प्रस, वीरगंज, ३ साउन/
वीरगंज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरिएका संरचना हटाउने क्रममा बुधवार आदर्शनगरस्थित क्लासिक होटललाई डोजर लगाएर तोडफोड गरेको छ ।
जिल्ला हुलाक कार्यालय, पर्सादेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने क्रममा हिजो होटल क्लासिकमा डोजर चलाउन खोज्दा विवाद भएको थियो । विवादको क्रममा जग्गाधनी सफाकत अलिले बुबाले तत्कालीन आदर्शनगर निर्माण समितिबाट पुलमाथिको जग्गा खरीद गरेको बताए । उनले पुलमाथिको जग्गा तत्कालीन नगरपञ्चायतले सूचना जारी गरी बिक्री गरेको र बुबाले २०२६ सालमा नगरपञ्चायतसँग खरीद गरेर मालपोतबाट २०३१ सालमा रजिस्ट्रेशन पास गराएको जग्गा भएको प्रमाण देखाएका थिए ।
आज महानगरपालिकाले क्लासिक होटलमा सार्वजनिक सूचना टाँस गर्दै साँझ साढे पाँच बजेसम्म संरचना हटाउन समयसीमा प्रदान गरेको थियो । सो समयसीमालाई बढाएर साढे सात बजेसम्म समय दिएकोमा संरचना खाली नगरिएपछि महानगरका तीनवटा डोजरले होटल संरचनाको अग्रभाग तोडफोड शुरू गरेको थियो । तोडफोडको क्रममा जनपद र सशस्त्र प्रहरी तैनाथ थिए भने एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको थियो ।
होटल क्लासिकअगाडि रहेको कर्पोरेट बैंक रहेको मुख्य नालामाथिको भवन खाली गराउन महानगरका प्रतिनिधि जाँदा बैंक कर्मचारीहरू शुक्रवारसम्मको समय माग गरेपछि महानगर प्रतिनिधिहरूले सो समयावधि प्रदान गरेका थिए ।