको कुनियत स्पष्ट हुन्छ ।

जुन दाता परिवारले पुजारीको हैसियत प्रदान गरेको थियो, सोही परिवारसँग उनले झन्डै १५ वर्ष मुद्दा लडे र अन्ततः पराजित भए । यस प्रकरणमा प्रत्यक्षरूपमा गिरीको पक्षमा बयान दिएका तथा अप्रत्यक्षरूपमा गिरीलाई सघाएका मतियारहरूबाहेक आम जनतालाई दाता परिवारले मुद्दा गर्नुको मुख्य कारण के थियो ? मुद्दाको विषय के थियो ? अदालतको कुन कुन तहसम्म मुद्दा गयो ? अन्तिम फैसला कहिले भयो ? को हा¥यो ? को जित्यो ? आदि विषयमा विशेष जानकारी रहेको पाइँदैन ।

मुद्दा हारेका पुजारीले आफ्नो वैमनस्यताको कथा आफैं सार्वजनिक गर्ने कुरै भएन । आज पुजारीका परिवारजनल कुनियत ओत पार्नका लागि विभिन्न प्रकारका मनगढन्त कुप्रचार गर्ने कार्यमा तल्लीन रहेका स्थानीयवासीहरू बताउँछन् । पुजारीका परिवारजन सत्यतथ्य सार्वजनिक नहोस् भन्नेतर्फ केन्द्रित बढी रहेको देखिन्छ ।

यसै सेरोफेरोमा एक भोजपुरी प्रसिद्ध लोकोक्ति नै छ– ‘जवन थरिया में खाए के, ओही में छेद करेके १’ अर्थात् पुजारीले जसको थालमा खाए, त्यसैमा प्वाल गरेको कुरा उनले स्वयम् पुष्टि गरिसकेका छन् । आज जुन प्रकारले लज्जाबोध भइरहेको छ, उहिले नै “म को हुँ र मेरो दायित्व के हो ?” महसूस गरेको भए आज लज्जाबोध गर्ने अवस्था सिर्जना हुने थिएन । पुजारीमा भगवान्को प्रतिविम्ब महसूस गरिन्छ । पुजारीको महŒव र सामाजिक प्रतिष्ठाको रतीभर ख्याल उहिले गरेको भए आज कुनियतपूर्ण हर्कत पर्दाफाश हुने अवस्था आउने थिएन ।

स्थानीयवासीहरू भन्छन्, “पुजारी मुक्ति गिरी अथितले शिवमन्दिरको सम्पत्ति लिने उद्देश्यका साथ गलत बयान र विवरण पेश गरी यतिविघ्न हर्कत गरेका कुरा जानकारीमा थिएन । उनले दाता परिवारसँग मात्र होइन, धार्मिक आस्था र भक्तजनका विश्वाससँग खेलवाड गरेका रहेछन् । सामाजले पुजारीलाई धार्मिक मार्गदर्शकको रूपमा स्वीकार गर्छ र कुनियत कदापि स्वीकार गर्न सक्दैन ।” उनीहरूको प्रश्न छ– पुजारीको अकल्पनीय कर्तुत किन ढाकछोप गर्ने प्रत्यत्न भइरहेको छ ? किन राजनीतिक ओत पाइरहेको छ ?”

पुजारी

मन्दिरमा भगवान्को दैनिक पूजापाठमा समर्पित व्यक्तिलाई पुजारीको नामले सम्बोधन गरिन्छ । जुन प्रकृतिको सेवाभावमा व्यक्तिको समर्पण हुन्छ, सो व्यक्तिलाई त्यसैअनुरूपको पुजारी बुझिन्छ । जस्तै देव पुजारी, प्रेम पुजारी, धन पुजारी आदि । देवीदेउताको नियमितरूपले पूजापाठ र सेवामा समर्पित व्यक्तिलाई देव पुजारी भनिन्छ । त्यसैगरी, ईश्वरसँग घनिष्टतम प्रेम गर्ने भक्तलाई ईश्वरभक्त र देवी लक्ष्मीको पूजा–उपासनामा समर्पित भक्तलाई धनको पुजारीको संज्ञा दिइन्छ । राधाको भक्ति कृष्णको प्रेममा समर्पित थियो । त्यसैगरी, धनको वृद्धि हेतु देवी लक्ष्मीको पूजा गर्ने चलन छ । सनातन संस्कृतिमा पुजारीलाई सामाजिक महत्वको व्यक्तित्व ठानिन्छ । यद्यपि ओहोदा र मर्यादाविपरीत कोही कर्तुत गर्छ भने नितान्तरूपमा त्यो व्यक्तिको कुसंस्कार र कुनियतको दोष हो ।

प्रत्यक्षरूपमा देवीदेउताको पुजारी र अप्रत्यक्षरूपमा प्रेमलीला र धनलिप्सामा लिप्त चरित्रले पुजारी शब्दको वास्तविक तथ्यमाथि कुठाराघात पुर्याइरहेको छ । उदाहरणको रूपमा कथित विश्वप्रसिद्ध आशाराम बापू र रामरहिमको आचरण जगजाहेर छन् । पछिल्लो समय पुजारीको छविलाई धुम्ल्याउने पात्रहरूको पङ्क्तिमा पोखरिया शिवमन्दिरका कथित पुजारी मुक्ति गिरी अथित पनि जोडिएका छन् । किनभने सम्मानित सर्वोच्च अदातलको फैसलामा अङ्कित गिरीको जिकिरले उनको वास्तविक मानसिकता छर्लङ्ग पार्छ ।

शिवमन्दिरको क्षेत्रफल ?

श्रेस्ता विवरणमा सर्भे भएको विसं २०२२ माघ ५ गते शिवमन्दिरको साबिक कित्ता नं ३० मा ज.वि. ०–६–७–० (छ कट्ठा सात धुर) उल्लेख छ । त्यसैगरी, नयाँ नापीपछि शिवमन्दिरको साबिक कित्ता नं ३० हाल कित्ता नं १०३ कायम भएको छ । पोखरिया नगरपालिकाको नापजाँच प्रतिवेदन अनुसार कित्ता नं १०३ मा शिवमन्दिरको क्षेत्रफल ०–५–१८–१५ (पाँच कट्ठा १८ धुर १५ कनवा) उल्लेख रहेको छ । अब प्रश्न के उठ्छ भने शिवमन्दिरको लाखौं मूल्यको झन्डै आठ धुर जग्गा कहाँ हरायो ? यसको अलावा मुक्ति गिरी अथितले मन्दिर परिसरमा लगभग एक कट्ठा जग्गा ओगटेर व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आइरहेका छन् । एक सामान्य नागरिकको आँखाले पनि बेथिति छुट्याउन सक्छ । मठमन्दिर तथा धर्मस्थलहरू कुनियतको शिकार हुनुु तथा सरोकारका निकायहरू मौन हुनु घोर विडम्बना हो ।

पुनर्निर्माण

विसं २०७२ मा संविधान जारी भयो । सङ्घीय प्रणाली बहाल भयो । सोही व्यवस्थाबमोजिम सङ्घीय प्रणाली अन्तर्गत पहिलो निर्वाचन भयो । पोखरिया नगरपालिकाको प्रमुखमा दीपनारायण रौनियार, उपप्रमुखमा सलमा खातुन र वडा नं ४ मा लक्ष्मण साह कानू निर्वाचित भए । अघिल्लो २०७२–७९ को पाँच वर्षे कार्यकालमा शिवमन्दिरको पुनर्निर्माणतर्फ जनप्रतिनिधिहरूको ध्यान जानु प्रशंसनीय भन्नुपर्छ । मन्दिर पुनर्निर्माणको लागि बजेट पास भयो र केही समयपछि निर्माण कार्य सुचारु भयो । यद्यपि शिवमन्दिरको जग्गा नापजाँच गरी छुट्याउने विषयमा पूर्वाग्रह देखियो । किनभने (१) छ कट्ठा सात धुरमा फैलिएको शिवमन्दिर पाँच कट्ठा १८ धुर १५ कनवामा साँघुरियो, (२) मुक्ति गिरीले कब्जा गरेको जग्गा खाली नगरी निर्माण कार्य प्रारम्भ भयो, (३) लाखौं मूल्य पर्ने सार्वजनिक सम्पत्तिको खोजीनिती भएन ।

शुरूमा मन्दिरको चारैतर्फ पर्खाल र मन्दिरको प्राङ्गणमा माटो पुर्ने काम भयो । पुरानो शिवमन्दिरको स्थानमा हाल विशाल मन्दिरको निर्माण, देवी पार्वतीको मन्दिर र पश्चिम–दक्षिणतर्फ ठूलो हलसहित भवन निर्माण कार्य झन्डै तीन वर्षदेखि जारी छ । स्थानीयवासी जान्न चाहन्छन्– “पश्चिम–उत्तर कुनामा शिवमन्दिरका कथित पुजारी मुक्ति गिरी अथितले ओगटेको जग्गामा पर्खालको निर्माण कार्य किन अधूरो छाडिएको छ ?”

अपरिहार्य कुराहरू

सर्वप्रथम मन्दिरको निर्माण कार्य द्रुत गतिमा गर्नुपर्छ । दाता परिवारलाई संरक्षकको दायित्व प्रदान गरी शिवमन्दिरको व्यवस्थापन समिति गठन गर्नु उपयुक्त हुन्छ । यसरी समितिमार्फत मन्दिरका गतिविधि चलायमान बनाउनुपर्छ । समितिले बेथितिको अन्त्य, पुजारीको बहाली, दैनिक पूजापाठ, श्रावणी/शिवरात्रि मेला, आर्थिक व्यवस्थापन, सम्पत्तिको संरक्षण र प्रचारप्रसारजन्य गतिविधि चुस्त बनाउनुपर्छ । शिवमन्दिरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकसित गर्नुपर्छ । यसले पोखरियाको आर्थिक गतिविधि उँभो लाग्ने प्रचुर सम्भावना देखिन्छ ।

सामाजिक तथा सार्वजनिक सरोकारका विषयहरूमा सबै पक्ष एकजुट हुनुको विकल्प छैन । जनप्रतिनिधि, बौद्धिकवर्ग, युवावर्ग र भद्रभलादमीलगायत स्थानीय बासिन्दाहरूले हातेमालो गरी शिवमन्दिरको उत्थानमा जोड दिनुपर्छ । सबै पक्षको रचनात्मक, सकारात्मक र सक्रिय भूमिका अपरिहार्य छ । त्यसैगरी, पोनपा वडा नं ४ मा अवस्थित रामजानकी मठमन्दिरलाई पनि व्यवस्थापन समिति मातहत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ॐ नमः शिवाय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here