जीतलाल श्रेष्ठ, निजगढ, ३० असार/
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतका सडकखण्ड सवारीसाधन आवतजावतका लागि लाइफलाइन हो । यही सडक भएर पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्वसम्म अर्थात् देशकै कुनाकुनामा मालसामान ढुवानी र यात्रुहरू ओहोरदोहोर गर्ने गर्छन् । तर यही राजमार्गको सडकखण्डमा निर्माण शुरू गरिएका पुल, सडकहरू वर्षौंसम्म अलपत्र रहँदा दैनिक सयौं सवारीसाधन र हजारौं यात्रुले सास्ती खेप्दै आइरहेका छन् ।
बाराको निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण शुरू भएको चार वर्ष बित्यो । तर अहिलेसम्म पुलको ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ । ठेक्का सम्झौता अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमाभित्र निर्माण नहँुदा यस राजमार्ग भएर दैनिक सयौंका सङ्ख्यामा गुड्ने सवारीसाधन र यात्रुहरूले जोखिम मोल्दै आइरहेका छन् ।
शुरूमा भासिएको पिलरलाई भत्काइ रेक्ट्रोफिटिङ गरियो । तर पनि पिलर जमीनमुनि भासिन छोडेन । दुधौरा पुलको पिलर दुईपटक भासिएपछि एशियाली राजमार्गको रूपमा सडक विस्तारसँगै यस पुललाई पूर्णरूपमा निस्तेज गरी नयाँ पुलको काम थालिएको चार वर्ष नाघ्यो । काम कम गर्ने र बढी समय अलपत्र छाड्ने नेपालको ठेकेदारी प्रवृत्ति सो पुलको निर्माण कार्य सम्पन्न नभएको हो । यसतर्फ न त पुल विभाग महाशाखा काठमाडौंको ध्यान गएको छ, न त राज्यका अन्य सरोकारवाला निकायहरूबाट निर्माण कार्यलाई निरन्तरता दिन झकझक्याउने काम नै भएको छ ।
सडक सञ्जालको हिसाबले मुलुककै लाइफलाइनको रूपमा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको अलपत्र रहेको दुधौरा पुलको बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल र महानिर्देशक अर्जुनजङ्ग थापासँग भेट गरी अविलम्ब पुलको निर्माण शुरू गर्न बारा क्षेत्र नं ४ का सङ्घयी सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आग्रह गरे पनि पुल निर्माण कार्यले गति लिन सकेको छैन ।
वर्षायाममा मात्र निर्माण कार्य अलपत्र हुने होइन । अन्य सहज मौसममा पनि लामो समयसम्म पुलको काम बेवारिसे बन्दा एम्बुलेन्स, मोटरसाइकल, जीप, कारलगायत साना तथा ठूला सवारीसाधनहरूले कठिनाइ भोग्दै आइरहेका छन् । सो पुल भएर आवतजावत गर्ने एम्बुलेन्सका बिरामीहरूले पनि सास्ती खेप्दै आएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित एम्बुलेन्स चालक सञ्जय सिंहले बताए ।
करीब दुई सय मिटर डFइभर्सन पार गर्न कम्तीमा पनि १० मिनेट लाग्ने बताउँदै विभिन्न प्रकृतिका बिरामी ओसार्दा सडकको खाल्डाखुल्डीका कारण बिरामीहरूलाई थप पीडा हुने गरेको चालक सिंहले बताए । दुर्घटनाका घाइते, प्रसूति पीडालगायत गम्भीर प्रकृतिका बिरामीलाई सडक र डFइभर्सन खराब हुँदा समयमैं अस्पताल पुर्याउन ढिला हुने गरेको निजगढका अर्का एम्बुलेन्स चालक वीरबहादुर लोप्चनले बताए ।
त्यसैगरी, दैनिक सोही सडक भएर अटो चलाउँदै आइरहेका पिलुवाका रामचन्द्र भट्टराईले पनि पुल नबन्दा दैनिक सयौं सवारीसाधन र हजारौं यात्रुहरूले सास्ती खेप्नुपरिरहेको गुनासो गरे ।
वर्षामा डFइभर्सनमा खाल्डाखुल्डी भएपनि त्यसलाई पुर्न र सम्याउन सडक विभाग, पुल विभाग र ठेकेदार कम्पनीले कुनै वास्ता नै गर्दैनन् । डाइभर्सनका खाल्डाखुल्डी मर्मत नगर्दा अटो, कार, जीप ठोक्किएर क्षति पुग्ने गरेको छ ।
सो पुल निर्माणका लागि खोलिएको करीब दुई सय मिटरको डFइभर्सन कहालीलाग्दो हुने गरेको आवतजावत गर्ने अधिकांश चालकको भनाइ छ । महीनौंसम्म डFइभर्सनका ठूला खाडलहरूलाई नसम्याउँदा मोटर साईकल, जीप, कारलगायत होचा बनोटका सवारीसाधनहरू खाल्डोमा परी दुर्घटना भई क्षति हुने गरेका गुनासाहरू थुप्रै आइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ ।
सो डFइभर्सनमा धूलो नउडोस् भन्नाका लागि पानी पटाउने गरिए पनि निरन्तरता पाएको छैन । लामो दूरीको सडक यात्रा गरेर आउने सवारी चालक अनि यात्रुहरूसमेत छोटो दूरीको डFइभर्सनका खाल्डाखुल्डी र उडेका धूलोले दिक्दार हुने गरेका छन् ।
पुल निर्माण कार्यक्षेत्रमा कति रकममा ठेक्का साकार गरेको, कति समयावधिमा काम सम्पन्न गर्नुपर्नेलगायतका विवरण खुल्नेगरी ठेकेदार कम्पनीले साइन बोर्ड र सम्पर्क नम्बर नराख्दा ठेकेदार कम्पनीको बेवास्ता बढेको छ ।
महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्नको लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ । साबिक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकोले पुरानो पुललाई पूर्णरूपमा भत्काइ नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको पुल विभाग महाशाखाले जनाएको छ ।
महेन्द्र राजमार्ग निर्माणका बेला तत्कालीन सोभियत सङ्घले चार दशकअघि निर्माण गरेका दुई लेनको पुल अब चार लेनको हुने महाशाखाले जनाएको छ ।
सो पुल निर्माण गर्ने ठेकेदार कम्पनीको आग्रहलाई ध्यानमा राख्दै पुल विभाग महाशाखाले उक्त कार्य २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी म्याद थप गरेपछि अहिले कामले केही गति लिएको छ । अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
वर्षामा सवारीसाधन आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले दुधौरा खोलाको निर्माणाधीन पुलको दक्षिणतर्फ बेलिब्रिज सञ्चालनमा छ ।
बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन ओहोरदोहोर गर्ने गरेकाले सो ब्रिज कमजोर बन्दै गइरहेको छ । ५०–६० टनभन्दा बढीका सामान लोड गाडी यही बेलिब्रिजबाट आवागमन हुने गरेका छन् । जसले गर्दा सो ब्रिजसमेत उच्च जोखिममा रहेको प्रायः ओहोरदोहोर गर्ने सवारी चालकहरू बताउँछन् ।
ठेक्का सम्झौता अनुसार पुल विभाग महाशाखाले बेली ब्रिज दुई वर्ष ढिलो उपलब्ध गराएकै कारण जीर्ण अवस्थामा रहेको पुरानो पुललाई भत्काउन ढिलाइ भएकै कारणले तोकिएकै समयमा नयाँ पुल निर्माण गर्न नसकिएको ठेकेदार कम्पनींका इन्जिनीयर अजयकुमार झाले बताए । उनले कामले गति लिएमा आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताए ।
निर्माणाधीन सो पुलको निरीक्षण गर्न आएका पुल विभाग महाशाखाका इन्जिनीयर निरञ्जन थापाले पनि अहिले पुल निर्माण कार्यले गति लिएको बताए । उनका अनुसार पनि ५० प्रतिशत कार्य सम्पन्न भएको छ ।
दुधौरा खोलाबाट नदीजन्य पदार्थको जथाभावी उत्खनन, दोहन गर्दा पुलको पिलर पटकपटक भासिंदा नयाँ निर्माण गर्नुपरेको बताइन्छ ।