प्रस, वीरगंज, ३० असार/
जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेका एक हजार ९२० वटा उजूरीमध्ये ३६५ वटाको फछ्र्योट भएको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार बिहीवार बेलुकासम्म एक हजार ९२० उजूरीमध्ये ८९२ वटा उजूरीमाथि छलफल गरी ३६५ वटा उजूरी फछ्र्योट गरिएको छ ।
जिप्रका, सर्लाहीले मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोग बनाएर छानबीन अगाडि बढाएपछि जिल्लाभरिबाट एक हजार ९२० वटा उजूरी परेका थिए । तीमध्ये बिहीवारसम्म ३६५ जना उजूरीकर्ता र उनीहरूले उजूरी दिएका मिटरब्याजीलाई राखेर छलफल गराइ मिलापत्र गराइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रजिअ यादवका अनुसार फछ्र्योट गरिएका ३६५ वटा उजूरीमध्ये मिटरब्याजीले आफ्नो नाममा गरिसकेका तीन बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको छ ।
सप्रजिअ होमप्रसाद घिमिरेको रोहबरमा दैनिक छलफल भइरहेको छ । सप्रजिअ घिमिरेले उजूरी परेका व्यक्ति र उजूरी दिने पीडितलाई राखेर लेनदेन भएको वास्तविक रकम, बुझाइसकेको ऋणलगायतबारे छलफल गराइ दुवै पक्षलाई सहमतिमा ल्याइ उजूरी फछ्र्योट गर्दै अघि बढेको बताए ।
छलफलका क्रममा अनेक बहानाबाजी गर्ने र पीडितसँग मिलापत्रमैं आउन नखोज्ने पाँचजनालाई प्रहरी हिरासतमा पठाइएको छ । प्रहरी हिरासतमा पठाएपछि मिलापत्रका लागि सहमति गरी ती पाँचैजनालाई हिरासतमुक्त गरिसकिएको जिप्रका, सर्लाहीले जनाएको छ ।
जिप्रका, सर्लाहीले पटकपटक सर्वदलीय बैठक राखेर छलफल गर्दै आइरहेको छ ।