पशुपालनलाई आधुनिकीकरण गर्दै व्यावसायिक तरीका अँगाल्न सकिएको छैन। दिनरात पशुपालनकै लागि खट्ने किसानको सङ्ख्या मुलुकमा धेरै छ तर उनीहरूको पेशा जोखिममुक्त छैन। परम्परागत तरीकालाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउन सरकारले चासो दिएको पाइँदैन। पहिले पुख्र्यौली पेशाको रूपमा पशुपालन गर्दै आएका किसानहरू र हाल आफैंले लगानी गरेर पशुपालनमा अहोरात्र परिश्रम गरिरहेका किसानको पहिचान गर्नुपर्छ। यसरी पहिचान गरिएका हरूलाई सचेतनासँगै व्यावसायिक तालीम दिनुपर्छ। प्रशिक्षित गरिएका किसानलाई परामर्श एवं प्राविधिक सहयोगका लागि केही वर्ष दक्ष जनशक्ति उपलब्ध गराइनु उपयुक्त हुन्छ। केही वर्षपछि त अगुवा किसानहरू नै दक्ष बन्नेछन्। जसले नयाँ किसानहरूको लागि समेत सहयोग पुग्नेछ। घाटा, नाफा, जोखिम जे भए पनि कुनै पेशा अँगालेकाहरूलाई सानो व्यावसायिक सहयोगले पनि ठूलो सफलताको मार्ग प्रशस्त गर्छ।
चराउन जङ्गल पु–याइएको खसी, बाख्रालाई बाघले सोत्तर बनाएको छ। जीतपुरसिमरा उपनपाका एक किसानको १० वटा खसी बाख्रा बाघले एकै दिन नाश गरिदियो। पीडित किसानको गोठ रित्तियो मात्रै होइन, उसले कैयन दिन गरेको परिश्रमसमेत खेर गयो। किसान, जसले पशुपालनलाई पेशा बनाएको हुन्छ र त्यसैबाटै परिवारको अत्यावश्यक खर्च धानिरहेको हुन्छ, उसका पशुधन क्षति हुनु ठूलो दुर्घटना हो। यस किसिमको दुर्घटना कुनै न कुनै किसानले दिनहुँ भोगिरहेको छ। चरिचरनका लागि जङ्गल लैजाँदाको कुरा छाडौं, जङ्गल आसपास क्षेत्रका बस्तीहरूमा जङ्गली जनावरले घरैमा आएर पशु चौपाया तथा खसी बोका मार्ने गरेका छन्। पशुपालनमा परम्परागत शैलीले गर्दा यो नोक्सानी भोग्नुपरेको हो। दिनभरि जङ्गलमा चौपाया छोड्ने र राति असुरक्षित खोर/ गोठमा बाँध्ने पुरानै तरीका हो।
हिमाल, पहाड, तराई (मधेस) जता पनि वन जङ्गल छ। मुलुकको कुल क्षेत्रफलमा ४४ प्रतिशतभन्दा बढी वन जङ्गल क्षेत्र छ। त्यसमा संरक्षित क्षेत्र, सामुदायिक वन, निजी वनलगायत छन्। निकुञ्ज संरक्षित क्षेत्रमा घरपालुवा जनावरको प्रवेश निषिद्ध भए पनि निकुञ्ज वा आरक्षको मध्यवर्ती वन क्षेत्रदेखि निजी वन क्षेत्रलाईसमेत चौपायाको चरनको रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्ता क्षेत्रमा प्लटिङ गर्ने, साना बिरुवा हुर्किसकेका चरिचरनयोग्य क्षेत्र पहिचान गर्ने र अनुमति दिने गरौं। पशुपालक कृषकहरूले पनि सामूहिक रूपमा पशु चौपाया चरन क्षेत्रमा लैजाँदा सो क्षेत्रमा जङ्गली जनावर रहे नरहेको यकीन हुन्छ। त्यसबाट घरपालुवा जनावरलाई बचाउने, क्षति धेरै हुन नदिने उपाय गर्न सकिन्छ। अर्कोतर्फ चरन क्षेत्रमा घाँसखेती गरे चौपाया घरमै पाल्न सहज छ। दिनभरि गोठालो लाग्ने जनशक्तिले त्यही घाँस गोठमा ल्याउन सक्छ। पशु चौपाया गोठमैं पाल्ने हो। उनीहरूको शारीरिक तन्दुरुस्तीका लागि दिनमा १/२ घण्टा चरनमा घुमाए पुग्छ। जङ्गली जनावर प्रवेश गर्न नसक्ने सुरक्षित खोर/गोठ हुनुपर्छ। यति भएपछि केवल पशुबीमा गरिदिए किसानलाई पुग्छ। यसमा सरकारको ठूलो लगानी पर्दैन। मासु तथा मासुजन्य पदार्थको बजार आफ्नै मुलुकमा प्रशस्त छ। हाम्रो मुलुकमा प्रतिव्यक्ति सरदर १८ किलोभन्दा बढी मासुको खपत छ। तर मुलुकमा मासु उत्पादन भइरहेको भए तापनि आमदानीभन्दा बढी जोखिम हुने हुँदा पशुपालक किसान पेशाबाट विस्थापित हुन बाध्य छ।