झन्डै ३४ वर्ष अघि स्थापना भएको नारायणी वाङ्मय प्रतिष्ठान, १६ वर्षको निद्राबाट जागेको आभास, भानुजयन्तीका अवसरमा लक्ष्मी साहित्य परिषद्सँग सहकार्य गर्दै भानुजयन्ती मनाई, साहित्य स्रष्टाहरूलाई सम्मानित गरेपछि, भएको छ । यो वाङ्मय तत्कालीन नारायणी अञ्चलका ६ जिल्लाका साहित्यकारहरूलाई समेटी साहित्यिक गतिविधिलाई टेवा दिने र साहित्य क्षेत्रको उन्नयनका लागि स्थापित भएको थियो । आधिकारिकरूपमा यो २०४६ सालमा दर्ता भएको भए तापनि पञ्चायती व्यवस्थाताका नारायणी अञ्चलाधीशको  अध्यक्षता र छवटै जिल्लाका साहित्यकार प्रतिनिधिहरूको संलग्नतामा गठन भएर अन्य कार्यक्रमबाहेक स्थापना भएको दिनको सम्झनामा, अञ्चलभित्रका साहित्यकारहरूको  वर्षभरि प्रकाशन भएको कृतिमध्ये उत्कृष्टलाई पुरस्कृत गरेर अञ्चलाधीशको निवास परिसरमा भव्य रात्रिभोज गरिन्थ्यो । तिनताक अञ्चलमा अञ्चलाधीश नै सर्वेसर्वा हुने हुँदा यसलाई दर्ता गरेर कानूनी आधिकारिकता दिने चासो कसैलाई भएन ।   तर प्रत्येक वर्ष साहित्यिक कृतिलाई पुरस्कृत गर्ने क्रम भने लामो समयसम्म चलिरह्यो ।

२०४६ सालमा प्रजातान्त्रिक आन्दोलनको सफलतापश्चात्  नारायणी वाङ्मय प्रतिष्ठानमा कार्यरत पदाधिकारीहरूले अब व्यवस्थाकै अन्त भई अञ्चलाधीश पद पनि नरहने हुँदा यो संस्था संरक्षकविहीन हुने भएकोले अब यसलाई जनतालाई सुम्पिदिउँ भन्ने प्रस्ताव राखेर वाङ्मयलाई राज्यको संरक्ष्Fणबाट जन–संरक्षणमा ल्याइएको थियो । त्यसपछि पनि लामो समयसम्म विभिन्न साहित्यिक कार्यक्रमहरू सम्पन्न गर्दै बर्सेनि वाङ्मय पुरस्कार वितरण हुँदै आएको थियो । त्यसै बेला देशमा मच्चिएको विभिन्न राजनीतिक आन्दोलन–अराजकताबाट वाङ्मयका क्रियाकलाप पनि अछूतो रहन सकेन । फलस्वरूप लामो समय, झन्डै १६ वर्ष, नारायणी वाङ्मय मोह–निद्रामा गयो । पदाधिकारीहरू लाखापाखा लागे, कोही वयाधिक्यले पीडित भए । अन्ततः यहाँका साहित्यानुरागीहरूको सक्रियतामा नारायणी वाङ्मय पुनर्जीवित भयो र आफ्नो पुनरोदय पुनः भव्यताका साथ प्रकट गर्न सफल भयो । अब यसले निरन्तर साहित्यिक कार्यक्रमहरू गरेर वीरगंजको साहित्यिक भावभूमिलाई रङ्गीचङ्गी बनाउने छ भन्ने विश्वास पलाएको छ । किनकि अहिले वीरगंजमा साहित्यको वातावरणले नयाँ पालुवा फेर्न थालेको छ । नयाँ साहित्यिक प्रतिभाहरूको उदय भइरहेको छ । भानुजयन्तीका अवसरमा सोही कार्यक्रममा स्कूले विद्यार्थीहरूले पाठ गरेको कविताहरूबाट पनि यस कुराको आभास भएको छ ।

एकै क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूबीच समन्वय भएन भने त्यसले प्रतिकूलता निम्त्याउँछ । वीरगंजमा नारायणी वाङ्मय प्रतिष्ठान मात्र साहित्यिक संस्था थिएन । विगतमा यसैजस्तो सक्रिय नारायणी साहित्य परिषद् थियो, जुन कालान्तरमा निष्प्रभावी बन्न पुगेपछि नारायणी वाङ्मयमा समाहित भएको थियो । विगतका त्यस्ता संस्थाहरू–विसाकलगायतलाई समाहित गरेर तिनका स्रोत र पदाधिकारीहरूको सहयोग लिन सके वाङ्मयको कार्यक्षेत्र विस्तार हुनुको साथै गतिविधि सघन हुन बेर लाग्दैन । तसर्थ अब आवश्यक छ एउटा जिल्लास्तरीय साहित्यिक भेला, तत्पश्चात् प्रदेशस्तरीय र अन्तमा राष्ट्रियस्तरको साहित्य सम्मेलन, जसले नयाँ साहित्यकारलाई हौसला र पुरानाहरूलाई क्रियाशीलता प्रदान गर्न सकोस् । विगतमा नारायणी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय साहित्य भेला गरेकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here