एजेन्सी, ४ साउन/

फिफा महिला विश्वकप–२०२३ मा सहआयोजक न्युजिल्यान्डले विजयी सुरुआत गरेको छ। न्युजिल्यान्डले विश्वकप इतिहासमा पहिलो जीत निकाल्ने क्रममा नर्वेलाई १–० ले पराजित गरेको हो।

अक्ल्यान्डको इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डकी हना विल्किन्सनले ज्याकी ह्यान्ड्सको क्रसलाई आकर्षक गोलमा परिणत गरिन्। खेलको ४८औं मिनेटमा गरेको उक्त गोलले नै निर्णायक बन्यो।

८९औं मिनेटमा घरेलु टोलीले अग्रताको मौका चुकायो। नर्वेकी टुभा हनसेनले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई इभेन रियाले गोल गर्न चुके पनि न्युजिल्यान्डको खुशीको क्षण कम गर्न सकेन।

अघिल्ला १५ विश्वकपमा कुनै पनि खेल जित्न नसकेको न्युजिल्यान्डलाई समर्थन गर्न उसका हजारौं समर्थक मैदान पुगेका थिए। ४८औं मिनेटको अग्रतासँगै दर्शक खुशीमा झुमेका थिए। सन् १९९५ को विश्व च्याम्पियन नर्वेले न्युजिल्यान्डको गोललगत्तै बराबरीको मौका गुमाएको थियो। आर्सनलकी फ्रिडा मनुमले उत्कृष्ट अवसर खेर फालेकी थिइन्।

खेलअघि बिहीवार बिहान अकल्यान्डमा भएको गोलीकाण्डमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

दोस्रो खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई हरायो

यसैगरी, दोस्रो खेलमा आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलअन्तरले हराएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा अस्ट्रेलियाले निर्णायक गोल गरेको थियो।

निर्धारित समयको ५२औं मिनेटमा अस्ट्रेलियाकी स्टेफानी क्याट्लीले पेनाल्टीमार्फत गोल गरिन्।

महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्तरूपमा आयोजना गरिरहेको छ। अगस्त २० सम्म सञ्चालन हुने यो प्रतियोगिता कुनै पनि दुर्ई राष्ट्रले संयुक्तरूपमा आयोजना गरेको यो पहिलोपटक हो।

महिला विश्वकपको नवौं संस्करणमा पहिलोपटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए। प्रतियोगिताको समूह ‘ए’मा न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र फिलिपिन्स रहेका छन्। समूह ‘बी’मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन्।

यसैगरी, समूह ‘सी’मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन्। समूह ‘डी’मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन्। समूह ‘ई’मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन्। समूह ‘एफ’मा फ्रान्स, जमैका, ब्रजील र पानामा छन्। समूह ‘जी’मा स्वीडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना छन्। समूह ‘एच’मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन्।

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ। पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुर्ई/दुर्ई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here