यस वर्ष नेपाली उपभोक्ताले धान चामलको प्रयोगमा निकै ध्यान दिनुपर्ने अवस्था आउँदै छ । समयमा पानी नपर्दा नेपाल र भारत दुवैतर्फ धानको फसल कम भइरहेको छ । यसअघि पाकेको असारे धान खडेरीको कारण उत्पादन अति न्यून रह्यो । नेपाल मात्रै होइन, भारतको बिहार र पञ्जाबलगायत धानको भण्डार मानिएका राज्यहरूसमेत सुक्खा खडेरीको चपेटामा परेका छन् । असारे धानपछि हाल खेतहरूमा भदैया धान लगाइएका छन् । तर विगतका वर्षहरूमा भन्दा यस वर्ष धानको कुल फसल निकै कम हुने देखिन्छ । नेपालको लागि धानको भण्डार मधेस प्रदेशलाई मानिन्छ । यो प्रदेशमा साउनको दोस्रो साता बितिसक्दासम्म जम्मा ५८. ं८१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सामान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समय आइपुग्दासमेत मधेसका आठ जिल्लामा ४१ प्रतिशत खेत बाँझै छ । देशको कुल धान उत्पादनको २५ प्रतिशत उत्पादन मधेस प्रदेशमा हुने गरेको छ । प्रदेशका आठवटै जिल्ला गरी कुल चार लाख पाँच हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये अहिलेसम्म दुई लाख ३८ हजार ४४६ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ हुन सकेको छ ।

मधेसका अधिकांश खेत सिंचाइ अभावले बाँझा छन् । रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेका छन् । बोरिङको पानीले सिंचाइ गरेर रोपाइँ भएको खेतमा रोपाइँपछि पर्याप्त पानी नपुगेर बाली सप्रिन सकेको छैन । कतिपय स्थानमा बोरिङ सुकेर पानी नआउने भएका छन् । यो अवस्थालाई मनन गर्दा यस वर्ष मधेस प्रदेशले मुलुकमा कुल धान उत्पादनको १० देखि १३ प्रतिशत अर्थात् विगतको भन्दा करीब ५० प्रतिशत कम उत्पादन दिन सक्छ । अन्य प्रदेशहरूको पनि अवस्था त्यही हो । मुलुकमा धानको उत्पादन कम हुँदा धान चामलको सङ्कट आउने एकातर्फ छँदैछ, अर्कोतर्फ भारत सरकारले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसले चामलको अभाव निम्तिने भएको छ । आफ्नो मुलुकमा धान–चामलको मूल्यवृद्धि हुन थालेपछि भारत सरकारले चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । विगतमा भारतीय चामल शुल्कविना नै नेपाल आयात हुने गरेकामा यसअघि चर्को भन्सार शुल्क तोकियो । अहिले आएर भने नेपाललगायत कुनै पनि मुलुकका लागि चामल निर्यातमा उसले प्रतिबन्ध लगाएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा १५ अर्बभन्दा बढीको चामल नेपालमा आयात भएको छ । हाम्रो मुलुकमा खपत हुने कुल चामलको करीब २० प्रतिशत आयातमा भर परेको छ । वार्षिक करीब ७० लाख मेट्रिकटन चामल खपत हुनेमध्ये १५ लाख मेट्रिकटनभन्दा धेरै चामल आयात गरिंदै आएको थियो । भारतले आफ्नो मुलुकमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर निर्यात प्रतिबन्धको निर्णय गरे पनि त्यसको सोझो असर नेपालमा देखिने स्पष्ट छ । नेपाल सरकारको खाद्यान्न केन्द्रीय अनुगमन समितिले गोदामहरू भर्न निर्देशन दिएका छन् । तर उक्त निर्णय आफैंमा हास्यास्पद छ । गोदाम भर्दैमा खाद्यान्न  पर्याप्त हुने होइन । कृषक वा उपभोक्तासँग रहेको धान–चामल सरकारी गोदाममा पुगेपछि स्थानीयस्तरमा झन् अभाव खड्किन्छ । यसर्थ गोदाम भर्नेभन्दा पनि धान–चामलको सदुपयोगतर्फ नागरिकलाई सचेत गराउनुपर्छ । दिनमा दुवै छाक भात खाने, नास्ताका लागि चिउरा, रोटी र पक्षी तथा चौपायाको दानामा समेत धानको प्रयोगलाई नियन्त्रण गरेर गहुँ, मकै, कोदो, जौंलगायतका अन्नलाई प्रयोगमा ल्याउन सके चामल अभाव न्यूनीकरण हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here