श्रीमन्नारायण
  • श्रीमन्नारायण

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दोस्रो कार्यकाल पनि सफलतापूर्वक पूरा गर्दैछन्। आउँदो वर्ष भारतमा संसदीय निर्वाचन हुँदैछ, भारतका जनताले मोदीलाई तीनपटक लगातार सत्तामा जान दिने कि नदिने ? भन्ने विषयमा निर्णय गर्नेछन् तर अहिले पनि भारतमा मोदीको जुन लोकप्रियता छ, त्यसलाई दृष्टिगत गर्दा उनी तेस्रोपटक पनि भारतको प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ। भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले मात्रै अहिलेसम्म लगातार तीन कार्यकाल निर्वाचन जितेर सत्ता सम्हाल्ने मौका पाएका थिए।

नेहरूपछि मोदी नै भरसक यस्ता दोस्रो भारतीय प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ। १४० करोड जनसङ्ख्या भएको एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं विविधताले भरिएको देशमा लगातार १० वर्षसम्म एकै किसिमको लोकप्रियता र जनसमर्थन प्राप्त गरिरहनुलाई सामान्य उपलब्धि मान्न सकिंदैन। विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशका जनताले लगातार तेस्रोपटक आफ्नो प्रधानमन्त्री अथवा शासकमाथि विश्वास कायमै राख्नु अवश्य पनि प्रधानमन्त्री मोदीको विशिष्ट किसिमको नेतृत्व क्षमता, राजनीतिक दूरदर्शिता र जनतासितको घनिष्ठ सम्बन्धलाई दर्शाउँछ। देशभित्र मात्रै होइन देशबाहिर पनि उनको स्वीकार्यता र लोकप्रियतामा कमी आएको छैन। भारतका विपक्षी राजनीतिक दलका नेताहरूसमेतले पनि मोदीको कार्यको प्रशंसा गर्नु सामान्य कुरा होइन। आउँदो चुनावमा मोदीको चुनावी सफलताको सम्भावनालाई कमजोर बनाउन र उनलाई सरकारको नेतृत्वबाट हटाउन त्यहाँका २६ वटा विपक्षी राजनीतिक दलहरूले पनि एउटा गठबन्धन बनाइ अहिलेदेखि नै परिश्रम गर्न थालेका छन् तर भारतका जनता भने मोदीको विकल्पबारेमा विचार गर्न तयार छैन।

मोदी सरकारको पालामा भएका उल्लेखनीय उपलब्धिहरूको प्रशंसा त त्यहाँका विपक्षी भारतीय राष्ट्रिय काङ्ग्रेसका वरिष्ठ नेता शशी थरुर र गुलाम नबी आजादले पनि गर्छन्। खासगरी नयाँ विमानस्थल, बन्दरगाह, राजमार्गको निर्माण जस्ता अत्यावश्यक भौतिक पूर्वाधारको निर्माणमा निजी क्षेत्रका ठेकेदारको संलग्नतालाई सहज हुनेगरी निर्णय प्रक्रिया द्रुत गतिमा परिवर्तन गर्ने काम भयो। संसारकै सबैभन्दा ठूलो रेलवेमा ठूलो नयाँ लगानीलगायत भौतिक पूर्वाधार क्षेत्रको विकासमा सरकारले लाखौं गरीब भारतीयको सामाजिक सुरक्षा अवस्था सुदृढ पनि बनाएको छ। पाँच वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले  ५४३ लोकसभाका सिटमध्ये ३०३ सिटमा जितेको थियो। त्यसपछि भारतीय राष्ट्रिय काङ्ग्रेसले ५३ सिट जितेको थियो। राहुल गाँधीको यस पार्टीले थप तीन सिट ल्याएको भए सदनमा प्रमुख प्रतिपक्षी दलको स्थान प्राप्त गर्न सक्थ्यो। त्यसपछि क्रमशः एमके स्टालिनको डिएमकेले २४, ममता बनर्जीको टिएमसी पार्टीले २३ र वाइएसआर काङ्ग्रेसले २२ सिट जितेको थियो। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देको पार्टी शिवसेनाले २२ र बिहारका मुख्यमन्त्री नीतीश कुमारको पार्टीले १६, उडिसाका मुख्यमन्त्री नवीन पटनायकको पार्टीले १२ र मायावतीको बहुजन समाजवादी पार्टीले १० सिट जितेका थिए। उत्तर प्रदेशकेन्द्रित अखिलेश यादवको समाजवादी पार्टीले तीन, टिआरएसले नौ र लोकजनशक्ति पार्टीले छ सिट जितेका थिए। कम्युनिस्टहरूले आधा दर्जन जति सिट जित्न सकेको थियो।

भारतको मध्यप्रदेश, गुजरात, राजस्थान, छत्तीसगढ, आसाम, हिमाचल प्रदेश, हरियाणा, उत्तराखण्ड, कर्नाटक, गोवा, नयाँ दिल्लीलगायतका प्रदेशहरूको १५० जति सिटमा देशका दुई प्रमुख राजनीतिक दल सत्ताधारी भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेसबीच सोझो प्रतिस्पर्धा हुनेछ। उपरोक्त प्रदेशका जनता प्रादेशिकस्तरका लागि मतदान गर्दा फरक मापदण्ड राख्ने गर्छन् र केन्द्र सरकारका लागि मतदान गर्दा फरक तरीकाले मतदान गर्छन्। पाँच वर्षअघि भएको निर्वाचनताका कर्नाटक, मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, उत्तराखण्ड आदि प्रदेशहरूमा काङ्ग्रेसको सरकार थियो तर उपरोक्त प्रदेशहरूका एक सय जति सिटमध्ये भारतीय जनता पार्टीले ९० प्रतिशतभन्दा बढी सिट जितेको थियो। अहिले पनि तात्विक भिन्नता आएको देखिंदैन। भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेसबीच हुने सोझो प्रतिस्पर्धामा भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गर्छ।

दक्षिण भारतमा तमिलनाडू, केरल, आन्ध्र प्रदेश र तेलङ्गानामा भारतीय जनता पार्टीको स्थिति त्यति राम्रो रहेको इतिहास छैन। तमिलनाडूमा भारतीय जनता पार्टीले एकजना अवकाशप्राप्त प्रहरी अधिकारी के अन्नामलाइलाई आफ्नो नेता बनाएपछि पार्टीको स्थितिमा क्रमिकरूपमा सुधार हुँदैछ। यसपालि भाजपा र एआइडिएमके गठबन्धनले राम्रो प्रदर्शन गर्ने सम्भावना छ किनभने विगत चार वर्षदेखि यहाँ डिएमकेका एमके स्टालिन मुख्यमन्त्री रहेका छन्। केरलमा अहिले पनि कम्युनिस्ट पार्टी र काङ्ग्रेसबीच नै सोझो प्रतिस्पर्धाको सम्भावना छ। त्यहाँ भाजपाले पनि परिश्रम गरिरहेको छ। काङ्ग्रेसका केही प्रभावशाली नेताहरू भाजपामा प्रवेश गरेका छन्। बहुचर्चित फिल्म ‘द केरला स्टोरी’ले त्यहाँ इसाई र हिन्दूलाई मुसलमानविरुद्ध कति हदसम्म धु्रवीकृत गर्न सक्नेछ ? त्यसैमा भाजपाको प्रदर्शन निर्भर हुनेछ। आन्ध्र र तेलङ्गानामा पनि भाजपाले राम्रो प्रदर्शन गर्ने सम्भावना छ।

मोदी सरकारले शौचालय निर्माणमा अनुदान, खाना पकाउने ग्याँस सिलिन्डर वितरण, किसानलाई नगद हस्तान्तरण, प्रधानमन्त्री आवास योजना अन्तर्गत दुई करोडलाई घर तथा भारतको ग्रामीण क्षेत्रमा बिजुली र खानेपानीमा पहुँच विस्तारजस्ता कार्यक्रमहरू जनकल्याणका निम्ति निकै महत्व राख्छ। यसले मोदीको लोकप्रियतालाई व्यक्ति–व्यक्तिसम्म पु–याएको छ। उपरोक्त कार्यक्रमहरूमार्फत ग्रामीण क्षेत्रका जनताको जीवनस्तरमा सुधार भएको छ।

मोदी सरकारले प्रविधिको सम्मिश्रणमा पनि प्रगति देखाएको छ। स्मार्टफोनसँग सस्तो डाटाको पहुँचमा भएको विस्तारका कारण करोडौं भारतीय इन्टरनेटसँग जोडिएका छन्। सरकारसमर्थित एप्लिकेशनहरूको बहुचर्चित ‘इन्डिया स्टाक’ले निजी कम्पनीहरूलाई अनलाइन यन्त्र सुलभ बनाउन सक्षम बनाएको छ। मूलतः प्राविधिक क्षेत्रमा ‘नवप्रवर्तन’ संस्कृतिको विकास भएको छ भने एक अर्ब डलरभन्दा बढी मूल्यका थुप्रै ‘युनिकर्न’ उदाएका छन्। ‘पेटिएम’को क्युआर कोडका कारण लेनदेन सरल भएको छ भने कुनै बैंकले अर्को बैकमा विनाझमेला पैसा पठाउने भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई)ले विश्वभरि नै भारतलाई चर्चामा ल्याइरहेको छ। लाभग्राहीको खातामा सोझै पैसा पठाएर चुहावट रोक्ने काम भएको छ।

मोदीले निरन्तररूपमा विदेश भ्रमण गरेर त्यहाँका नेताहरूसित आत्मीयता र मित्रताको व्यवहार गरेर विदेशमा बस्ने भारतीयहरूको सभालाई सम्बोधन गरी भारतको कूटनीति क्षमतालाई बलियो बनाएका छन्। अमेरिका र युरोपका देशहरूसित भारतको सम्बन्ध अहिलेभन्दा राम्रो कहिल्यै थिएन। खाडीका प्रमुख राष्ट्रहरूसित पनि मोदी सरकारले राम्रो सम्बन्ध बनाएको छ।

कोभिड–१९ को महामारीसित मुकाबिला गर्न मोदी सरकारले निकै प्रभावकारी भूमिका निर्वाह गरेको थियो। कोभिड–१९ महामारी औषधिमार्फत र त्यसपछि खोपमार्फत भारतले विश्वका अनेकौं देशहरूलाई सहयोग पु–याउने काम ग–यो। रूस–युक्रेन युद्धमा भारतको भूमिका होस् अथवा संयुक्त राष्ट्र, बिमस्टेक, क्वाड र जी–२० जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत भारतको भूमिका प्रभावकारी रहिआएको छ। ‘सबैको विकास सबैको विश्वास र सबैको सहयोग’को मान्यतालाई मोदीले आफ्नो प्रमुख नाराको रूपमा अघि सारेर काम गर्दै आएका छन्। डिजिटल इन्डिया, स्टार्टअप, स्टेन्डअप इन्डिया, आयुष्मान भारत, प्रधानमन्त्री आवास योजना, उज्ज्वला, जलजीवन मिसन, किसान सम्मान निधि, मुद्रा योजना स्वयम् निधि योजना, वन नेशन वन रासन कार्ड, सुगम भारत, शिल्प विकास, स्वच्छता मिसन, श्रम सुधार, पिएलआई जस्ता अनेकौं योजनाले भारतका जनताको जनजीवनमा परिवर्तन ल्याएको छ। सबैभन्दा बढी जनसङ्ख्या भएको उत्तर प्रदेशमा ८० वटा संसदीय सिट रहेका छन्। त्यहाँ अहिले पनि भाजपाको राम्रो अवस्था छ। गत वर्ष समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले मोर्चा बनाएर चुनाव लड्दा पनि भाजपाले ६५ सिट जितेको थियो। यसपालि सपा र बसपाको एक्लाएक्लै चुनाव लड्ने सम्भावना छ। यसपालि पनि भाजपाले पुरानो प्रदर्शनलाई दोहो–याउने सम्भावना कायम छ। त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यशैलीबाट आमजनता प्रभावित छ। त्यहाँ सुशासन कायम भएको छ, अपराधमुक्त राज्य भएको छ र त्यहाँका जनता निर्धक्कसँग घुमफिर गर्न सक्ने अवस्था छ। वैदेशिक लगानी भित्रिएका छन्। धार्मिक नगरी वाराणसी र अयोध्याको मुहार नै फेरिएको छ। भव्य राम मन्दिरको निर्माण भइरहेको छ। राज्यमा कानूनी शासन छ भन्ने कुराको अनुभूति जो कोहीले पनि गर्न सक्छ।

उत्तर प्रदेशपछि सर्वाधिक जनसङ्ख्या भएको महाराष्ट्रमा रहेका ४८ सिटमध्ये भाजपा र शिवसेना गठबन्धनले आफ्नो पुरानो प्रदर्शन

(भाजपा गठबन्धनको पुरानो सङ्ख्या ४०) लाई कायम राख्न धेरै परीश्रम गर्नुपर्नेछ। भाजपाले आफ्नो पुरानो सङ्ख्यालाई कायम राख्न सफल रहनेछ। पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको प्रभाव अथवा धाक भने कायमै छ। गत वर्ष भएको निर्वाचनमा ममता बनर्जीको टिएससीले २३, भाजपाले १७, भारतीय राष्ट्रिय काङग्रेसले दुई सिट जितेको थियो। यसमा खासै परिवर्तन आउने सम्भावना देखिंदैन।

बिहारको ४० सिटमा रोचक प्रतिस्पर्धा हुने सम्भावना छ। गत वर्ष भारतीय जनता पार्टी र मुख्यमन्त्री नीतीश कुमारको पार्टी जनता दल युनाइटेड मिलेर चुनाव लड्दा भाजपाले १७, जेडियूले १६ तथा यस गठबन्धनका एलजेपीले छ सिट जितेका थिए। लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले एक सिट पनि जितेको थिएन। हाल नीतीश कुमारको पार्टी र लालु यादवको पार्टीबीच मोर्चा बनेको छ। नीतीश कुमार पनि आफूलाई प्रधानमन्त्रीकै उम्मेदवार मानिरहेका छन्। बिहारका भएकाले उनले सहानुभूति पाउने प्रयास अवश्य पनि गर्नेछन् तर उनको लोकप्रियतामा –हास आएको छ। बिहारमा कडा प्रतिस्पर्धा हुने सम्भावना छ। भाजपा गठबन्धनले आफ्नो पुरानो प्रदर्शन ३९ दोहो–याउने सम्भावना छैन तर कम्तीमा पनि ६० प्रशितत सिट जित्ने सम्भावना अहिले पनि छ। पूर्वाेत्तरमा आसाम र साना प्रदेशहरूमा भाजपाले नै राम्रो प्रदर्शन गर्ने सम्भावना छ। उडिसामा भाजपा र बिजु जनता दलबीच नै प्रतिस्पर्धा हुने गर्दछ तर चुनावपश्चात् दुवै एकै ठाउँमा हुन्छन्। झारखण्डमा पनि यसपालि भाजपाले आफ्नो पुरानो प्रदर्शनलाई दोहो–याउन सक्छ। पञ्जाब, हरियाणा, जम्मु–काश्मीरमा पनि मिश्रित प्रदर्शनकै सम्भावना छ। नरेन्द्र मोदी फेरि पनि चुनाव जित्ने र फेरि प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here